जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १३:४९

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग


काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गर्नुभएको छ । बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले विपद्को पूर्वतयारी गर्न माग गर्नुभयो । अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन नदिन, सुलभ आपूर्तिको व्यवस्था गर्न र प्रशासनिक निगरानी सुनिश्चित गराउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले यही जेठ १५ गते महत्त्वपूर्ण दिन गणतन्त्र दिवस भएकाले सोही दिन बजेट ल्याउने संवैधानिक व्यवस्थालाई संशोधन गर्न आग्रह गर्नुभयो । कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बजेटको समय आएको भन्दै सिँचाइ र तटबन्धको क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्नुभयो ।

कांगे्रसकी सांसद शान्ति विकले धर्म निरपेक्ष देशमा धर्मको नाममा भेदभाव, हिंसा फैलन नदिन माग गर्नुभयो । सबैको आस्थाप्रति समान व्यवहार गर्न उहाँले सरकार र सबै दलको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले स्वच्छ र शुद्ध खानेपानी पिउन पाउने नागरिकको मौलिक अधिकार भए पनि त्यो पूरा हुन नसकेको बताउनुभयो । उहाँले पोखरा महानगरपालिकाभित्र फोहर उठाउने गाडीले लाचुक क्षेत्रको फोहर नउठाएको, मर्दी खोलामा फोहर फालेको भन्ने विषयमा पोखरा महानगरपारिलका, नेपाल खानेपानी संस्थान पोखरा र अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले जापानको ओसाकामा आयोजना भइरहेको ‘ओसाका वल्र्ड एक्स्पो २०२५’ मा विश्वका एक सय ६० भन्दाबढी राष्ट्रले आ–आफनो पहिचान र सम्भावना प्रदर्शन गरिरहेका बताउनुभयो । उहाँले उक्त कार्यक्रम करिब दुई करोड ८० लाखभन्दा बढीले भ्रमण गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानी गर्ने सुनौलो अवसर हुँदा पनि त्यससम्बन्धी सामग्री पूरा नगरेको भन्दै यस विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अभिवृद्धिका लागि उचित बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।