जनता टाइम्स

९ आश्विन २०८३, शुक्रबार २१:२२

पर्यटन व्यावसायि सहकारीले कमायो एक वर्षमा ३२ लाख ५६ हजार रुपैयाँ नाफा


रामेछाप, असोज ९ । रामेछापमा पर्यटन क्षेत्रमा काम गर्ने एकमात्र सहकारीका रूपमा रहेको पर्यटन व्यावसायिक सहकारी संस्था लिमिटेड, खाँडादेवी–६ माकादुमले गत आर्थिक वर्षमा ३२ लाख ५६ हजार ६ सय ७५ रुपैयाँ नाफा कमाएको छ।

सहकारीले गत आर्थिक वर्षमा २७ करोड ७२ लाख ६६ हजार ९ सय ९१ रुपैयाँको कारोबार गर्दै उक्त नाफा आर्जन गरेको हो। शुक्रबार संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न १६औँ वार्षिक साधारणसभामा कोषाध्यक्ष कमल महतले कोषमा छुट्याउनुपर्ने रकम कट्टा गरेपछि संस्थाले उक्त नाफा कमाएको जानकारी दिनुभयो।

कोषाध्यक्ष महतका अनुसार संस्थाको सेयर पुँजी २ करोड ७१ लाख ७४ हजार १ सय रुपैयाँ पुगेको छ। संस्थाले २४ करोड ६ लाख २८ हजार रुपैयाँ बचत संकलन गरेको छ भने १९ करोड ३७ लाख ३५ हजार ३ सय ९३ रुपैयाँ कर्जा लगानी गरेको छ। संस्थासँग ५ करोड ५ लाख ९२ हजार ३ सय २० रुपैयाँ तरल रकम रहेको छ।

संस्थाको साधारण जगेडा कोषमा ५० लाख ८७ हजार रुपैयाँ र अन्य कोषमा ७ लाख ६३ हजार ४ सय ५७ रुपैयाँ रहेको छ। त्यस्तै, स्थिर सम्पत्ति २६ लाख ३ हजार ५ सय ४७ रुपैयाँ रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ। अन्य सम्पत्ति १ करोड ३५ लाख ९५ हजार २ सय १९ रुपैयाँ रहेको छ भने उद्योगमा सहकारीको ५८ लाख ३२ हजार ७ सय ४२ रुपैयाँ लगानी रहेको छ।

पर्यटन प्रवर्द्धनमा सहकारीको जोड

सहकारीले बचत तथा ऋणको कारोबारसँगै आफ्नो कार्यक्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक धरोहरको पहिचान, प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाका सचिव गोपाल नेपालीको प्रतिवेदनअनुसार स्थानीय श्रम, सीप र पुँजीलाई योजनाबद्ध रूपमा परिचालन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय पर्यटकीय क्षेत्रमा भ्रमण गराउने गतिविधि सञ्चालन भइरहेको छ। यसबाट स्थानीय क्षेत्रको आर्थिक विकास र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्य संस्थाले लिएको छ।

सहकारीले ‘गन्तव्य खाँडादेवी, दर्शन खाँडादेवी’ भन्ने मूल नाराका साथ पर्यटकीय खाँडादेवी पाहुनाघर सञ्चालन गरिरहेको छ। सहकारी पसल, उद्योग तथा यातायातका साधनसमेत सञ्चालनमा रहेको सचिव नेपालीले जानकारी दिनुभयो।

‘आम्दानीबाट बचत र बाँकीबाट खर्च गरौँ’ भन्ने नाराका साथ अघि बढेको सहकारीले ऋण उठाउन संस्था धाउने नभई ऋण तिर्न ऋणी आफैँ आउने वातावरण निर्माण गर्ने उद्देश्य राखेको प्रतिवेदनमा उल्लेख छ।

कृषि उत्पादनलाई सहरसम्म पुर्‍याउने लक्ष्य

संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकीले सहकारीले बचत तथा ऋण लगानीसँगै कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

सहरमा हुने आम्दानीलाई बचतका माध्यमबाट गाउँमा भित्र्याउने वातावरण निर्माण गर्नुका साथै स्थानीय किसानले उत्पादन गरेका वस्तुको प्रशोधन गरी सहरसम्म पुर्‍याउने र त्यसबाट सहरको पैसा गाउँमा ल्याउने लक्ष्य सहकारीले लिएको उहाँले बताउनुभयो।

रामेछाप, काभ्रे, भक्तपुर र काठमाडौं जिल्लालाई कार्यक्षेत्र बनाएको सहकारीमा हाल ५ हजार १ सय ३१ जना सेयर सदस्य रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो। सहकारीलाई थप व्यवस्थित, सक्षम र ठूलो संस्था बनाउने अभियानमा आफूहरू लागिरहेको उहाँको भनाइ छ।

‘पर्यटन सहकारीको सान, एक समूह एक उत्पादनशील काम, सेयर सदस्यको पौरख पर्यटन सहकारीको गौरव’ लगायतका नाराका साथ सहकारीले आफ्ना गतिविधि अघि बढाइरहेको छ।

सेयर पुँजी ५३ लाख बढाउने, बचत ५१ करोड रुपैँया पुर्याउने लक्ष्य

अध्यक्ष बुढाथोकीले चालु आर्थिक वर्षमा थप ५३ लाख रुपैयाँको सेयर बिक्री गर्ने लक्ष्य रहेको बताउनुभयो। त्यस्तै, बचत संकलनलाई ५१ करोड रुपैयाँ पुर्‍याउने र थप २३ करोड रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य सहकारीले लिएको छ।

कार्यक्रममा खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले सहकारीले उल्लेखनीय प्रगति गरेको बताउँदै आगामी दिनमा अझ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो। सहकारीका सदस्यको आर्थिक विकासका गतिविधिमा गाउँपालिका पनि जोडिन इच्छुक रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा संस्थाका व्यवस्थापक प्रकाश बुढाथोकीले सहकारीमा हाल सञ्चालन भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकलगायतले सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न सुझाव दिनुभएको थियो। 

कार्यक्रममा असल सदस्य, ज्येष्ठ सदस्य, अपाङ्ता भएका सदस्यहरु लगायतलाई सम्मान तथा सहयाेग गरिएकाे थियाे ।