जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १५:२९

पर्साका संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन


वीरगन्ज बैशाख ३१

पर्सामा मंगलबार ५७ जनामा कोरोना संक्रमण देखिएपछि ती व्यक्तिको सम्पर्कमा रहेका मानिसहरुको स्वाव संकलन भइरहेको छ । पहिलो पटक २ पत्रकारसमेत संक्रमित फेला परेको पर्सामा संक्रमित सबैको सम्पर्कमा रहेका मानिसहरुको यतिवेला धमाधम स्वाव संकलन भइरहेको हो ।

बुधबार पर्साका ८० जनाजति पत्रकारहरुले वीरगन्जको नारायणी अस्पतालमा पुगी आफैँ थ्रोट स्वाब संकलन गराएका छन् । बाँकी संक्रमित मानिसका निकटस्थहरुको पनि पहिचान गरी स्वाव संकलन सुरु गर्न थालिएको नेपाली सेनाको वीरगन्जस्थित चण्डीप्रसाद गणका गणपति मधुजंग राणाले बताउनु भयो ।

यसैबीच, धनुषामा कोरोना भाइरसका तीनजना सङ्क्रमितमध्ये एकजना जनकपुरधामका सञ्चारकर्मी रहेको पुष्टि भएको छ । धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले सङ्क्रमित सञ्चारकर्मीसहित तीनैजनालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइसोलेशनमा राखिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले सङ्क्रमित तीनैजनाको परिवारजनलाई नजिकको क्वारेन्टाइनमा राखिएको जनाएको छ । नेपाली सेनाले प्रादेशिक अस्पताल जनकपुरधामका प्राविधिकको सहयोगमा गत बुधबार २४ गते २५ जना सञ्चारकर्मीको पीसीआर परीक्षण गरिएको थियो । ४५ वर्षीय सञ्चारकर्मी र अर्का एकजना जनकपुरधाम उपमहानगरपालिका ४ मा पुस्तक पसल सञ्चालन गरेका व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । दुवैजनाको वैशाख २४ गते पत्रकार महासंघ, धनुषाको भवनमा सञ्चालन गरिएको परीक्षणमा नमूना सङ्कलन गरिएको थियो ।