जनता टाइम्स

३१ असार २०७७, बुधबार ०९:५१

भारतको निर्देशनमा प्रधानमन्त्री ओलीबिरुद्ध यसरी तयार भयो स्वीस बैंकको फेक समाचार : यस्तो छ यथार्थ


काठमाडौं, असार ३१ । नेपाली भूमि अतिक्रमण गर्ने भारतको कामबिरुद्ध कडा रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध भारतीय डिजाइनमा देशी बिदेसी मिडियाले अफवाह फैलाएको तथ्य बाहिर आएको छ । नेपालबिरुद्ध छिमेकीबाट भइरहेको सवै खाले अतिक्रमणको बिपक्षमा उभिदै नेपालको स्वाभिमान उच्च बनाउन लाग्नुभएका प्रधानमन्त्री ओलीबिरुद्ध भारतकै योजनामा कथा रचेर स्वीस बैंकमा करोडौं डलर रहेको भन्दै फेक समाचार बाहिर ल्याएको पाइएको होे ।

भारतीय योजनामा सामेल भएकाहरुले ग्लोबल वाच एनालाइसिसको नाममा पछिल्लो पटक प्रधानमन्त्री ओलीबिरुद्ध अफवाह फैलाएका हुन । उनीहरुले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट भन्दै शतप्रतिशत गलत र कपोलकल्पित समाचार बाहिर ल्याएका हुन । यो काममा नेपाली कांग्रेसका नेता गगन थापा निकट मिडिया रहेका छन ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसप्रकारको सुनियोजित फेक समाचारको कडा प्रतिवाद गर्नुभएको छ ।

थापाले आज प्रेस नोट जारी गर्दै भन्नुभएको छ, ‘स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ।; थापाले प्रधानमन्त्री ओलीको देशभक्तिपुर्ण कामबाट अत्ताल्लिएर अन्यत्रै ध्यान मोडन यो कथा रचिएको पनि प्रष्ट पार्नुभएको छ ।

‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ,’ थापाले भन्नुभएको छ ।

यस्तो छ प्रेस सल्लाहकार थापाको प्रेस नोट

‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७