कांग्रेसको क्रियाकलापले चीनलाई अनावाश्यक रुपले ‘प्रोभोक’ गरिदिएको छ । चिनियाँ रक्षामन्त्री वेई फेङहेको भ्रमण यत्तिकै भएकोहोइन । चीन संवेदनशील देश हो । चीनलाई रोक्न अमेरिकाले सकिरहेको छैन भने काँग्रेसले भारतको आडमा चीनसँग किन निहुँ खोजेको हो, बुझिनसक्नु छ । यसले काँग्रेसलाई त कुनै राजनीतिक फाइदा भएको छैन नै, नेपाल–चीन सम्बन्ध बिगार्नमा पनि ऐतिहासिक योगदान गरेको छ
हरदम कोइराला
गत नोभेम्बर ११ अर्थात कार्तिक २६ गते एउटा अनौठो घटना भयो । चीन सरकारको धारणा व्यक्त गर्ने औपचारिक माध्यम मानिएको चिनियाँ अखवार ग्लोबल टाइम्सले एउटा लेख प्रकाशित गर्दै ‘नेपाली काँग्रेसले चीनद्वारा नेपाली भूमि मिचिएको हल्ला’ फैलाउन भूमिका खेलेको आरोप लगायो । बिगत केहि समयदेखि नेपाल–चीन सम्बन्धमा दरार पैदा गर्ने विभिन्न प्रयासहरू हुँदै आएको देखिएको सन्दर्भमा ग्लोबल टाइम्सको यो रिपोर्टले धेरै ठूलो अर्थ राख्छ । अंग्रेजी भाषाको उक्त रिपोर्ट पढ्न यो लिंक हेर्नुहोला:Mhttps://www.globaltimes.cn/content/1206402.shtml। रिपोर्टमा नामै किटान गरेर काँग्रेस जुम्लाका प्रदेश सांसद जीवनबहादुर शाहीलाई हल्ला फैलाउने मुख्य जिम्मेवार करार गरिएको छ । त्यो हल्लालाई विस्तारै काँग्रेस नेता तथा आगामी माहधिवेसनमा सभापतिका दावेदार बिमलेन्द्र निधिलगायतले बोक्न थाले । ग्लोबल टाइम्सले कांग्रेसलाई भारतीय दलाल भएको संज्ञा दिएको छ रिपोर्टमा ।
खासमा नेपाल र चीनबीच सन् १९६१ मा सीमा सन्धि भयो जसको शुरुवात कांग्रेसकै नेता बीपी कोइरालाले गरे र राजा महेन्द्रले त्यसलाई अन्तिम रुप दिएर हस्ताक्षर गरे । त्यसपछि एघार वर्ष लगाएर दुई देशबीचको सीमा नियमति गरियो तथा वैज्ञानिक विधिले सीमा अंकित गरियो । धेरै ठाउँमा दुबैतिरको दावी थियो । त्यसलाई टुङ्गो लगाउन विवादित क्षेत्रमा बस्ती भएको भए त्यहाँका नागरिकलाई नेपाल वा चीन कतातिर बस्ने भनी रोज्न लगाइयो र सहमतिमा जमिन सट्टापट्टा गरियो । यसरी जमिन र जनसंख्या साटेर सिमाना सुल्झाउने अन्तर्राष्ट्रिय प्रचलन नै हो । यस्तो साटासाटले नेपाललाई समग्रमा ३५ बर्गकिलोमिटर जमिन फाइदा भएको छ भने जनसंख्याको सन्दर्भमा ३० जना बढी नेपालले त्यसबेला स्वीकार गरेको हो । गोर्खाको रुई गाउँ सम्बन्धी विवाद निकाल्ने प्रयास यही सट्टापट्टाको इतिहास नबुझ्ने वा बुझेर पनि विवाद खडा गर्ने प्रयासको एउटा स्वरूप थियो । त्यसबेला नेपालको परराष्ट्र मन्त्रालयले प्रेस नोट जारी गर्दै नेपाल र चीनबीच सीमा विवाद वा समस्या नभएको स्पष्ट गरिसकेको थियो ।
सन् १९६१ पछि विभिन्न समयमा नेपाल र चीनबीच पाँचवटा सीमा प्रोटोकलमा हस्ताक्षर भएको छ । सीमापार चरिचरन, सीमास्तम्भहरूको मर्मत सम्भार आदिमा यी प्रोटोकलले स्पष्ट अधार तयार गर्छन, जसका कारण सिमानामा हेराफेरी गर्न सम्भव छैन । तर नेपालका एकथरी मानिसलाई चीनसँग सम्बन्ध नबिगारी भएको छैन, जसका लागि उनीहरू उद्यत देखिन्छन । परिस्थितिलाई अझ गहिरो गरी बुझ्न त्यसपछि भएका घटनाहरू नियाल्नुपर्छ । रुई गाउँको विवाद खडा गर्ने प्रयास असफल भएपछि एउटा पुरानो षड्यन्त्र फेरि ब्युँताइयो काँग्रेस र भारतीय गठजोडमा । नेपालको कृषि मन्त्रालयमा हुँदै नभएको नापी विभागको नाममा एउटा नक्कली वक्तव्य छापियो, जसमा के लेखियो भने नेपालको उत्तरी सिमानाका विभिन्न ठाउँमा चीनले सिमाना मिचिरहेको छ । यसमा भएको कीर्ते प्रस्टै थियो । पहिलो, नापी बिभाग कृषि मन्त्रालयमा पर्दैन । दोस्रो, नापी विभागको जिल्ला कार्यालयले सिमानाबारे ठोस निर्देशन नभएसम्म वक्तव्य निकाल्दैन किनभने त्यो केन्द्रको र संवेदनशील विषय हो । तेस्रो, त्यसमा प्रयोग भएका लेटरप्याड, छाप र कर्मचारीको नाम तथा सहीसमेत नक्कली थिए ।
पाँच वर्षअघि सुशील कोइरालाको सरकार हुँदा त्यो वक्तव्य सर्कुलेसन भएको थियो भारतीय संयन्त्रद्वारा । नक्कली भएको हुँदा छापिएन । यसपल्ट पत्रकार बलराम बानियाँको बाइलाइनमा कान्तिपुर दैनिकले त्यसलाई पहिलो पेजमा स्थान दियो । व्यापाक विरोधपछि पत्रिकाले माफी त माग्यो तर त्यो झूटो समाचारको बाढी रोकिएन । भारतीय अखवारहरुले त्यसलाई छाप्न थाले कान्तिपुरकै हवाला दिएर । यो सम्पूर्ण अभियानलाई नेपालमा स्थापित गर्ने र तत्कालै भारतीय अखवारले क्यारी गरिहाल्ने सुनियोजित षड्यन्त्र अन्तर्गत भएको देखिन्छ । लगत्तै कांग्रेसका केही नेताले संसदमा चीनबिरुद्ध संकल्प प्रस्ताव नै दर्ता गराए । यसरी भारत, कान्तिपुर पत्रिका र काँग्रेस आपसमा मिलेर नेपाललाई चीनविरोधी सुनियोजित षड्यन्त्र गरेको देखिन्छ । नेपाल सरकारले खण्डन गरिसक्दा पनि भारतीय अखवारपछि त्यहि झूटो समाचार बेलायतका अखवारले पनि छापे ।
यो काण्डले नेपाल–चीन सम्बन्ध बिगार्ने अभियानमा खासै बल मिलेन । किनभने यसको सम्पूर्ण जग झूट र कीर्तेमा आधारित भएको प्रस्टै थियो । त्यसैले हुम्लाको सिमानामा १२ नम्बर पिलर हराएको अर्काे नक्कली कहानी तयार भयो र यसमा भूमिका खेले तीनजना पात्रले । पहिलो पात्र पत्रकार युबराज घिमिरे, जसलाई गणतन्त्र मन परेको छैन र दक्षिणपन्थी बाटोमा हिंडेका छन् । पुराना पत्रकार भएका कारण उनको इज्जत थियो, तर अहिले जे जसो गर्दा यो व्यवस्थाप्रति आक्रोश पैदा गर्न सकिन्छ त्यहि गर्न उनी लागेको देखिन्छ । त्यसकालागि उनले सबै समाचारमा झूटको सहारा लिन थालेका छन् भन्ने कुरा उनी सम्पादक रहेको अनलाइन हेर्दा प्रस्ट देखिन्छ । दोस्रो पात्र निस्के जीवनबहादुर शाही, जसले मास्क लगाएर सिमानामा चार जना मानिसको फोटो खिचे र त्यसलाई चीनविरुद्ध प्रदर्शन भन्दै आफ्नो सर्कलमा वितरण गरे । तेस्रो, बिमलेन्द्र निधि जसले घिमिरे र शाहीको कुरा टपक्कै टिपेर विरोध शुरु गरे ।
शाहीको फोटोलाई अधार मानेर घिमिरेले १२ नम्बर पिलर चीनले उखेलेको समाचार लेखे । खासमा पिलर हराएको थिएन । स्थलगत भ्रमण गर्दा पिलर त्यहीँ देखियो । फेरि घिमिरेले झूट लेखे– पिलर रातारात बनाइयो । खासमा त्यो पिलर ४१ सालमा बनेको र पुरानो भएकाले त्यसको टुप्पो भाँचिएकाले दुवै देशको सहमतिमा २०७१ सालमा फेरि बनाइएको रहेछ । हिमाली क्षेत्रमा चिसो हुनाले मरेको मानिसको लाश पनि वर्षाैं आलै रहन्छ, सिमेन्टको पिलर नयाँ जस्तो देखिनु आश्चर्य होइन । आफ्नो झूट पुष्टि गर्न राजावादी घिमिरे र काँग्रेस अर्काे झूट लिएर एकै ठाउँ उभिए ।
उनीहरू किन यसो गर्छन् वा गरिरहेका छन् त ? पछिल्ला वर्षमा खासगरी भारतीय नाकाबन्दीपछि नेपालले चीनबाट व्यापार र पारवहनमा मित्रवत सहयोग पाउँदै आएको छ । नेपाललाई स्वन्तन्त्र र स्वाभिमानी राष्ट्र बन्न नदिने एकमात्र अवरोध भारतीय एकाधिकार थियो जसलाई तोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल र अहिले चीनसँग सडक र रेलमार्फत जोडिने नीति लिए । शुरुमा राजा महेन्द्रले खोलेको अरनिको राजमार्गले मात्र नेपाल र चीन जोडिएका थिए । ओलीले रसुवागढीको बाटोलाई जुनसुकै मौसममा चल्ने पक्की दुई लेनको बनाइरहेका छन्, किमाथांका जोड्ने बाटो तत्काल पूरा गर्न एउटा खण्ड बाँकी रहेकोमा त्यो नेपाली सेनालाई दिएर काम शुरु गराए । मुस्ताङको कोरला नाका जोड्ने बाटोको म्याग्दी खण्डमा काम तेज बनाए भने रेल मार्गको निर्माण गर्न चिनियाँ पक्षलाई सहमत गराएका छन् । भारत र उसका नेपाली एजेन्टलाई नेपालको आत्मनिर्भरताको यात्रा जसरी पनि रोक्नु छ । यसका लागि नेपाल–चीन सम्बन्ध नबिगारी हुँदैन । र, जसरी पनि आगो झोस्न बिगार्न उनीहरू लागेका छन् ।
प्रधानमन्त्री हुँदा दिल्ली पुगेर ‘संविधान संशोधन गर्न अहिले सकिएन, पछि गर्छुु’ भनी काँग्रेस सभापति देउबाले खाएको कसम संयोग मात्र थिएन भन्ने पनि यसले प्रमाणित गरेको छ । नेपालको भविष्य र अस्तित्व कांग्रेसको हातमा सुरक्षित छैन भन्ने पनि थप स्पष्ट भएको छ
ग्लोबल टाइम्सको माथि उल्लिखित लेख छापिएपछि कांग्रेसले वक्तव्य निकालेर त्यसको खण्डन गर्यो, ( हेर्नुस् कांग्रेसको कात्तिक २६ गते निस्केको वक्तव्य) । यसलाई काँग्रेस र चीन आमने–सामने भएको रूपमा मात्र होइन, नेपालको संवेदनशील भूराजनीतिक स्थितिसँग कांग्रेसले गरेको खेलाँचीका रुपमा लिन सकिन्छ । सत्ता बाहिर रहनुपरेको छट्पटीले देशको छिमेक सम्बन्ध कांग्रेसले बिगारेको छ । एकातिर यसले चीनबिरोधी गतिविधिमा कांग्रेसको संलग्नतालाई पुष्टि गर्छ भने अर्कोतिर नेपालको स्वाधीनता तर्फको यात्रा रोक्न कांग्रेसले गरेको दुष्प्रयासका रुपमा लिन सकिन्छ । प्रधानमन्त्री हुँदा दिल्ली पुगेर ‘संविधान संशोधन गर्न अहिले सकिएन, पछि गर्छुु’ भनी काँग्रेस सभापति देउबाले खाएको कसम संयोग मात्र थिएन भन्ने पनि यसले प्रमाणित गरेको छ । नेपालको भविष्य र अस्तित्व कांग्रेसको हातमा सुरक्षित छैन भन्ने पनि थप स्पष्ट भएको छ ।
कांग्रेसको क्रियाकलापले चीनलाई अनावाश्यक रुपले ‘प्रोभोक’ गरिदिएको छ । चिनियाँ रक्षामन्त्री वेई फेङहेको भ्रमण यत्तिकै भएकोहोइन । चीन संवेदनशील देश हो । चीनलाई रोक्न अमेरिकाले सकिरहेको छैन भने काँग्रेसले भारतको आडमा चीनसँग किन निहुँ खोजेको हो, बुझिनसक्नु छ । यसले काँग्रेसलाई त कुनै राजनीतिक फाइदा भएको छैन नै, नेपाल–चीन सम्बन्ध बिगार्नमा पनि ऐतिहासिक योगदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्