जनता टाइम्स

१५ असार २०७७, सोमबार १५:५१

फेक प्रतिवेदन बनाउने कारखाना खोज्दै सरकार


काठमाडौं, असार १५ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली सीमा मिचेको फेक प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको जानकारी दिनुभएको छ । नेपाल–चीनबीच सीमा सम्बन्धमा विवाद नरहेको प्रष्ट पार्दै मन्त्री ज्ञवालीले फेक प्रतिवेदन बनाउने कारखानाको खोजीमा सरकार लागेको जानकारी दिनुभएको हो ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै तथ्य राख्दै चीनसँग सीमा समस्ष नरहेको प्रष्ट पार्नुभएको हो । उहाँले दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न सञ्चार क्षेत्रलाई आग्रह पनि गर्नुभयो । ‘नेपालका केही भ–ूभाग चीनले अतिक्रमण गर्यो भन्ने समाचार सार्वजनिक भयो, नेपालको भू–भाग चीनतर्फ पनि चारकिल्लामा सीमा अतिक्रमण गरेको भन्ने समाचार कसरी आयो ? ‘सोकल्ड प्रतिवेदन कस्ले कसरी बनायो, त्यसको बारेमा सरकारले अध्ययन गरिरहेको छ, गलत सूचनाले दिग्भ्रमित बनाउँछ, त्यस्तो काम नगरौं,’ परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो ।

मन्त्री ज्ञवालीले दुई देशको सुमधुर सम्बन्धमा असर पार्ने सम्वेदनशील समाचार प्रकाशन नगर्न र भ्रमपूर्ण समाचार नछाप्न आग्रह गर्दै नेपाल–चीनबीच सीमासम्बन्धी कुनै पनि समस्या नभएको स्पष्ट पार्नुभयो । मन्त्री ज्ञवालीका अनुसार दुई देशबीच सीमासम्बन्धी शान्ति तथा मैत्री सन्धिमा संयुक्त रुपमा हस्ताक्षर भएको छ । हरेक १०÷१० वर्षमा सीमाको निरीक्षण गर्नेसमेत सहमति भइरहेको जानकारी गराउँदै मन्त्री ज्ञवालीले तेस्रो पटकको सीमा निरीक्षणले सीमा सत्यता होस भन्नका लागि भौगोलिक सीमा स्तम्भ राखिने निर्णय गरिएको जानकारी दिनुभयो । पश्चिमतिर त्रिदेशीय विन्दुका विषयमा भने टुङ्ग्याउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

मन्त्री ज्ञवालीले सदनमा तथ्यमा आधारित भएर मात्र बोल्न सांस्दहरुलाई पनि सुझाव दिनुभयो । ‘नेपालमा मिडिया व्यावसायिक बन्ने क्रममा छन, गलत सूचना बेलाबेलामा आउन सक्छन, पत्रिकामा केही आउने वित्तिकै सांसदले अध्ययन नगरी बोलीहाल्दा राम्रो हुँदैन,’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘सदनमा सांसदले तथ्यमा आधारित भएर मात्र बोल्नुपर्छ, विदेश नीति र राष्ट्रिय सुरक्षा धेरै महत्वपूर्ण कुरा हुन, यस्ता कुरालाई ध्यान दिनुपर्छ, त्यस्ता तथाकथित प्रतिवेदन कहाँ बनाइयो, त्यसलाई कानूनी कारवाही हुन्छ ।’

मन्त्री ज्ञवालीले नेपालको नयाँ नक्शा जारी भएपछि उत्पन्न विवादलाई समाधान गर्नका लागि मित्रराष्ट्र भारतसँग निरन्तर सम्पर्कमा रहेको र नेपाल–भारतबीच सम्बन्ध राम्रो रहेको भनाई पनि राख्नुभयो । ‘कूटनीतिक माध्यमबाट नै समस्या समाधान हुन्छ भन्ने मान्यता र विश्वास छ, दुई देशको बहुआयामिक सम्बन्धलाई असर पार्ने कुनै पनि काम हुँदैन, कुनै समस्या नपरोस भन्नेमा सरकार सजग छ, यस्मा सबैको सहयोग हुन जरुरी छ,’ मन्त्री ज्ञवालीले भन्नुभयो । भारतले सीमा मिचेको बिषयमा नेपालमा गम्भीर बहश हुँदा सधै यसैगरी चीनले पनि सीमा मिचेको भन्दै फेक प्रतिवेदन र फेक समाचार आउने गरेको छ । सरकारले यसपटक भने त्यो कारखाना नै पत्ता लगाएर कार्वाही गर्ने अठोट लिएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।