बनेपा, साउन ११ । सत्तारुढ नेकपाका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको घोषणा गर्नुभएको छ । आफ्नै निर्वाचन क्षेत्र बनेपामा पूर्वमन्त्री बाँस्कोटाले लोकतन्त्रमा कानूनी व्यवस्थाभन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताउँदै यस्तो घोषणा गर्नुभएको हो ।
नगरपालिका वडा न ७ मा पुर्वाधार क्षेत्र विकास कोषमार्फत निर्मित यात्रु हिँड्ने सडकपेटीको आज उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको प्रष्ट पार्दै दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभयो । ‘म दोषी भए कारबाही भोग्नुपर्छ । शक्तिको आडमा म अडिन मिल्दैन,’ पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले आफूमाथि प्रश्न उठेपछि छानविनकै लागि पदत्याग गरेको बताउनु भयो ।
‘म पदमा भएका बेला ममाथि प्रश्न उठेपछि मैले मन्त्रीबाट राजीनामा दिएर छानवबिन गर भने । भन्नु नि पर्छ । गरिनु पनि पर्छ । किनभने हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । लोकतान्त्रिक व्यवस्थामा कानूनी शासनभन्दा माथि कोही हुँदैन । न प्रधानमन्त्री, न राष्ट्रपति,’ बाँस्कोटाले भन्नुभयो । उहाँले कानुनी शासनकै लागि गणतन्त्र ल्याइएको पनि बताउनु भयो । ‘हिजो राजाहरूलाई मात्र कानून लाग्दैनथ्यो । त्यसैले गणतन्त्रण ल्याएका हौँ ।’ उहाँले राज्यको सम्पत्ति आफूलाई आवश्यक नभएको बताउँदै आफू लुटेराको संस्कृतिबाट बाहिर निस्केको मान्छे भएको बताउनुभयो ।
आफूमाथि जतिसुकै आफूमाथि आरोप लागे पनि सेक्युरिटी प्रिन्टिङ्ग प्रेस, मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, एयरपोर्ट, पाँचखाल खानीपानी आयोजना, एकीकृत खानेपानी आयोजना, पुण्यमाता करिडोर, स्मार्ट सिटीलगायत आयोजना काभ्रे जिल्लामा ल्याउन सफल भएको जानकारी पनि उहाँले दिनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई जाँगर चलाइ बिकाशमा साथ दिने घोषणा पनि गर्नुभयो । ‘तपाईंहरू जाँगर चलाउनुहोस्, म विकासमा साथ दिन्छु,’ बाँस्कोटाको भनाई थियो ।
बनेपाको चारदोबाटोबाट गोदामचोक हुँदै बनेपा बसपार्कसम्म करिब एक किलोमिटर सडकपेटी र ढल सुधार गरिएको वडा न ७ का अध्यक्ष वर्ण शक्यले जानकारी दिनुभयो । पूर्वाधार क्षेत्र विकास कोषमार्फत आएको ३९ लाख ३० हजार रुपियाँबाट उक्त सडक पेटी र ढल सुधार गरिएको थियो । बन्दाबन्दीका बीचमा उक्त काम भएको हो ।
प्रतिक्रिया दिनुहोस्