जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार ०९:४६

नेकपामा दुई अध्यक्ष संस्था हो, त्यसभन्दा तल सचिवालय छ : जनार्दन शर्मा


काठमाडौं, साउन ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा बिवाद समाधान कार्यदल सदस्य जनार्दन शर्माले दुई–तीनभित्रै प्रस्ताव तयार पार्न सकिने बिश्वास ब्यक्त गर्नुभएको छ । आज कार्यदलको पहिलो बैठक बसेपछि प्राथमिकताका आधारमा सहमति प्रस्ताव तयार गर्न सकिने नेता शर्माले बताउनु भयो ।

कार्यदललाई म्यान्डेट किटान नगरिए पनि पार्टीका आन्तरिक जीवनमा पैदा भएका समस्या तत्काल र दीर्घकालसम्म कसरी समाधान गर्ने, महाधिवेशनसम्म कसरी जाने, सरकार र पार्टीको कामलाई कसरी व्यवस्थित गर्ने, एकताको काम कसरी सक्ने भन्नेलगायतमा छलफल गरेर प्रस्ताव तयार पार्ने काम कार्यदलले गर्ने शर्माले जानकारी दिनुभयो । नेता शर्माले नेकपामा अहिले कायम रहेको दुई अध्यक्ष ब्यक्ति वा पक्ष बिपक्ष नभएर संस्था भएको पनि बताउनु भएको छ ।

‘पक्ष–विपक्ष होइन, दुई अध्यक्ष विधानको व्यवस्था भएकाले उहाँहरू संस्था हो । त्यसभन्दा तल सचिवालय छ, त्यहाँ पनि छलफल हुन्छ । स्थायी कमिटीमा छलफल हुन्छ । त्यसकारण आमछलफल गरेर समग्र पार्टीलाई एकीकृत गर्ने गरी नै जाने हो,’ शर्माले भन्नुभएको छ । नेकपाको केन्द्रीय कमिटीले आगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यो निर्णयअनुसार महाधिवेशनका लागि गर्नुपर्ने आवश्यक तयारीको प्रस्तावबारे पनि कार्यदलमा छलफल हुनेउहाँले बताउनु भयो ।