काठमाडौं, १२ असार ।गायिका एलिना चौहानले फेसबुकमा एक भिडिओ अपलोड गर्नुभयो। जसमा आफ्नै गीत ‘बालै फरर’ को सानो क्लिपमा अभिनय गर्नुभएको थियो। भिडिओमा उहाँसँगै गायिका समीक्षा अधिकारीलाई पनि देख्न सकिन्छ। त्यो भिडिओ सार्वजनिक भएसँगै एलिना र समीक्षालाई अभद्र कमेन्ट आउन थाल्यो। जुन कमेन्टहरू निकै तुच्छ र असभ्य छन्। व्यक्तिगत जीवनका कुरालाई लिएर लगातार कमेन्ट आएपछि एलिना चुप लागेर बस्नुभएन। बरु तुच्छ कमेन्ट गर्ने प्रयोगकर्तालाई नै सार्वजनिक गर्न थाल्नुभयो । सुरुमा एक प्रयोगकर्ताको फेसबुक प्रोफाइलसहित कमेन्ट सार्वजनिक गर्दै एलिनाले लेख्नुभयो ,‘कमेन्टको अत्याचार धेरै भयो अब पालैपालो पोस्ट गर्छु। भाइरल हुन मन लाग्नेहरू आइज है।’
उहाँले अर्को भिडिओ पोस्ट गर्दै सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्ट सहेर नबस्ने बताउनुभयो। साथै यस्ता कमेन्ट गर्नेविरुद्ध कानुनी कारबाहीमा जाने उहाँको भनाइ छ। ‘जति नबोल्यो, जति चुप लाग्यो, जति सह्यो, त्यति हेपाइ खाइँदोरहेछ। अस्ति प्रिज्मा, ऋचा दिदी र समीक्षाले कमेन्ट बाहिर निकालेको देखेर ए ल ठिक छ। अब शान्त हुन्छ होला भनेर छोडिरहेको थिएँ। सुरुमा कमेन्ट आउँदा तात्तातो छ, आफ्नो धारणा राखेको होला सोच्थेँ,’ उहाँले भन्नुभएको छ, ‘तर, तिमीहरू जहिले त्यही कुराले घोचेको घोच्यै गर्ने ? त्यही कुरा गर्ने? तिमीहरूको के खाइदिएको छु। अब चाहिँ म सबैजनालाई केस गर्नेवाला छु। निरन्तर कमेन्ट गर्नेहरू टिपिसकेको छु। सहन नसकेर यस्तो गरेको होइन। किन सहनु भनेर यस्तो गरेको हुँ।’
उहाँले भन्नुभएको छ , ‘सेलिब्रेटी राष्ट्रको गहना भएर सहनुपर्छ। कसले भन्यो सहनुपर्छ भनेर, सहनुपर्दैन। कसैले पनि सहने होइन। जिन्दगीमा मैले यति कुरा बुझेको छु कि अरुलाई पनि नराम्रो गर्दिनँ। आफूलाई पनि नराम्रो गर्न दिन्नँ।’त्यसपछि एलिनाले पालैपालो तुच्छ कमेन्ट गर्ने प्रयोगकर्ताको तस्बिरसहित कमेन्ट सार्वजनिक गर्नुभएको छ । हुन त यो किसिमको आक्रमण नयाँ होइन। यस्ता तुच्छ आक्रमणको सिकार धेरैजसो महिला कलाकार बनिसकेका छन्। विशेषगरी, व्यक्तिगत जीवन र चरित्रलाई लिएर उनीहरू निसानामा परिरहेका छन्।
गायिका समीक्षा अधिकारीलाई पनि व्यक्तिगत घटनाका कारण धेरैजसो गालीगलौज आइरहेको हुन्छ। केही दिनअघि समीक्षाले पनि आफूलाई फोहोर कमेन्ट गर्ने व्यक्तिको फेसबुक आईडी सार्वजनिक गर्नुभएको थियो । पछि ती प्रयोगकर्ताले समीक्षालाई म्यासेज गर्दै माफी नै मागे। ती प्रयोगकर्तालाई माफ दिएको समीक्षाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। बुधबार फेरि समीक्षाले आफूलाई अभद्र कमेन्ट गर्ने अन्य केही प्रयोगकर्ताको फेसबुक आईडी सार्वजनिक गर्नुभएको छ । गत वैशाखमा अभिनेत्री सुरक्षा पन्तले पनि सामाजिक सञ्जालमा निकै गाली खानुपर्यो। पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रबारेको अभिव्यक्तिपछि उहाँको सामाजिक सञ्जालभरि असभ्य गालीगलौज भयो। साथै कतिपयले उहाँको फिल्म ‘खेल’ बहिष्कारको अभियान समेत चलाए। त्यसैबीच, सुरक्षाको पक्षमा अभिनेत्री ऋचा शर्मा बोल्नुभयो। त्यसपछि त ऋचालाई पनि अभद्र गाली आउन थाल्यो। ऋचाले पनि आफूलाई आएको अभद्र गालीसहितको स्क्रिनसट आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्नुभएको थियो। पछिल्लो नेपाली महिला कलाकारहरूमा प्रतिकार गर्ने नयाँ शैली देखिएको छ। व्यक्तिगत जीवनसँग जोडिएर आउने ती कमेन्ट र म्यासेजले व्यावसायिक जीवन र मानसिक स्वास्थ्यमा असर पार्न थालेपछि उनीहरूले सामाजिक सञ्जालबाटै बोल्न थालेका छन्।













प्रतिक्रिया दिनुहोस्