जनता टाइम्स

१४ चैत्र २०७७, शनिबार ०७:५१

ओलीबिरुद्ध मिसन चलाउनेहरुले बुझ्नैपर्ने यो तथ्य


प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आन्दोलन गर्नेहरुले सरकारले गरेका वा प्रधानमन्त्रीको अगुवाइमा भएका कामहरुलाई देख्दै नदेखेजस्तो गरेर नागरिक आन्दोलनदेखि आन्तरिक मोर्चावन्दी समेत गरे । विरोधका स्वरहरु उचालिए तर भएका कामहरुको समर्थन भएनन । राम्रोलाई राम्रोसम्म भन्न नसक्नेहरु समेत देखिए । अझ नागरिक समाज वा बौद्धिक समुदायमा अझ बनिबनाउ सोच र धारणाहरु रहेको उदांगियो ।

सुनिता बराल

कहिलेकाँहि अत्यन्त साना भनेर खासै वास्ता नगरिएका विषयले पनि प्रभावकारी, दूरगामी र गहिरो अर्थ राख्छन् । विशेषतः अन्यौलता, अस्थिरताहरु फैलिरहेका बेला एउटा स्पष्ट दृष्टिकोणले ठूलो अर्थ राख्छ । अस्थिरता फैलिरहेको बेला एउटा स्थिरताको अनुभूतीले बेग्लै राहत मिल्छ । मानव जिवनमा अलिक गहिरिएर हेर्यौं भने हामी भौतारिएका ठूला ठूला विषयभन्दा यस्तै साना विषयलाई वास्ता दियौं भने, देखेको बोल्यौं, सकेको गर्यौं भने त्यसले एउटा व्यक्तिको जिन्दगीमा त फरक पार्छ नै सिंगो समाज र देशलाई नै कायापलट बनाउँछ ।

पछिल्ला तीन महिनाभन्दा अलिक बढी समयको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेर्दै परिभाषित दायित्व पूरा गर्दै अलिक भिन्न ढंगले समाजलाई बुझ्ने प्रयासको एउटा दृष्टान्त प्रस्तुत गर्नु आवश्यक ठानेको छु । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आन्दोलन गर्नेहरुले सरकारले गरेका वा प्रधानमन्त्रीको अगुवाइमा भएका कामहरुलाई देख्दै नदेखेजस्तो गरेर नागरिक आन्दोलनदेखि आन्तरिक मोर्चावन्दी समेत गरे । विरोधका स्वरहरु उचालिए तर भएका कामहरुको समर्थन भएनन । राम्रोलाई राम्रोसम्म भन्न नसक्नेहरु समेत देखिए । अझ नागरिक समाज वा बौद्धिक समुदायमा अझ बनिबनाउ सोच र धारणाहरु रहेको उदांगियो ।

हुन त मानवीय गुणकै रुपमा पनि बुझ्ने गरिन्छ हर मानव अरुका कमजोरी औंल्याउनमा पोख्त छ । आफ्नो कमजोरी चिन्ने, स्वीकार्ने र सच्चिने हुनका लागि अलिक भिन्न क्षमता, भिन्न विशेषता वा भिन्न क्षमता प्राप्त गर्नुपर्ने हुन्छ । मानव जिवनको अभ्यासमा आद्यात्मिक आलोकबाट दिक्षितहरुले ध्यान, योगाभ्यास वा दैवी चिन्तनले त्यो अवस्थामा पुग्न सकिन्छ भन्ने व्याख्या गरेका छन् भने त्यस्तो त्यागी सद्गुणी र विवेकी मान्छे बन्नका लागि आधुनिक समाजशास्त्रीय कोणबाट व्याख्या गर्नेले गौतम बुद्ध, महात्मा गान्धी, नेल्सन मण्डेला प्रकृतिको उपमा दिन्छन् ।

यसरी आफूलाई चिन्न सक्ने र औषत मानवीय गुणभन्दा विशिष्ट प्रकारका गुण विकासका यी सन्दर्भहरु अझ परै राखेर सचेत नागरिकको अवस्था के रैछ ? भन्ने कोणबाट समाजलाई हेर्न थाल्नुभो भने चकित पर्नुहुन्छ । चकित पर्छौं । अहिलेको सामाज आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, प्राबिधिक आदि हिसावले विभक्त छ । यो समाजको अवस्था वा विकासको मानक यस्तै सूचकहरुको सापेक्षतामा निर्भर छ । यस्तो अवस्थामा हर कोही निरपेक्ष रुपमा स्वतन्त्र भएर कुनै अभिव्यक्ति दिन वा आफ्नो व्यवहार गर्न असम्भव नै होला । तैपनि सामान्य मानवीय गुणकै रुपमा पनि सहीलाई सही र गलतलाई गलत भन्न सक्ने चेत मान्छेमा किन ओरालो लाग्दैछ ? भन्ने गहिरो प्रश्नले भने रन्थनिएको छु ।

एउटा व्यक्तिको नीजि स्वभाव, जीवनशैली, खानपान, लवाइ, बोलीचाली वा अन्य व्यवहारका सन्दर्भमा मान्छे किन अचम्मको आफ्नै कुण्ठित शैलीबाट प्रस्तुत हुन्छ । आफ्नै टोल समाजमा भएको एउटा सामान्य घटनाका सन्दर्भमा मान्छे किन अत्यन्तै आत्मकेन्द्रित वा निर्देशित वा आत्मकुण्ठायुक्त दृष्टिकोणमा प्रस्तुत हुन्छ ? यो अजीवको प्रश्न उभिएको छ । अझ राष्ट्रिय राजनीतिक होस, आमरुपको सामाजिक वा सार्वजनिक महत्वको सवालमा त हर कोही व्यक्ति यतिधेरै प्रतिक्रिया प्रस्तुत गरिरहेको हुन्छ कि उसको अरु कुनै जिम्मेवारी, सरोकार वा दायित्व नै छैन आलोचना वा कुण्ठातुष्टि पोख्ने बाहेक ।

यस्तै सन्दर्भमा नेपाली राजनीतिमा घटेका पछिल्ला घटनाहरुका सन्दर्भमा सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्ने सोचिएकाहरुले अपेक्षा गरेजस्तै प्रतिक्रिया दिए होलान त ? पक्कै पनि सोचेनन । पक्कै पनि सचेत नागरिकले अपेक्षा गरेअनुसार आफ्नो सामाजिक दायित्व पूरा गर्न सकेनन् । समकालीन राष्ट्रिय वा स्थानीय राजनीतिक विषयमा पनि आफ्नो दृष्टिकोण दिन सकेनन् चाहेनन् । विकासका सदर्भमा पनि आफ्नो सचेतनायुक्त धारणा दिन चाहेनन् सकेनन् । पूरै पक्षधरतामा उभिएर आफ्नो पक्षको बचाउ र भिन्न पक्षको आलोचनामै रमाउने अवस्था सिंगो सामाजिक विकासको लागि खतराको सूचक हो । हरेक नेतृत्वको लागि सचेतना, खबरदारी र आलोचनाको जरुरी हुन्छ । जोखिममा पर्न नदिन गर्नुपर्ने खबरदारी, सचेतना र बाटो बिराएका वा गल्ती गरेकाहरुको आलोचना सामान्य मानव जिवनकै अग्रगतिका लागि आवश्यक पक्ष हुन ।

अझ राजनीतिक र सामाजिक जिवनका अन्योन्यास्रित पाटाका रुपमा लिइने यस्ता पक्षमा सचेत नागरिकको ध्यान नजानु चिन्ताको विषय हो ।
सचेत नागरिकले पक्षधरमा लिनु र मौन बस्नु दुबै अवस्था घातक भएको देखिन्छ । गलतलाई गलत र सहीलाई सही भन्न सक्ने क्षमता हर सचेत व्यक्तिलाई छ । मान्छेमा भएको त्यही भिन्न क्षमता अर्थात चेतनाका कारणले मान्छे भएको हो । मानवशास्त्रमा हामीले अध्ययन गरेका छौं नि मान्छेको उद्विकासका क्रममा प्रयोगमा नआएका अंग तथा व्यवहारहरु समय क्रममा लोप भए । अब हामी सम्झौं त हाम्रा आफ्ना स्वार्थ वा सम्बद्धताहरु कारणले हामीले सचेत नागरिकको कर्तव्य निर्वाह गर्न छोड्यौं भने हाम्रो यात्रा कतातिरको हुन्छ ? हामीले आफ्ना दृष्टिकोणहरु दिने सन्दर्भमा चाहे राजनीतिक होस् वा सामाजिक यो विषयमा म बोल्दिनँ, तटस्थ बस्छु वा निरपेक्ष बस्छु भनियो भने हाम्रो चेतनाको प्रयोग नहुने अवस्था प्रष्टै देखिन्छ । मानव चेतना सही ठाउँमा सही समयमा प्रयोग भएन भने त्यसले सही उपलब्धि प्राप्त गर्न त रोक्छ नै अझ गलत बाटोमा लैजाने, दुर्घटनाको अवस्थामा पुर्याउने वा गलत परिणाम निकाल्ने निश्चित छ ।

नेपाली राजनीतिक सन्दर्भमा कम्युनिष्ट पार्टीको एकीकृत शक्तिशाली स्वरुप, र त्यसको क्रमश ओरालो यात्रा, संवैधानिक र कानुनी व्यवस्थाहरु र त्यसको व्याख्या गर्ने निकायका फैसला वा दृष्टिकोण र त्यस सन्दर्भमा सिर्जित सचेत नागरिकका व्यवहारहरुलाई मात्रै एक पटक गहिरो समिक्षा गरियो भने हामी प्रविधि र चेतनाका हिसावले जुन युगमा छौं भनेर गर्वानुभूती गरिरहेका छौं त्यो भन्दा भिन्न महसुस हुन्छ । यो व्यक्तिगत अनुभव वा नीजि दृष्टिकोण पनि हुन सक्ला तर हामी प्रविधिको प्रयोगका हिसावले यान्त्रिक र गतिहीन भईरहेका छौं । चेतनाका हिसावले आत्मकेन्द्रित, सापेक्षिक र स्वार्थी भईरहेका छौं । मनोगत विश्लेषण र तर्कलाई नै सत्य सावित गर्न खोज्ने हाम्रो मुढ शैलीले हामीलाई ढुंगे युगको मान्छेतिर फर्काइरहेको छ ।

पुरातन ज्ञान र दर्शनको हिसावले अन्तर्मनको आवाज भनौं या आधुनिक विज्ञान र दर्शनको हिसावले आलोचनात्मक चेतयुक्त हुनुपर्ने, द्धन्द्धात्मक दृष्टिकोणले युक्त हुनुपर्ने हाम्रो विचार चिन्तन र दृष्टिकोण किन अन्धवादी, एकपक्षीय र कुण्ठायुक्त बन्दै गएको छ भन्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । हाम्रो सामाजिक परिवेश, सामाजिक दृष्टिकोण, सामाजिक सरोकारका सन्दर्भहरु किन यस्ता भईरहेका छन् ? पुँजी, प्रविधि वा अरु केको प्रभावले यसरी आत्मकेन्द्रित र स्वार्थ सापेक्षित चेतनाको निर्माण हुँदैछ ? भन्नेतर्फ ध्यान दिन जरुरी छ । सचेत नागरिकले सही समयमा सही ढंगले दृष्टिकोण दिने कुरा समुदायले उसंग गर्ने महत्वपूर्ण अपेक्षा हो । मान्छे जन्मिएर उसले समाजमा गर्ने भौतिक योगदान होला नहोला, सक्ला नसक्ला तर जन्मजात रुपमा ल्याएको प्राणी जगतकै भिन्न क्षमता अर्थात सचेतनाको सही प्रयोग अवश्य गर्नुपर्छ । सचेत नागरिकसंगका यी अपेक्षा नै समाजको श्रृङ्खलाबद्ध विकासका सही साक्षी हुन् ।