जनताको बहुदलीय जनवादी वैचारिक धरातलमा टेकेर राजनीति गरिरहेका तर अहिले भ्रमवश भद्रगोलमा गोल गर्ने गलत मनसायका प्रचण्डको चङ्गुलमा फसेका नेता- कार्यकर्ताले पार्टी कार्वाहीको प्रक्रिया शुरु हुनु अगावै के पी ओली नेतृत्वको नेकपाको मूलधारमा फर्किएर वर्तमान सुनामीबाट आफूलाई सुरक्षित राख्न सक्छन् । ‘यदि तिमी कसैलाई जित्न सक्दैनौ भने हात मिलाउ’, यो रोमन उखान हो । एमालेमा के पी शर्मा ओलीलाई गुटबन्दी र धम्कीको माध्यमबाट परास्त गर्न सकिन्न । असत्यसंग नझुक्ने उनको चट्टानी अडानसंग हात मिलाउदा नै सबैको भलो हुन्छ
निर्मल भट्टराई
देशलाई अस्थीरता तर्फ जान नदिन र समृद्धिको गतिलाई निरन्तरता दिन प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि देखि नै सत्तारुढ नेकपा (एमाले)भित्र उक्त कदमको विरोध गर्ने केही नेताहरुले एमाले ब्युँझिएपछि पनि समानान्तर गतिविधि गर्ने निरन्तर प्रयत्न गरिरहेका छन् । पार्टीको मूलधारबाट भागेर सामाजिक मर्यादा नागेर एकोहोरो के पी शर्मा ओलीलाई गालीको बौछार गर्ने उनीहरूको दिनचर्या बनेको छ । एमालेजस्तो अनुशासित पार्टीमा गुटगत र अराजक गतिविधिलाई अगाडि बढाईएको छ । ०५४ सालमा बामदेव-विभाजनको बेला बामदेवलाई विभाजनमा पुर्याउन सकृय रहेका घनश्याम र योगेशहरु नै आज यो गतिविधिका सबभन्दा उग्र पात्र हुन् ।
कुनैवेला फलामे अनुशासनमा रहेको एमालेमा अहिले अराजकताले सीमा नाघेको छ । पार्टी नेतृत्व र स्थापित नीतिको विरुद्ध पार्टीका केद्रिय नेताहरु नै खुलमखुल्ला विषवमन गर्दै हिड्ने, विधिसम्मत गरिएका पार्टी निर्णयलाई उलङ्घन गर्ने, प्रतिपक्षभन्दा बढी सरकारको आलोचना गर्ने, पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्पन्न गर्नु पर्ने सामान्य भूमिकाबाट समेत अलग हुने,राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई तुच्छ एवम् अशोभनीय आक्षेप लगाउने, देश र जनताको पक्षमा प्रधानमन्त्रीले गरेका राम्रा र युगीन महत्वका कामलाई विद्रुपीकरण गर्ने काम हुदै आएका छन् । प्रधानमन्त्रीका राम्रा कदमलाई समर्थन गर्ने नेता कार्यकर्ताहरूलाई ‘चोर’, ‘दलाल’,’भ्रष्ट्राचारी’,’हनुमान’,’चाटुकार’,’पदलोलुप’ जस्ता तुच्छ गाली गरिदैंछ ।
झलनाथ-माधव समूहले सडकमा छुट्टै अस्तित्व देखाउन खोजे पनि कार्यकर्ता रजनताको समर्थन निरन्तर गुमाउदै गएको त्यो समूहका नेता कार्यकर्ताको राजनीतिक भविश्यमाथि ग्रहण लाग्न शुरु भईसकेको छ । पार्टी केन्द्रमा पदीय आकाङ्क्षा, निषेधको तानावाना र अरु विविध कारणले नेताहरु विभाजन हुँदा तृणमूल तहमा जनताको पक्षमा राम्रो काम गरिरहेका केही जनप्रतिनिधिहरुलाई समेत भ्रम पारिएको छ । तर जतिसुकै भ्रम पारिए पनि सूर्य चिन्ह लिएर विगतमा विजयी बनेका स्थानीय तहका जनप्रतिनिधिहरू के पी शर्मा ओली नेतृत्वको संस्थापन नेकपा(एमाले)मै रहेका छन् । त्यहीं रहनु पर्ने कानूनी र नैतिक वाध्यता पनि छ ।
कम्युनिष्ट आन्दोलनमा आफ्नो उर्वर उमेर विताएका केही राम्रा नेता-कार्यकर्ताहरुसमेत विभाजनकारी समूहको भ्रमयुक्त कुराको पछाडि लाग्ने खतरा छ । जनताको सेवा गरिरहेका ती राम्रा नेता-कार्यकर्ताको राजनीतिक जीवन रक्षा अहिले गर्न सकेनन् भने पछि पछुताउनु बाहेक केही बाँकी रहने छैन। यो तीन बर्षे अवधिमा विभिन्न घेराबन्धीका बाबजुद प्रधानमन्त्रीले आफ्नो उपलब्धिको फेहरिस्त सूत्रबद्ध रुपमा सार्वजनिक गर्नुभएको छ । तर त्यसको राम्ररी जनतामा संप्रेषण हुन सकेको छैन । सरकार गठन गरेदेखि नै आफ्नै पार्टीभित्रबाट असहयोग र घेराबन्दीमा पारिए पनि सो घेरा तोडेर अगाडि बढ्न सफल हुनुभएका उहाँको युगीन उपलब्धि र अदम्य साहसलाई पार्टीका सबै नेता कार्यकर्तामा राम्ररी संप्रेषण गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।
जनतालाई फजूल सपनामात्र देखाउने होईन, देशको समृद्धिको बहुआयामिक पक्षलाई अगाडि बढाउनु भएका प्रधानमन्त्री के पी शर्मा ओलीको सगरमाथाझैं उच्च लोकपृयताबाट डराएर उहाँलाई असफल बनाउन लीन प्याओवादी षणयन्त्र पार्टीभित्रैबाट शुरु भयो,भईरहेछ । तर उनीहरूले सक्नेवाला छैनन् । नेकपा(एमाले)मा प्रधानमन्त्री के पी शर्मा ओलीको राजनीतिक उचाईको अगाडि जे एन – माधवलगायतका नेताहरुको कुनै जोर चल्ने अवस्था छैन । झलनाथ-माधवले देशलाई असफल बनाउन नसके पनि आफ्नो र राम्रो राजनीतिक संभावना बोकेका केही नेताहरूको राजनीतिक भविश्य चकनाचूर बन्नेचाँहि प्रष्ट संभावना देखिएका छन् । एमाले-माओवादी एकतालाई मान्यता नदिने अदालतको फैसलापछि प्रचण्डसंगको लगनगाँठो तोडेर एमाले फर्किएका नेताहरुलामो समयदेखि पार्टी विभाजन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने र प्रतिक्रियावादीको सेवा गर्न केही नेताले रचेको षणयन्त्रको पक्षमा नेकपा(एमाले)का अधिकांश कार्यकर्ता देखिएनन् । जनताको तहमा विगतमा मजबुत संगठन बनाएको एमालेका कोही पनि विभाजनको पक्षमा छैनन् ।
वामदेव गौतमले २०५४ सालमा तत्कालीन संसदमा सबैभन्दा ठूलो दल एमाले विभाजन गर्दाको दुर्नियति अहिलेसम्म नेता-कार्यकर्ताले भुलेका छैनन् । विभाजनले पार्टीको सबैभन्दा ठूलो दलको हैसियत त गुमायो नै, विभाजनमा वामदेवको पछि लाग्ने हजारौं नेता-कार्यकर्ताको राजनीतिक जीवन समाप्त भयो । २०५६ सालमा भएको संसदीय निर्वाचनमा वामदेव गूटको राष्ट्रव्यापी पराजय भएपछि उनको पछि लाग्ने थुप्रै नेता-कार्यकर्ता माओवादी युद्धको भुङ्ग्रोमा प्रवेश गरे । फलस्वरुप धेरैको भौतिक जीवन पनि समाप्त भयो । सेनाविहीन सेनापतिको रुपमा एमालेमा फर्किएपछि एक सार्वजनिक कार्यक्रममा धेरै पछि वामदेवले स्वीकारे-मैले एमाले विभाजन गरेर तीन हजारभन्दा बढी कार्यकर्ता गुमाएं । अहिलेको जेएन-माधव समूहलाई पनि हेक्का हुनुपर्छ, पार्टी विभाजन गर्नु केवल गुमाउनु मात्र हो । दक्षिण अफ्रिकामा एउटा कहावत छ,’दुई हात्तीले मायाप्रीति गरे पनि दुबोको नास,झगडा गरे पनि दुबोकै नास’ । जे एन र माधव नेपाललाई हाताहाती पद चाहिएर शुरु भएर यहाँसम्म आईपुगेको नेकपा(एमाले)को झगडामा अरु नेता-कार्यकर्ताले किन आफ्नो सुन्दर राजनीतिक जीवन किन कुर्वानी गर्ने ? पटक-पटक प्रधानमन्त्री भएर देश र जनताको पक्षमा सिन्को भाँच्न नसकेका नेतालाई पुनः कुर्सीमा पुर्याउन कार्यकर्ता र जनताले किन वलिदान गर्ने ?
नेकपा(एमाले)को नेतृत्वको संघीय, प्रादेशिक र स्थानीय सरकारले जनताको पक्षमा राम्रो डेलिभरी दिईरहेको अवस्थामा कुनै सैद्धान्तिक वैचारिक मतभेद नभईकन यी नेताको कारण पार्टीलेयो अराजकताको शिकार हुनु परिरहेछ । त्यही कारण माओवादीसंगको एकता भङ्ग हुने अवस्था आयो । यस्तो अवस्थामा सत्यको पक्षमा कार्यकर्ता र जनताको ध्रुवीकरणले मात्र पार्टीको हैसियत कायम राख्न सक्छ । ओली सरकारले राष्ट्र र जनताको पक्षमा गरेका युगीन महत्वका काम र प्राप्त उपलब्धिको रक्षा गर्न नेकपा (एमाले)का देशभरका नेता कार्यकर्ताले एकताबद्ध भएर झलनाथ र माधव नेपाललगायतका नेतालाई जनस्तरमै तिरस्कार गरिनु पर्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई केही स्वार्थी नेताले धावा बोलिरहेका छन्, अब यसलाई कार्यकर्ता र जनताले मात्र बचाउन सक्छन् । नेकपा(एमाले)का परिपक्व र विवेकी कार्यकर्ताले नेपालको नयाँ ईतिहास रच्न सक्छन् ।
जनताको बहुदलीय जनवादी वैचारिक धरातलमा टेकेर राजनीति गरिरहेका तर अहिले भ्रमवश भद्रगोलमा गोल गर्ने गलत मनसायका प्रचण्डको चङ्गुलमा फसेका नेता- कार्यकर्ताले पार्टी कार्वाहीको प्रक्रिया शुरु हुनु अगावै के पी ओली नेतृत्वको नेकपाको मूलधारमा फर्किएर वर्तमान सुनामीबाट आफूलाई सुरक्षित राख्न सक्छन् । ‘यदि तिमी कसैलाई जित्न सक्दैनौ भने हात मिलाउ’, यो रोमन उखान हो । एमालेमा के पी शर्मा ओलीलाई गुटबन्दी र धम्कीको माध्यमबाट परास्त गर्न सकिन्न । असत्यसंग नझुक्ने उनको चट्टानी अडानसंग हात मिलाउदा नै सबैको भलो हुन्छ ।
प्रतिक्रिया दिनुहोस्