रौतहट, असोज १८
रौतहटको राजपुर नगरपालिका फरदहवामा १३ वर्षअघि भएको बम विस्फोटपछि जिउँदै मानिसलाई इटाभट्टामा हाल्ने प्रमुख व्यक्ति भनिएका मुख्य मिस्त्री बद्री साहनीको प्रारम्भिक बयान सुनेर प्रहरी नै चकित भएको छ ।
इटाभट्टाका मुख्य मिस्त्री साहनीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक बयानमा उनले कांग्रेस नेता तथा पूर्वमन्त्री समेत रहेका मोहम्मद आफताफ आलम र उनका भाइ मोहम्मद मोहताव आलमको निर्देशनमा उनीहरूले नै ल्याएका शवलाई इटाभट्टामा डढाएको प्रारम्भिक बयान दिएका हुन् ।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक धिरेन्द्रप्रताप सिंहका अनुसार प्रारम्भिक बयानमा मोहम्मद आफताफ आलम र उनका भाइ मोहमद मोहताव आलमले शवहरू जलाउन भनेपछि आफूले शवलाई इटाभट्टामा हाल्ने काम गरेको बयान दिएका छन् । यद्यपी उनले बयानमा सबै कुरा बताईसकेका छैनन् । प्रहरीले बिस्तारै सबै कुरा खुल्दै जाने भएपनि प्रारम्भिकमै घटना स्विकार भने गरेको बताएको छ ।
उक्त घटनामा शव व्यवस्थापनको मुख्य भूमिका निर्वाह गरेका साहनीले पनि कति जनालाई भट्टामा जलाइएको हो भन्ने बारेमा अहिलेसम्म केही बताएका छैनन् । ‘बोरामा पोको पारेर ल्याएका शव इटाभट्टामा राख्ने काम गरेको हुँ भनेको छ, कति जना हो भन्ने खुलाएको छैन’, प्रहरी नायव महानिरिक्षक सिंहले भन्नुभयो ।
साहनीलाई १६ असोजमा प्रहरीले नेपाल भारत सीमाको बोधिमाई नगरपालिका वार्ड नम्वर ७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको थियो । आफताफ २६ असोज २०७६ मा पक्राउ परेका थिए । जिल्ला अदालत रौतहटको आदेशमा अहिले उनी थुनामा रहेका छन् ।
उक्त घटनाका प्रत्यक्षदर्शीले बम विस्फोटमा १५–१६ जना घाइतेलाई जिउँदै इटाभट्टामा हालेको बताउँदै आएका छन्। अहिलेसम्म दुई जनालाई मात्र इटाभट्टामा जलाइएको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्