जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार १२:३४

चौरसिया हत्याकाण्ड : हत्यामा राजनीति घुसाउन खोजेपछि !


विरगञ्ज, कात्तिक १३

विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्याकाण्डले यतिबेला सत्तारुढ पार्टीभित्र विवाद देखिएको छ । एक पक्षले हत्याको जाहेरी नलिएको भन्दै धर्ना र विरोध गरिरहेका छन् ।

केन्द्रमा देखिएको विवादलाई यो हत्यामा छिराउन खोजेपछि समस्या देखिएको छ । कात्तिक ६ गते गाउँपालिका कमिटीका पदाधिकारीको शपथ कार्यक्रम थियो । सो कार्यक्रममा आफ्नो पक्षलाई नबोलाएको भन्दै पूर्वसांसद एंव केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षले कार्यक्रम बिथोलेको र आक्रमण गरेको सो पक्षको आरोप छ । उनिहरुले गुप्ताको नाम समेत किटानी जोहरीमा उल्लेख गरेका छन् ।

विवाद यहाँबाट शुरु भएको छ । प्रहरीले किटानी जाहेरी लिएको छैन । त्यसको कारण हो, कुटपिटको भिडियो अहिले सार्वजनिक भएको छ । सो भिडियोमा ६ जनाले चौरसियामाथी कुटपिट गरेको देखिन्छ । जसमा गुप्ता कही कतै पनि देखिएका छैनन् । प्रदेश–२ प्रहरी कार्यालयका प्रमुख (डीआईजी) धीरजप्रताप सिंहले भन्नुभयो,‘हामीले घटनास्थलको भिडियो हेरेका छौं । जसमा ६ जनाले आक्रमण गरेको देखिन्छ । भिडियोमा आफन्तले आरोपित गरेका राजकुमार गुप्ता छैनन् । यस्तोमा घटनास्थलमा नदेखिएका व्यक्तिका नाममा कसरी उजुरी लिनु । अनुसन्धानमा क्रममा उनको नाम पोलियो भने हामी गुप्ताविरुद्ध पनि अगाडि बढिहाल्छौं ।’

प्रहरीको शुरुवाती अनुसन्धानमा हत्यामा मुख्यगरी तीन जना व्यक्तिको संलग्नता देखिएको जनाएको छ । प्रहरीका अनुसार विन्दवासिनी–४ का अखिलेश चौरसिया, शंकर पुकार तिवारी र रञ्जन तिवारीले चौरसियाको हत्या गरेको अनुसन्धानबाट देखिएको बताएको छ । तीनै जना अहिले फरार रहेको र खोजी जारी रहेको उल्लेख छ ।

यही विषयमा राजनीति घुसाउन खोजेपछि समस्या भएको प्रहरीले बताएको छ । भिडियोमा स्पष्ट रुपमा देखिएका व्यक्तिका विषयमा किटानी दिए पो कारवाही गर्न सजिलो हुन्छ । ‘घटनामा उपस्थित नै नभएको व्यक्तिका नाममा कसरी किटानी जाहेरी लिनु’, एक प्रहरी अधिकारीले भने । उनका अनुसार यो विषयमा सरकारी वकिलको कार्यालयसँग छलफल भईरहेको र सम्भवत आज जाहेरी दर्ता हुन सक्ने बताए ।