लमजुङ, कात्तिक ११
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दसैं मनाउन आफ्नो जन्मगाउँ पुग्नुभएको छ । लमजुङको क्व्होला सोंथर गाउँपालिका–९, गिलुङ टक्सारको घरमा श्रीमती कुमारीमुनी गुरुङसहित उहाँ दसैं मनाउन पुग्नुभएको हो । यसअघि पनि छोराछोरीलाई साथ लिएर आउने गरेका दम्पत्तिले यसबर्ष भने ल्याउनु भएन ।
मुख्यमन्त्री गुरुङले यसबर्ष टीका नलगाउने र नलगाइदिने भएकाले छोराछोरी नआएका हुन् । दसैंमा गाउँ जानुभएका मुख्यमन्त्री गुरुङले गाउँलेसंग भेटघाट गरी गाउँको समस्या र आवश्यकताबारे छलफल गर्नुभएको छ । उहाँले गाउँका बृद्धबृद्धादेखि साना बालबालिकासंग भलाकुसारी गर्नुभएको छ ।
महाअष्टमीका दिन गाउँ आउनुभएका उहाँले राती मौलाघरमा आयोजित कालरात्री पूजामा सहभागिता जनाउनुभएको थियो । भोलिपल्ट (नवमी) मौलाघरमा बली दिएपछि आफ्नो घरमा बली कार्यक्रम राख्नुभएका उहाँले कूलपूजा गर्नुभएको छ । नवमीको दिन बिहान घरघरमा बली दिने प्रचलन मुख्यमन्त्री गुरुङको गाउँमा छ । तर, कालरात्रीको रात भीडभाडका साथ पूजापाठ हुने र नाचगान कार्यक्रम यसबर्ष कोरोना संक्रमण जोखिमका कारण उहाँ आफैंले बन्द गर्न लगाउनुभएको थियो ।
जन्मगाउँ आउनुभएका उहाँले दुरी कायम गरी सौहार्दपूर्ण वातावरणमा दसैं मनाउन आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण जोखिमकाबीच चाडबाड मनाउनुपर्ने अवस्था रहेको र चाडबाड भन्दा ज्यान ठूलो भएकाले सुरक्षित र सुसंस्कारिक तवरले दसैं मनाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्