काठमाडौं, साउन ३१
स्वास्थ्य मन्त्रालयले देशभरका मेडिकल कलेजलाई कुल सिटको एकतिहाई संख्या कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । देशभर संक्रमित बढ्दै गएकापछि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक तिहाई संख्या अब तत्काल मेडिकल कलेजले छुट्याएर राख्नुपर्ने बताउनु भयो । ‘देशभरका सम्पूर्ण मेडिकल कलेजहरुले कोभिड–१९ को विरामीको उपचारका लागि छुट्टै आइसोलेसन भवन वा कक्ष तोकि स्वीकृत बेड संख्याको एकतिहाईले हुन आउने बेड संख्या छुट्याई उपचारको व्यवस्था तत्काल मिलाउन सूचना जारी गरिएको छ’, उहाले भन्नुभयो । शनिवारको तथ्यांक अनुसार देशभर हाल ८ हजार ७१६ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्