काठमाडौं, साउन ३०
कोरोना संक्रमण दैनिक रुपमा बढ्न थालेपछि राजधानीका तीन जिल्लामा प्रशासनले कठोर नीति लिएको छ । शनिवारबाट ३ दर्जन भन्दा बढी सेवा र व्यापार–व्यवसाय सञ्चालन गर्न रोक लगाएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म विभिन्न क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले शुक्रबार एक आदेश जारी गर्दै खुल्ला स्थानमा मानिस भेला–जम्मा हुन, भीडभाड गर्न, सभा–जुलुस गर्न रोक लगाएका छन् । यस्तै, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको आदेशमा उल्लेख छ ।
त्यस्तै सबै प्रकारका सभा–गोष्ठी, तालिम, सेमिनार, हल–पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ–खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार–व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक–कामदार ओसारपसार तथा टेकवेबाहेक होटल–रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।
निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताउनु भयो । उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्