जनता टाइम्स

२२ कार्तिक २०७७, शनिबार २२:१८

अमेरिकाको राष्ट्रपतिमा बाइडेन विजयी


काठमाडौं, कात्तिक २२

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी बन्नु भएको छ । ‘कि स्टेट’ भनिएको पेन्सिलवेनियामा जित निकालेपछि उहाले २७३ इलेक्टोरल कलेज भोट प्राप्त गर्नुभएको हो । अमेरिकी राष्ट्रपति बन्नका लागि २७० भोट आवश्यक पर्दछ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार बाइडेनले २७३ मत प्राप्त गरेर अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बन्नु भएको हो । पेन्सिलवेनियामा उहाले ९८ प्रतिशत मत गणना सम्पन्न हुँदा ३३ लाख ४५ हजार ७२४ मत प्राप्त गर्नुभएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले  ३३ लाख ११ हजार ३१० मत प्राप्त गर्नुभयो ।

ट्रम्पको भने २१४ मत रहेको छ । अझै तीन राज्यको अन्तिम मत परिणाम आउन बाँकी नै रहेको छ । तर, २७० मत कटिसकेकाले सो राज्यको परिणामले पनि कुनै असर गर्ने छैन । वाइडेनले अब आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्नुहुनेछ ।

को हुन् बाइडेन ?

बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार बन्नु भएको छ । बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर हुनु भयो ।
उहाले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाउनु भयो । त्यतिबेला बलियो दाबेदार ठानिएका उहा बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य हुनु भएको थियो ।

बाइडेनमा विदेश नीतिसम्बन्धी दशकौं लामो अनुभव छ । कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी जटिल विषय उहाका लागि बढी हानिकारक हुन सक्ने देखिन्छ ।

यसअघि सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्षसमेत रहनु भएका बाइडेनले ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतासँग भेटेको दाबी गर्नुभएको छ । यसले मतदातालाई आश्वस्त पार्न सक्ने भए पनि विदेश मामिलाका विभिन्न मुद्दामा उहाले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिँदैन । उहाले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गर्नुभएको थियो भने सन् २००३ मा इराक अतिक्रमणको समर्थन पनि गर्नुभयो । पछि उहाले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्नुभएको थियो । अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । उक्त कारबाहीमा लादेन मारिएका थिए ।

प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहज रूपमा घुलमिल हुन सक्छन् । विरोधीका नजरमा भने उहॉअस्ताउन लागेका घाम’ हुन् जसले बेलाबखत लाजमर्दो व्यवहार गर्छ । उदाहरणका लागि महिलाको कपाल सुँघ्ने बाइडेनको बानी छ । गत वर्ष उहाले आफूहरूलाई अनुचित स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको आरोप आठ महिलाले लगाएका थिए ।

बाइडेन मतदातालाई आकर्षित गर्न सक्ने स्वभाव भएका नेतासमेत मानिन्छन् । भाषणका क्रममा भने उहा बेलाबेला चिप्लने गर्नुभएको छ । एक भाषणमा उहाले आफ्ना पुर्खाहरू पेन्सलभेनियाका कोइलाखानीमा काम गर्ने बताउनु भएको थियो । तर त्यो वास्तविकता होइन । उहाले सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बोल्दै ‘आठ जना राष्ट्रपतिलाई चिनेको र तीमध्ये तीन जना आफ्नो अत्यन्त निकट रहेको’ दाबी गर्नुभएको थियो । उहाको यो दाबी गलत भएको र विचार नगरी बोलेको जनाइएको छ । ओबामाको उपराष्ट्रपतिका रूपमा सन् २००९ मा उहाले ‘आफूहरूका कारण अर्थतन्त्रमा ३० प्रतिशत हानि पुर्‍याउने सम्भावना रहेको’ बताउनु भएको थियो ।

मतदातासँगको भेटघाटमा भने बाइडेन निकै सहज रूपमा प्रस्तुत हुन्छन् । खासगरी कामदार तथा मजदुर वर्गलाई भाषणमार्फत लट्ठ पार्न सक्छन् । भाषणपछि समर्थकसँग हात मिलाउँछन् र कुनै रकस्टारले जस्तो अँगालो मार्ने वा फोटो खिचाउने गर्छन् ।

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो । उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन् । उक्त सहानुभूति आगामी दिनमा कायम हुन्छ कि हुँदैन भन्नेचाहिँ उनको कार्यशैलीमै भर पर्छ ।