जनता टाइम्स

१० आश्विन २०८३, शनिबार ०७:१९

करेन्ट लागेर बालकको मृत्यु, छुटाउन गएका चार जना गम्भीर घाइते


बारा, असोज १० । बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने उनलाई छुटाउन गएका चार जना गम्भीर घाइते भएका छन् ।

कोल्हवी नगरपालिका–३ जुगुवा टोलका श्याम रामका १० वर्षीय छोरा आकाशको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिनुभएको छ ।

घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट हुँदा करेन्ट लागेर आकाश गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइए पनि अस्पताल ल्याउनुअघि नै उहाँको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिनुभएको छ ।

करेन्ट लागेका बालकलाई छुटाउने क्रममा उहाँकी ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा गम्भीर घाइते हुनुभएको छ ।

ऐतबरिया, फूलकुमारी र अनिताको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ भने निलमको कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।