काठमाडौं, बैशाख २९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक ०३२ सालको नक्सामा नसमेटिएको तितो सत्य दुनियाँको अगाडि छर्लंग भएको दृश्य रहेको बताउनु भएको छ । उहाले आफ्ना यी भनाईलाई अतिरञ्जित बनाउने काम भईरहेको भन्दै सो भुभाग नेपालको होइन भनेर कहिले नभनेको प्रष्टीकरण दिनुभएको छ ।
अहिले प्रचलनमा रहेको नक्सा ०३२ सालको भएको र त्यसमा लिम्पयाधुरा, कालापानी र लिपुलेक नरहेको उहाले प्रष्ट पार्नुभयो । ‘त्यो नक्सामा यी भूभाग छैनन् । मैले नचाहेर पनि तीतो सत्य दुनियाँको अगाडि छर्लंग भएको दृश्य हो,’ मन्त्री अर्यालले भन्नुभयो ।
सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै उहाले सो भुभाग नेपालको हो भनेर म सबुत प्रमाण जुटाएर बसेको समेत जानकारी गराउनु भयो । ‘मैले कहिल्यै र कहीँ पनि लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेको छैन,’ उहाले भन्नुभयो, ‘बरु प्रमाणहरू कहाँ पाउन सकिन्छ, त्यसको खोजीनीति गरेर प्रमाण जुटाउने कुरामा एथेष्ट भूमिका खेलेको छु ।’
राष्ट्रियताको सवालमा मर्न र मार्न तयार रहेको भन्दै उहाले भन्नुभयो, ‘मेरै कुरा गर्नुहुन्छ भने म त जतिबेला महाकाली सन्धि भएको थियो । त्यतिबेला चार महिनाको बच्चा छोडेर राष्ट्रघात भयो भनेर मार्च पास गरेर आएको मान्छे हो । त्यो बेलादेखिको एक खालको भावना छ ।’
उहाले विवादित भूमिबारे अध्ययन तथा अनुसन्धान गर्दा गर्दै पनि अतिरञ्जित गरिएकोमा असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, ‘विवादितबारे यथेष्ट प्रमाण संकलन गरिसकेको अवस्थामा एउटा शब्द टिपेर यसो गरियो भन्दै अतिरञ्जित गर्नुको कुनै अर्थ छैन ।’
प्रतिक्रिया दिनुहोस्