काठमाडौं, साउन ३० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले पार्टीभित्र लामो समय देखिको विवाद समाधानतर्फ उन्मुख भएको जानकारी दिनुभएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको भेटवार्ताको निश्कर्षले पार्टीभित्रको विवाद समाधानतर्फ उन्मुख भएको महासचिव पौडेलले जानकारी दिनुभएको हो ।
महासचिव पौडेलसहितका नेताहरुकै पहलमा हिजोबाट अध्यक्षद्वयबीच बार्ता अघि बढेको थियो । आजको बर्तामा दुई अध्यक्षबीच भएको सहमतिलाई दस्तावेजीकरण गर्न महासचिव पौडेलकै संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । महासचिव पौडेल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल सदस्य रहनुभएको छ । अध्यक्षद्वय ओली र प्रचण्डले नयाँ सहमति गर्दै आज कार्यदल गठन गरेसँगै नेकपाको विवाद समाधानतर्फ अघि बढेको हो । पार्टीभित्र देखिएका समस्या सहमतिकै आधारमा समाधान गर्न सकिन्छ भन्ने निष्कर्षका साथ दस्तावेजीकरणका लागि कार्यदल गठन गर्ने निर्णयमा अध्यक्षद्वय पुग्नुभएको हो ।
कार्यदल संयोजकसमेत तोकिनुभएका महासचिव पौडेलले पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न कार्यदल गठन भएको जानकारी दिनुभयो । कार्यदलले समस्या पहिचान गर्ने र समाधानको सुत्र पहिल्याउदै सुझावसहितको प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डलाई बुझाउने संयोजक पौडेलले प्रष्ट पार्नुभयो । पौडेलका अनुसार सोही प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वयले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्नुहुनेछ । कार्यदल गठनपछि नेकपा अझ एकतावद्ध भएर अगाडी बढ्ने सन्देश प्रवाह भएको भन्दै पौडेलले नेकपा विभाजनको कल्पना गर्नेहरुका लागि दुखद बनेको बताउनु भयो ।
‘कतिपयले पार्टीमा विग्रहको कल्पना गरेका थिए, कामना पनि गरेका थिए, तर नेकपा झनै मजवुत बन्ने प्रष्ट भयो, नेकपामा कुनै प्रकारको विग्रह हुँदैन । एकतावद्ध भएर अगाडि बढ्छ । नेकपाको एकता अक्षुण्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ,’ पौडेलले भन्नुभयो । उहाँले नेकपा एकतावद्ध रहने कुरामा आश्वस्त रहन सबै नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । ‘नेकपा एकतावद्ध रहने कुरामा अस्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पुरा गर्न नेकपा अगाडि बढेको छ । नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपाभित्र खेल्ने यस्ता कोशिस नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न र जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ’, पौडेलले भन्नुभयो ।
महासचिव पौडेलले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको भन्दे अव स्थायी समाधान खोजिने बताउनु भयो । ‘समस्याहरु निकै जटिल अवस्थामा पुगेको सत्य हो । जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए । प्रभावकारी ढंगले काम अगाडी बढ्न सकेनन । अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडी बढाउँछौ । सरकार र पार्टी दुबै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन,’ पौडेलले भन्नुभयो ।
नेकपाभित्र आन्तरिक बिवाद बढदै जाँदा गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक अघि बढन सकेको छैन भने प्रधानमन्त्री ओलीले सरकारको काममा भन्दा पार्टी बिवादमा बढी समय दिनुपरेको छ । अव यी सवै समस्याको स्थायी समाधान हुने महासचिव पौडेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्