जनता टाइम्स

१५ माघ २०७७, बिहीबार १९:०२

दोस्रो दिन २९ हजारले लगाए कोरोनाको खोप, छैन कसैमा पनि साइड इफेक्ट


काठमाडौं, माघ १५ । कोरोना भाइरस विरुद्धको ‘कोभसिल्ड’ खोप अभियानअन्तर्गत दोस्रो दिन ७७ वटै जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सो संख्यामा कोरोनाको खोप लगाइएको जनाएको हो ।

मन्त्रालयका अनुसार दुई दिनमा प्रदेश १ मा ३,८४७, प्रदेश २ मा २,१६७४, बागमतीमा ११ हजार ४६१, गण्डकीमा ४, ८५३ लुम्बिनीमा २,३०३, कर्णालीमा १६७७ र सुदूर पश्चिममा २,४४१ जनाले खोप लगाएका छन । बुधवारदेखि खोप लगाएका कसैलाई पनि अहिलेसम्म साइड इफेक्ट नदेखिएको मन्त्रालयले जनाएको छ । खोप लगाएको दुई दिनमा कसैलाई पनि साइड इफेक्ट नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

‘आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कसैलाई पनि स्वास्थ्य समस्या देखिएको छैन,’ गौतमले भन्नुभयो । सरकारले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरुमध्ये खोपको उपलब्धताको आधारमा खोप लगाउने निर्णय गरेको थियो । मन्त्रालयले स्वास्थ्यकर्मी, फोहोरमैला संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक, खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयं सेवकहरु, अन्तराष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी तथा जेलमा रहेका कैदी–सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिने मापदण्ड बनाएको छ । मापदण्ड अनुसार खोप लगाउने अभियान देशैभर भइरहेको छ ।