काठमाडौं , १ जेठ। प्रतिनिधि सभा सदस्य ईश्वरबहादुर रिजालले लोकतन्त्रमा कोही मालिक र दास नहुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै रिजालले लोकतन्त्रमा जनताभन्दा माथि नहुने स्पष्ट पार्नुभयो । ‘लोकतन्त्र भनेको मालिक पनि होइन, दास पनि होइन, जनता सरह भएपछि मात्र जनताको प्रतिनिधि होइन्छ’, रिजालले भन्नुभयो ।
लोकतन्त्रमा जे पनि गर्न मिल्छ भन्ने अराजक प्रवृत्ति मौलाउँदै गएको उहाँले बाउनुभयो । लोकतन्त्र स्वच्छन्दता नभएको उहाँले स्पष्ट पार्नुभयो ।
लोकतन्त्रको अभ्यास अराज भएर गर्दा पनि हुन्छ भन्ने मान्यता नेपाली राजनीतिमा देखा परेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । प्रमुख प्रतिपक्षी दलका नेताले नै सबै मिलेर संविधान च्यात्न लागे, जताततै प्रचण्ड देखेर संविधान र व्यवस्था नै मास्न लागे भन्ने जस्ता भ्रामक कुरा प्रचार गरेर व्यवस्था प्रति नै वितृष्णा फैलाउने काम गर्नुभएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘जनताको प्रतिनिधि भएर जनतालाई भ्रम सिर्जना गर्ने प्रयास भएको छ’, उहाँले भन्नुभयो ।
अहिलेको संविधानमा सबै राजनीतिक दल र जनताका प्रतिनिधि भएकाले संविधानको किताब बोकेर जनतामा भ्रम छर्ने काम नगर्न उहाँले आग्रह गर्नुभयो । लोकतन्त्रमा जनताले तोकेको आसनमा बस्ने उहाँले प्रचण्डलाई सुझाव दिनुभयो ।
जनताले तोकेको आसनको उलङ्घन गरेपछि देशबाट राजतन्त्र हटेको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । जनताबाट प्रतिपक्षमा बस्ने अनुमति पाएका प्रचण्डले ३२ सिटको जादुले आफूले देश चलाइरहेको अभिव्यक्ति दिनु लोकतन्त्रकै उपहास भएको रिजालले बताउनुभयो ।
अराजकता र लोकतन्त्रको काहीँ पनि साइनो नहुने बताउँदै उहाँले यी दुई कुरा एक अर्काका विरोधी भएका स्पष्ट पार्नुभयो । अराजकता भयो भने अनुशासनहीनता भएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिपक्षमा बस्ने बित्तिकै जसरी भए पनि विरोध गर्नुपर्ने र सत्ता पक्षमा रहँदा समर्थन नै गर्नुपर्ने कुरा पनि लोकतन्त्र नभएको उहाँले बताउनुभयो । लोकतन्त्र र संसद् सत्ताको लागि मात्रै मरिमेटेर लाग्ने थलो नभएको उहाँले स्पष्ट पार्नुभयो । संसद् जनताको समस्याको छलफल गर्ने थलो भएको रिजालको धारणा छ ।
सभ्य र सुसंस्कृति मात्र लोकतन्त्र बलियो हुने बताउँदै उहाँले सबैलाई सभ्य भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्