जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १७:२३

प्रमुख सचेतक शाहको घोषणा : मेरै अध्यक्षतामा बैठक बस्छ, मुख्यमन्त्री शाहीलाई दलको नेताबाट हटाइन्छ


सुर्खेत, असोज २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुवालजंग शाहले दलभित्र देखिएको बिवाद प्रक्रियामा लगेर टुंगो लगाउने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्रीसमेत रहनुभएका प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीले बिधानबिपरित पदमुक्त गरे पनि बिधानअुसार आफूले प्रक्रियामै लगेर बिवादको निकास दिने घोषणा प्रमुख सचेतक शाहले गर्नुभएको हो । मुख्यमन्त्री शाहीले बहुमत सांसदहरुले आफूबिरुद्ध दलमा अबिश्वास प्रस्ताव दर्ता गरेपछि बिधानबिपरित काम गर्दै हिजोको मिति राखेर आज सोमवार प्रमुख सचेतक शाहलाई बर्खास्त गर्नुभएको थियो । शाहीको सो निर्णय बिधानले नमान्ने शाहले जनताटाइम्सलाई बताउनु भयो ।

‘बिधानले जे भन्छ, त्यही गर्ने हो, कसैको हुकुमी आदेश नेकपामा चल्दैन,’ प्रमुख सचेतक शाहले जनताटाइम्सँग भन्नुभयो, ‘दलका नेताले सवै बिकल्पको ढोका बन्द गर्नुभयो, अव प्रक्रियाअनुसार अघि बढाएर समस्याको निकास दिइन्छ ।’ प्रमुख सचेतक शाहले बिवादको निकास दिन मंगलवार १ बजे संसदीय दलको बैठक बोलाइएको र सोही बैठकबाट शाहीलाई हटाउने जानकारी दिनुभयो ।

‘दलको नेताबिरुद्धको अबिश्वासको प्रस्तावमाथि छलफल गर्न मंगलवार १ बजे दलको बैठक बोलाइएको छ, त्यो बैठक मेरो अध्यक्षतामा बैठक बस्छ, त्यही बैठकले महेन्द्रबहादुर शाहीलाई दलको नेताबाट हटाइन्छ,’ प्रमुख सचेतक शाहले भन्नुभयो । उहाँले संसदीय अभ्याशअनुसार नेकपा कर्णाली संसदीय दलको निर्णय आउने जानकारी पनि दिनुभयो । कुल ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा नेकपा एक्लैको ३३ सदस्य रहेका छन । जसमध्ये २० सांसद पूर्वएमाले र १३ सदस्य पूर्वमाओवादी पक्षधर रहेका छन ।

मुख्यमन्त्रीबिरुद्धको हस्ताक्षर गर्नेमा पूर्वएमाले १५ र पूर्वमाओवादीका तीन सांसदले हस्ताक्षर गरेका छन ।  नेकपा कर्णालीका सहइञ्चार्ज यमलाल कँडेलको नेतृत्वमा भएको यस अभियानमा पूर्वएमाले एक ठाउँमा देखिएको छ । अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम निकट सवै सांसदहरु एक ठाउँमा उभिएर मुख्यमन्त्री शाही हटाउनै पर्ने पक्षमा देखिएका हुन । ओलीसहितका शीर्ष नेताले संझाउँदा पनि कर्णाली प्रदेशसभामा रहेका सांसदहरु टसमस देखिएका छैनन ।