काठमाडौं, भदौ १
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक महिनापछि पहिलो पटक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेकपामा देखिएको विवाद समाधानका विषयमा छलफल भईरहेको छ ।
प्रधानमन्त्रीका सल्लाहकार तथा नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठक साढे ९ बजेबाट शुरु भएको जानकारी दिनुभयो । आजको सचिवालय बैठकमा यसअघि गठित ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्दै कार्यादेश दिने प्रमुख एजेण्डा रहेको बताइएको छ। कार्यदल गठनलाई लिएर सचिवालयकै केही सदस्यहरूले असन्तुष्टि व्यक्त गरेको अवस्थामा सबैलाई मान्य हुने गरी निर्णय लिनका लागि सचिवालय बैठक बोलाइएको हो ।
६ सदस्यीय कार्यदलका विषयलाई लिएर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउनु भएको थियो । शुरुमा कार्यदलप्रति नै असन्तुष्टि जनाएपनि पछि विरोध भएपछि प्रक्रियागत रुपमा सचिवालयबाटै गठन गर्नुपर्ने माग गर्नुभएको थियो । सोही माग अनुसार अध्यक्षद्वयले सचिवालय बैठक बोलाउनु भएको हो ।
पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहनु भएको छ । कार्यदलले आफ्नो काम भने शुरु गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्