काठमाडौँ, असार २
नेपाली एयरलाइन्सले चर्को रकम उठाईरहेको भन्दै विरोध भईरहेका बेला दुई विदेशी एयरलाइन्सले अमेरिकाबाट चर्को मुल्यमा नेपाली ल्याउने भएका छन् । कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले अमेरिकामा रहेका नेपालीहरुलाई करिव २ लाख रुपैयाँ एकतर्फी भाडामा नेपाल ल्याउन लागेका हुन् ।
विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने सरकारको निर्णयअनुसार अमेरिकाबाट ल्याउने जिम्मा कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले पाएका हुन् । अमेरिकास्थित नेपाली दुतावासका अनुसार त्यहाँका विभिन्न चार शहरबाट उद्धार उडान हुने छ । टर्किस एयरलाइन्स र कतार एयरलाइन्स दुवैले दुई–दुई उडान गर्नेछन् ।
दूतावासका अनुसार कतार एयरलाइन्सले २३ जुनमा वासिङ्टन डिसी र २५ जुनमा डल्लासबाट उडान भर्ने छ । यसैगरि टर्किस एयरलाइन्सले २३ जुनमा न्युयोर्क र २५ जुनमा सिकागोबाट उडान भर्ने छ । दुई वडा एयरलाइन्सको भाडादर भने फरक रहेको छ । कतारले १५ सय ३७ अमेरिकी डलर अर्थात सोमबारको विदेशी विनिमय दरअनुसार एक लाख ८५ हजार ६ सय ८४ नेपाली रुपैयाँ र टर्किस एयरलाइन्सले १६ सय डलर अर्थात एक लाख ९३ हजार २ सय ९६ नेपाली रुपैयाँ भाडादर तोकेको छ । अमेरिका–नेपालको चार्टर्ड फ्लाइट भाडादरबारे सरकारले यसअघि निर्णय गरेको थिएन ।
तोकिएका बिमानमार्फत नेपाल फर्किनका लागि दूतावासले सम्बन्धित हवाई संस्थाले तोकेका आधिकारिक एजेन्सीको नम्बरमा सम्पर्क गर्न सुझाव दिँदै सम्पर्क नम्बर समेत राखि दिएको छ ।हवाई यात्राका लागि नेपाली पासपोर्ट वा नेपाल सरकारबाट जारी भएको यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै यात्रुहरुले पीसीआर वा आरडिटी टेस्ट अनिवार्य गरेको हुनुपर्ने भनिएको छ ।
यस्तै नेपाल फर्किएपछि सरकारले तोकेको स्थानमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ । लामो समयपछि नेपाल फर्किन पाएकोमा नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्