जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १५:१२

अब ठगिन पाउँदैनन् उपभोक्ता, ग्याँससहितको सिलिन्डरको तोकियो मूल्य


काठमाडौं, असोज २

बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एकरुपता ल्याउन नेपाल एलपी ग्याँस उद्योग संघले खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बागमती प्रदेशमा आजैबाट लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको भरी सिलिण्डरको ग्याँसको मूल्य ३ हजार ४७५ रुपैयाँ मात्रै पर्ने जानकारी दिएको छ ।

निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष गोकुल भण्डारीले बताउनुभयो । ‘पहिले नयाँ सिलिण्डरसहितको ग्याँस खरिद गर्दा चार हजार ५०० रुपैयाँसम्म तिरेको गुनासो उपभोक्ताले गरे, अब उपभोक्ता ठगिन पाउँदैनन्,’ अध्यक्ष भण्डारीले भन्नुभयो ।

भण्डारीको भनाइ अनुसार सिलिण्डरको फ्याक्ट्री लागत एक हजार ९५० रुपैयाँ, ढुवानी ५० र कर १०० गरेर २१ सय धरौटी तोकिएको छ । उपभोक्ता बसाई सरेर अन्य ठाउँमा गएको अवस्थामा अथवा उद्योगले कुनै विकल्प नदिइ उद्योग बन्द गरेमा भने डिलरबाट धरौटी फिर्ता पाइने भएको छ । अहिलेका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वनय हुने संघले जनाएको छ ।