जनता टाइम्स

१० आश्विन २०८३, शनिबार १६:०४

स्वस्थ मुटु नै जीवनको आधार, सानो सावधानीले जीवन बचाउँछ : मुख्यमन्त्री किरण थापा मगर


काठमाडौं, असोज १० । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वस्थ मुटु नै जीवनको आधार भएको बताउनुभएको छ। आउँदै गरेको विश्व मुटु दिवसका अवसरमा हार्ट टु हार्ट सेन्टरले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उहाँले मुटुको स्वास्थ्यप्रति सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको हो।

मुख्यमन्त्री थापा मगरले मुटु केवल शरीरको अंग नभई जीवन र प्रियजनसँग जोडिएको महत्त्वपूर्ण धड्कन भएको उल्लेख गर्नुभयाे । उहाँले आफ्नो मुटुको स्वास्थ्यसँगै परिवारका सदस्यको मुटुको अवस्थाबारे पनि ख्याल गर्न आग्रह गर्नुभयाे। “आजको आफ्नो सानो सावधानीले भोलिको अमूल्य जीवन बचाउन सक्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा वाग्मती प्रदेशको समग्र स्वास्थ्य अवस्थाका विषयमा जानकारी प्रदान गर्नुका साथै स्वस्थ मुटु र त्यसको धड्कन नै जीवनको आधार भएको विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री थापालाई सम्मान समेत गरिएको थियो । सम्मान गरेकोमा उहाँले हार्ट टु हार्ट सेन्टरप्रति धन्यवादसमेत व्यक्त गर्नुभयाे।

मुख्यमन्त्री थापा मगरले मुटुको हरेक धड्कनलाई माया गर्नुपर्नेमा जोड दिँदै मुटुको स्वास्थ्यप्रति समयमै सचेतना अपनाउन आग्रह गर्नुभयाे। उहाँले मुटु दिवसका अवसरमा आयोजना हुने सचेतनामूलक कार्यक्रमले मुटुसम्बन्धी स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । 

यस वर्ष विश्वभर मनाइँदै गरिएको विश्व मुटु दिवसको नाराका रूपमा ‘Don’t Miss a Beat’ अर्थात् ‘मुटुको धड्कनलाई नछुटाऔँ’ भन्ने सन्देश अघि सारिएको छ । उहाँले मुटुको स्वास्थ्यप्रति सबैलाई सजग रहन आग्रह गर्नुभयाे।