जनता टाइम्स

२ पुष २०७७, बिहीबार १४:०५

भनिसाध्ये छैन सभामुखका दुःख, यतातिर नि बुझेन चित्त


बालुवाटार बाहिर बस्नुपर्दा देखियो सभामुख सापकोटामा छटपटी, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबिरुद्ध गराइयो सचिवालयबाटै प्रहार

काठमाडौं, पुस २ । आफ्नै सहयोद्धालाई फसाएपछि पूर्वमाओवादी कोटाबाट प्रतिनिधिसभाको सभामुख बन्नुभएका भएका अग्निप्रसाद सापकोटा पदको गरिमा र जिम्मेवारी पूरा नगर्दा एकपछि अर्काे विवादमा पर्नुभएको छ । संबैधानिक हैसियत भुलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल गुटको मतियार बनेर विनाकारण संवैधानिक परिषदको बैठकमा सहभागी नहुँदा सभामुख सापकोटा विवादमा पर्नुभएको हो ।

म पनि एउटा अंङ्गको प्रमुख हुँ भन्ने घमण्ड देखाउँदै प्रधानमन्त्रीको अध्यक्षतामा रहेको परिषद्को बैठक बहिस्कार गर्दा व्यवस्थापिकाको गरिमा जोगाएको दाबी गर्ने सापकोटालाई अर्को दुःख पनि रहेछ । सापकोटाको बालुवाटार वरपर बस्न नपाउँदाको छटपटी मिडियामार्फत बाहिर छताछुल्ल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभामुख निर्वाचित भएदेखि नै उहाँको त्यति राम्रो सम्बन्ध छैन भनिन्छ । जसले गर्दा यो विषयलाई पनि प्रधानमन्त्री निवासमा आवत जावतमा सभामुखलाई रोकिएको अर्थमा विषयलाई बुझिएला । तर, सभामुख र उहाँका निकटस्तहरुको रोइलो प्रधानमन्त्रीसँगको सम्बन्धबारे नभई उहाँको निवास बारेको हो ।

त्यसैकारण सभामुख सापकोटाले आफ्नै सचिवालयमा समाचार तयार पारेर मिडियामा प्रधानमन्त्रीबिरुद्ध प्रचार गराइएको छ । उहाँलाई बालुवाटारमा राख्न प्रधानमन्त्री केपी शर्मा ओली अनिच्छुक भएकाले अन्यत्र धपाइएको भनेर प्रचार गरिएको छ । यथार्थमा सापकोटालाई बालुवाटारबाट धपाइएको नभई आफै नआउनु भएको हो । एउटा सम्माननीय पदमा आसिन व्यक्तिले आफू बस्ने निवास साघुँरो वा असहज हुँदा त्यसको व्यवस्थापन गर्ने शहरी विकास मन्त्रालय र मातहत कार्यालयलाई बोलाएर निर्देशन दिन वा काम गराउन सक्छन । तर सभामुख सापकोटाले त्यसो नगरी पदीय हैसियत बिर्सिएर आफ्नै सचिवालयमा समाचार तयार पार्न लगाएर आफू निकट मिडियाबाट आफ्नो दुःख भन्दै बाहिर ल्याउनु भएको छ ।

सभामुख सापकोटा यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बस्दै आउनुभएको लैनचौरस्थित निवासमा बस्दै आउनुभएको छ । तर, उहाँलाई यसअघिका सभामुखहरू बस्दै आएको निवासमा बस्ने इच्छा रहेछ । यो कुरा अहिले सवैधानिक परिषद् सम्बन्धि विवादका बखत सापकोटा निकटस्थबाट मिडियाबाजी गरेरै प्रकट भएको छ । यस बिषयमा जनताटाइम्सले पाठकका लागि तथ्य पस्कने कोशिष गरेको छ ।

कसरी पुगे सापकोटा लौनचौर ?

अहिलेको सरकारले सभामुख सापकोटालाई यसअघि उपराष्ट्रपति बस्दै आएको लैनचौरस्थित निवासमा किन राखियो भन्ने विषयमा पुग्न यसअघिका सभामुख बस्दै आएको निवासबारे चर्चा गरौं । यसअघिका सभामुखहरू बस्दै आएको बालुवाटारस्थित सरकारी निवासमा अहिले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आउनु भएको छ । २०२८ सालमा बनेको उक्त भवनमा राजतन्त्र हुँदासम्म राजसभा स्थायी समितिका सभापतिहरू बस्दै आएका थिए । देशमा राजतन्त्रको अन्त्य भएसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ दुई कार्यकाल, त्यसपछि सभामुख ओनसरी घर्ती र कृष्णबहादुर महरा उक्त भवनमा बस्नुभयो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पूर्वमाओवादी समुहकै एउटा भूमिगत गिरोहले फसाएपछि पदबाट राजीनामा दिनुपर्यो । राजीनामालगत्तै उक्त निवास खाली भयो । यता राष्ट्रियसभा अध्यक्ष तिमल्सिना निर्वाचित भएको डेढवर्षदेखि पुलचोकस्थित मन्त्रीक्वाटरमा बसिरहनु भएको थियो । त्यसअघि उहाँका लागि निवासको व्यवस्थापन गर्दै आइरहेको शहरी विकास मन्त्रालयले भाडाको घरसमेत खोजी गरेको थियो ।

भाडाको घर सम्भव नभएपछि निर्वाचित भएको डेढ वर्षपछि तिमिल्सिना बालुवाटारमा प्रधानमन्त्री र प्रधानन्यायधीशको निवाससँगै जोडिएको नवनिर्मित भवन (हालको प्रधानमन्त्री निवास) मा सर्नुभएको थियो । उक्त भवन खास नेपाल सरकारका मुख्यसचिवका लागि निर्माण गरिएको थियो । तिमिल्सिना त्यहाँ सरेको चार महिनामै प्रधानमन्त्रीका लागि उक्त घर छोड्नुपर्ने भयो । प्रधानमन्त्रीको पुरानो निवास भूकम्पले जिर्ण बनेका कारण भत्काएर नयाँ बनाउने ठेक्का भइसकेको थियो ।

प्रधानमन्त्रीलाई बालुवाटार परिसरमै रहेको सो घर प्रयोग गर्न सहज हुने भएपछि सरकारको अनुरोधमा अध्यक्ष तिमिल्सिना महराले राजिनामा दिएपछि खाली रहेको निवासमा सर्नुभयो । ‘राष्ट्रियसभा अध्यक्षलाई सभामुख निवासमा बस्नका लागि सरकारले नै आग्रह गरेको हो, खाली भवनलाई सदुपयोग गरिएको हो,’ शहरी बिकाश मन्त्रालयका एक अधिकृले जनताटाइम्ससँग भने । त्यसो त अध्यक्ष तिमिल्सिना आफ्नो कार्यकाल दुई वर्ष नपुग्दै तीन ठाउँमा सर्नुपरेको थियो । ती अधिकारीका अनुसार राष्ट्रिय सभा अध्यक्ष बसिरहेको निवासमा प्रधानमन्त्री बस्नुपर्ने भएपछि अध्यक्षलाई पहिले सभामुख बस्ने गरेको तर त्यसबेला खाली रहेको निवासमा बस्ने व्यवस्था मिलाइएको हो । राष्ट्रिय सभा अध्यक्ष पुरानो सभामुख निवासमा बस्न थालेको चार महिनापछि मात्रै सापकोटा सभामुखमा निर्वाचित हुनुभएको थियो ।

यस्ता घटनाक्रम र परिस्थितिले लैनचौरस्थित भवनमा पुगेका सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीले बालुवाटर परिसरमा राख्न नचाएर लखेटिएको भन्नु ठिक होला ? के देशको दोस्रो मर्यादाको उपराष्ट्रपतिले आफ्नो पहिलो कार्यकाल र दोस्रो कार्यकालका दुई वर्ष विताएको निवास सभामुख सापकोटालाई अपुग भएको हो वा अलिसान बंगला मोह हो ? राष्ट्रिय सभा अध्यक्ष डेढ वर्ष मन्त्री क्वाटर र दुई वर्षमा तीन ठाउँ सर्नुपर्दा अफ्ट्यारो भयो होला वा उपराष्ट्रपति बसेको निवासमा सभामुख बस्नुपर्दा ? यो प्रश्नको जवाफ खोज्ने हो भने सभामुखले प्रधानमन्त्रीबिरुद्ध गर्नुभएको मिडियावारको तथ्य आफै उजागर हुन्छ ।

‘खाली रहेको भवनमा राष्ट्रियसभा अध्यक्षलाई राखेपछि उपराष्ट्रपति पुन बस्नुभएको भवनमा उहाँलाई राखियो, सुविधासम्पन्न रहेको सो भवनले नपेगेको हो भने सभामुखले भन्नुपर्यो, मिडियामा उहाँको चित्त दुखाई देखेपछि चकित पर्यौं, सभामुख जस्तो गरिमामय पदमा रहेर यतिसम्मको निकृष्ट हर्कत पनि गर्नुहुदोरहेछ हाम्रा सभामुख महोदय भन्ने बुझियो,’ शहरी बिकाश मन्त्रालयका अर्का बरिष्ठ अघिकारीले भने ।