कास्की, साउन १ । सशस्त्र प्रहरी तालिम केन्द्र पोखरा लामापाटनका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीले एक युवतीलाई खाना खान बोलाएर बलात्कार गरेको पाइएको छ ।
बलात्कारको आरोपमा बुधवार पक्राउ परेको अधिकारीले आफ्नो क्वार्टरमा खाना खाना बोलाएर युवतीलाई बलात्कार गरेको तथ्य बाहिर आएको हो । पीडित युवतीले प्रहरीलाई दिएको बयानअनुसार एसएसपी अधिकारीले आफूलाई आफ्नै क्वार्टरमा खाना खान बोलाएका थिए । उनको निम्तो मान्न क्वार्टर पुगेपछि उनले बलात्कार गरेका हुन ।
आफू बलात्कृत भएको भन्दै युवतीले फोनबाट जानकारी दिएपछि प्रहरीले एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार २७ वर्षीय ती युवती १० बजेतिर स्कुटर चढेर अधिकारीको क्वार्टरमा पुगेकी थिइन । क्वार्टरमै उनले बलात्कार गरेपछि निस्किएर तीन बजेतिर उनले फोनबाट आफू बलात्कृत भएको जानकारी दिएकी थिइन् ।
त्यसपछि जिल्ला प्रहरी कार्यालयमा खबर भयो र कास्की प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गर्यो । उक्त युवतीलाई स्वास्थ्य परीक्षणका लागि पठाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्