एक अर्थमा के आँकलन गर्न सकिन्छ कि प्रजातान्त्रिक तरिकाबाट चुनिएर राष्ट्रपति ट्रम्प र साम्यवादी तरिकाबाट चुनिएर राष्ट्रपति भएका सीले आफ्नो शक्ति, सामर्थ्य र उन्मादलाई प्रदर्शन गर्न दक्षिण चीन सागरलाई तेस्रो विश्व युद्धको कुरुक्षेत्र बनाउन उद्वेलित भइरहेको छ
विपिन देव
सारा संसार कोरोनाको कहरबाट छटपटाइ रहेको छ । एउटा भाइरसले भूमण्डलीकरण र नवउदारवादबाट निर्मित भोगवादी संस्कृति र व्यस्त जीवनशैलीलाई हम्मेहम्मे बनाइरहेको अवस्था छ । कोरोनाले आउने दिनमा चरम गरिबी, बेरोजगारी, अराजकता र अन्यौल सृजना गर्ने आँकलन मानवशास्त्रीहरुको छ । यी पृष्ठभूमि र परिवेशमा मानव मुल्य र मान्यतालाई मानसपटलमा राखेर साझा संकल्पका साथ विश्वका शक्ति केन्द्रहरु मानवमुक्तिको लागि अगाडि बढ्नुको सट्टा विश्वमा द्वितीय विश्व युद्ध ताका निर्माण भएको त्रास, भय, आतंकको जस्तै वातावरण वर्तमान अवस्थामा देखिएको छ । अहिले संसारका महाशक्तिहरु आफ्नो सैन्य र सामरिक गतिविधि दक्षिण चीन सागरमा होमिरहेको अवस्था छ । दक्षिण चीन सागर वर्तमान अवस्थामा कुरुक्षेत्रको रुपमा परिमार्जित भएको छ ।
दक्षिण चीन सागर (साउथ चाइना सी) को क्षेत्रफल ३, ५००, ००० स्क्वायर माइल रहेको छ । संसारको व्यस्त सामुद्रिक मार्गको रुपमा दक्षिण चीन सागरलाई लिइन्छ । तेस्रो व्यस्त सामुद्रिक मार्ग भएकोले यस मार्गबाट ३.३७ ट्रिलियन डलरको व्यापार रहेको छ भने विश्वको ३० प्रतिशत माछा दक्षिण चीन सागर क्षेत्रमा नै पाइन्छ । अर्थात विभिन्न श्रोत र साधनले गर्दा आर्थिक र सामरिक रुपले दक्षिण चीन सागर निकै महत्वपूर्ण देखिन्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आगमनसँगै दक्षिण चीन सागरमा चीनले आफ्नो दबदबा बढाईरहेको अवस्था छ । चीनले “नाइन डाइस लाइन” को अवधारणाका साथ् ८० प्रतिशत जलाशयमा आफ्नो दाबी गरिरहेको अवस्था छ, जुन कि सीमावर्ती मुलुकहरुलाई पाच्य छैन । संसारको दोस्रो अर्थतन्त्र र सैन्य शक्तिबाट सज्जित चीनसँग आसियान देशका कुनै एक मुलुकले टक्कर लिन सामर्थ्य छैन । दुर्भाग्यवश चीनसँग आसियानका अधिकांश मुलुकहरु वैमनस्यता र तनाव छ । भियतनामको पारसल टापुमा चीनले आफ्नो दाबी गरिरहेको अवस्था छ । पारसल टापु र भ्यानुगार्ड क्षेत्रलाई भियतनामले आफ्नो अत्यन्तै महत्वपूर्ण क्षेत्र “इक्सक्लुसिभ इकोनोमिक जोन”भन्ने गरेको छ । भियतनामले आफ्नो लामो संघर्षपूर्ण यात्रामा अमेरिका र चीनसँग समेत युद्ध गरिसकेको इतिहास छ ।
भियतनामले एउटा राष्ट्रिय नीति नै लिएको देखिन्छ । तदनुरूप भियतनाम कुनै पनि समस्यालाई समाधान गर्न कुनै देशको सैन्य सहयोग लिने छैन । तर सन् २०१९ मा भियतनामले वर्तमान समस्यालाई मध्यनजर गर्दै चीनको बढ्दो दबदबालाई चुनौती दिन इण्डो प्यासिफिक क्षेत्रसँग सम्बद्ध राष्ट्रहरुसँग सहयोगको अपिल गरेका छन् । भर्खरै भियतनामको राजदुतले भारतका परराष्ट्र सचिवसँगको भेटघाटमा सैन्य सहयोगको साथसाथै सामरिक सहयोगको लागि पनि अनुरोध गरेका छन् । भियतनामले प्रष्ट रुपमा बुझेका छन् कि चीनको ८५ प्रतिशत इन्धन मालाका स्टेट समुद्री मार्गबाट आउने गर्दछ । हिन्द महासागरको यो क्षेत्रमा भारतको दबदबा सबभन्दा अधिक रहेको अवस्थाले गर्दा चीनलाई दबाब सृजना गर्न सकिन्छ । साथसाथै भारतीय सैन्य बल डोकलामदेखि गलवान घाटीसम्ममा चिनियाँ सैनिकसँग आमुने सामुने भएको परिघटनालाई पनि भियतनामले स्मरण गरेको देखिन्छ । त्यसतै चीनको समस्या जेम्सोल टापुमा समेत रहेको देखिन्छ ।
जेम्सोल टापु मलेसियाबाट ५० माइल टाढा रहेको छ भने चीनबाट १००० माइल टाढा रहेको छ । तैपनि चीनले जेम्सोल टापुमा आफ्नो अधिकारको लागि दाबी गरिरहेको अवस्था छ । त्यस्तै चीन र इण्डोनेसियाबीच नतुना टापुमा विवाद रहेको देखिन्छ । फिलिपिन्सको मिस्चिफ र थोमस टापुका साथै स्पार्टली टापुमा पनि विवाद रहेको देखिन्छ । चीनले विभिन्न टापुहरूमा आफ्नो अधिकार र आधिपत्य बढाउँदै आफ्नो क्षमतालाई कारोबारको रुपमा प्रयोग गरिरहेको छ । यहाँसम्म कि बुडी टापुमा चीनले “शान्षा” नामको शहर नै निर्माण गरेको छ ।
यी परिघटनाहरुले गर्दा आसियानका मुलुकहरुले गठबन्धन र गठजोडलाई अगाडि बढाउँदै दक्षिण चीन सागरमा “फ्रिडम अफ न्याभिगेसन” हुनुपर्दछ भन्ने अवधारणाका साथ सम्पूर्ण शक्तिकेन्द्रहरुलाई अपिल गरिरहेको अवस्था छ । अमेरिकाले आफ्नो अधिकांश व्यापार यही मार्गबाट भएको कारणले गर्दा दक्षिण चीन सागरमा आफ्नो सामरिक र सैन्य क्षमतालाई बलियो बनाइरहेको छ । तदनुरूप जुलाई ४, २०२० का दिन शक्तिशाली एयरक्राफ्ट दक्षिण चीन सागरमा पठाई सकेको छ । अप्रिलदेखि मई सम्ममा एल.एच.ए. सिक्स, वेस्ट क्याप्लर लगायत सबभन्दा शक्तिशाली क्षेप्यास्त्र सहितको सेभेन फिलिट एयर क्राफ्ट पनि दक्षिण चीन सागरमा अमेरिकाले तैनाथ गरिसकेको छ । यति मात्रै होइन कि जर्मनीमा रहेको अधिकांश सैनिक अमेरिकाले दक्षिण चीन सागरमा परिचालित गरिसकेको छ ।
चीन दक्षिण सागरमाअमेरिकाको रोनालण्ड रेगन एयर क्राफ्टको समेतको उपस्थितिले गर्दा आसियान मुलुकहरुमा हौसला र उत्साह बढेको छ । अर्कोतर्फ चीनले अमेरिका, फ्रान्स, जापान, भारत लगायत इण्डो प्यासिफिकसँग सम्बद्ध राष्ट्रहरुको सैनिक जमघटप्रति आक्रोश व्यक्त गरेका छन् । चिनियाँ सामरिक विज्ञ प्राध्यापक जीयूले चीन विश्व शान्ति र सामुद्रिक सुरक्षाप्रति गम्भीर रहेको राष्ट्र हो भन्ने अभिव्यक्ति दिँदै के भनेका छन् कि चीनले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षामा विश्वमा दोस्रो स्थानको भूमिका खेलेको र सामुद्रिक सुरक्षाको लागि मात्रै ३ बिलियन अमेरिकी डलरको कोष सृजना गरेर चीनले शान्तिप्रति आफ्नो संवेदनशीलता जाहेर गरेको छ ।
वर्तमान परिवेशमा हंगकंग र ताइवानको मुद्दामा अल्झिएको बेला दक्षिण सागरमा संसारका सम्पूर्ण शक्ति केन्द्रहरुबाट घेरिनु चीनको लागि शुभ संकेत होइन । अर्को रोचक प्रश्न के भने आसियानलगायत अस्ट्रेलिया, जापान र अमेरिका सँग चीनको अर्थतन्त्र यसरीजोडिएको छ कि चीनको क्षति भएको पराकम्पन यी मुलुकहरुले पनि बेहोर्नु परेको छ ।
चीनले सम्पूर्ण शक्तिहरुलाई चुनौती दिन १७ डिजेल पाउण्ड स्मराइन र चीनको उत्कृष्ट लिनयोग एयरक्राफ्ट दक्षिण चीन सागरमा तैनाथ गरेको देखिन्छ । कोरोनाको कहरपछि चीन विरोधी मानसिकता अमेरिकी मानसपटलमा निर्माण गर्न अमेरिकाका दुइवटै मुर्धन्य पार्टीहरुको म्याराथुन चलिरहेको छ । अमेरिकी चुनावलाई मध्यनजर गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन सागरमा आफ्नो सैनिक सर्वोच्चताको रसपान अमेरिकी मतदाताहरुलाई एकातर्फ गरिरहेको छ भने चिनियाँ राष्ट्रपति चिनियाँ राष्ट्रवादको भाष्यलाई नयाँ व्याख्या गर्दै हंगकंग, ताइवान, भारत, आसियानलगायत विभिन्न राष्ट्रहरुसँग संग्रामको बिगुल बजाइरहेको छ । एक अर्थमा के आँकलन गर्न सकिन्छ कि प्रजातान्त्रिक तरिकाबाट चुनिएर राष्ट्रपति ट्रम्प र साम्यवादी तरिकाबाट चुनिएर राष्ट्रपति भएका सीले आफ्नो शक्ति, सामर्थ्य र उन्मादलाई प्रदर्शन गर्न दक्षिण चीन सागरलाई तेस्रो विश्व युद्धको कुरुक्षेत्र बनाउन उद्वेलित भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्