जनता टाइम्स

१७ बैशाख २०७८, शुक्रबार ११:४८

संकटको बेला देख्ने सपना


मानवीय क्रियाकलापको असन्तुलित अवस्थाले वायुमण्डल, पृथ्वी र ब्रम्हाण्डमै अफ्ठेरो परिरहेको अवस्थामा कोरोनाले जसरी आक्रमण गरिरहेको छ यसबाट जोगिँदा हाम्रा क्रियाकलापको नियन्त्रणले पृथ्वी र ब्रम्हाण्ड नै जोगिनेसम्मको सकारात्मक प्रभावको अपेक्षामा उर्जा निर्माण गरौं

सुनिता बराल

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको दोश्रो भेरियण्टको तीब्र संक्रमणले गर्दा फेरि विश्व आक्रान्त बन्ने देखिएको छ । ब्राजील, मेक्सिको, फ्रान्स, पोल्याण्ड, रसिया, टर्की, युक्रेन, भारत, नेपाललगायतका देशहरुमा तीव्र संक्रमण फैलिएका कारण लकडाउन, निषेधाज्ञालगायतका कदम चाल्न सरकार बाध्य भएको छ । संक्रमणको चेक ब्रेक गरी नागरिकको जीउधनको सुरक्षा गर्न सरकारले बाध्यात्मक कदमका रुपमा लिएका यस्ता निर्णयहरुको कार्यान्वयनको विषयलाई लिएर विवाद आलोचनाहरु पनि हुने गरेका छन । विश्वव्यापी महामारी कोरोना भाइरसको तीब्र संक्रमणका कारणहरु खोतलेर हुने आलोचना र नियन्त्रणका प्रयासहरुमा हुने अवरोधहरु पनि सिंगो मानव जातीकै अस्तित्वमाथिका अवरोध जस्तै भएका छन ।

सन २०१९ को अन्त्यमा चीनबाट सुरु भएको कोरोना महामारीले सन २०२० लाई महामारीको वर्षकै रुपमा चिनायो । १ सय ९० भन्दा बढी देशमा फैलिएको यो संक्रमणले मानव जातीकै अस्तित्वमा प्रश्न उठाएको छ । विश्वभर आर्थिक, सामाजिक, राजनीतिक हिसावले उथलपुथल ल्याएको यो भाइरसले सामरिक चेतलाई समेत नयाँ ढंगले बहसमा ल्याएको छ । कोरोना भाइरस संक्रमणको कारण २०२० को जनवरी ११ मा चीनमा पहिलो मृत्यु भएको प्रमाणित भएपछि विश्वभर ३१ लाख ६५ हजारभन्दा धेरै मानिसहरु मरिसकेका छन । महामारीले १५ करोडभन्दा बढी मानिस प्रत्यक्ष संक्रमित हुँदा विश्व अर्थतन्त्र नै ओरालो लागेको विश्लेषण हुन थालेको छ । औषधि र भ्याक्सिनको सम्भावनालाई अझै विश्वस्त पार्न नसक्दा र रुप बदलेर कोरोना भाइरसको रहस्यमय संक्रमण बृद्धि हुने कुराले विश्व विज्ञान अन्यौलमा फसेको छ ।

आविश्कार र विज्ञानको जटील आँखाबाट हेर्दा कोरोनाको यो अदभूत आतंकबाट मुक्ति पाउनै कठिन भईरहेको छ । तर सहज र सरल रुपमा कोरोनाबाट जोगिने उपाय पनि सिकिएको छ । आचार, विहार र व्यवहारमा सुधार गर्न सक्दा कोरोना भाइरसलाई प्रवेश गर्नै नदिन सकिने र कोरोना संक्रमण भएको खण्डमा परास्त गर्न सकिने सिकाइकै आधारमा अहिले पनि लकडाउन र निषेधाज्ञाको अभ्यास भएको छ । आत्म नियन्त्रण र अनुशासनको अभ्यास, सदाचारयुक्त जीवनशैली, सार्वजनिक जीवनको व्यवस्थापनलगायतका सिकाइहरुले कोरोनासंगको लडाईलाई केही सरल र सहज पनि बनाएको छ । जीवन विज्ञानको चक्रलाई हेर्दा सिंगो ब्रम्हाण्डको चक्रमा समस्त प्राणीमा पनि मानव जाती मात्रै आक्रान्त छ । ब्रम्हाण्डीय अस्तित्वमा कोरोनाको असर प्रकृतिलाई फिटिक्कै छैन । मानव जातीको क्रियाकलापका कारण ब्रम्हाण्डीय अस्तित्वमा रहेको ओजोन तह उस्तै पातलिँदो भएका कारण खतरा बढ्दो छ । पृथ्वीको तापक्रम बढिरेहको छ भने जलवायु परिवर्तनका कारण हाम्रो मौसम प्रतिकूल भईरहेको छ । यस्तो नियमित समस्या भईरहँदा कोरोना संक्रमणका कारण यसमा थप समस्या थपिएको छैन । बरु अझ मौसममा सुधार भएको छ ।

कोरोनासंग जित्न घरभित्रै बस्ने अभ्यास एउटा सही विकल्प भएको छ । लकडाउनले विश्वकै आधा मान्छे घरभित्र बसेका कारण गत वर्षको यो अवधि वायुको गुणस्तरमा समेत सुधार आउने गरी सुध्रिएको थियो । लकडाउनले वायुमण्डलमा देखिने औषत धुलोको कण, कार्वन मोनोअक्साइड, नाइट्रोजन अक्साइड, सल्फर डाइ अक्साइड, ओजोन जस्ता तत्वहरुमा सुधार ल्याउने हुँदा पनि कोरोनाकै संक्रमणमा पनि सुधार आएकै हो । यसरी हेर्दा मानवीय क्रियाकलापको करेक्सनले कोरोना नियन्त्रणमा सकारात्मक प्रभाव पार्छ । हावाको गुणस्तर पीएम २.५ र पीएम १० मा सुधार हुँदा नियमित श्वास प्रश्वास समस्याहरुमा नियन्त्रण हुन्छ । श्वास प्रश्वासजन्य रोगहरुका कारण कोरोनाबाट निमोनिया भैहाल्ने जस्ता जटील समस्या देखिएको अहिलेको अवस्थामा श्वास प्रश्वासलाई सहज, सरल र स्वस्थ बनाउने विधि नै कोरोना संक्रमण नियन्त्रणको उत्तम विकल्प हो ।

आयुर्वेदिक वा एलोपेथिक औषधिको आविश्कार नहुँदा पूर्वीय दर्शनमा आधारित केही अभ्यासहरुले कोरोना संक्रमणलाई नियन्त्रण र रोकथाम गर्न सकिने तथ्यहरु सार्वजनिक भएकै छन । नेपाली जडिबुटीहरु जो आफैंमा स्वस्थ हावाको स्रोत तथा अक्सिजनको मुहान छन । यस्ता जडिबुटीहरुको प्रयोग र परिचालन पनि आवश्यक छ । योगाभ्यासले श्वास प्रश्वास सम्बन्धी समस्याहरु नै ठिक राख्ने, फोक्सोको संकुचन र विस्तारलाई सन्तुलनमा राख्ने गरेको तथ्य त प्रमाणित नै छ । त्यसैले यस्ता अभ्यासहरुले दिने सकारात्मक प्रभाव एवम उर्जा प्राप्तीको स्रोतको रुपमा रहेका सकारात्मक सोचाइ र ध्यान समेतको योगदानलाई नजर अन्दाज गर्न सकिँदैन ।

विश्वव्यापी महामारीहरुका अनेक सम्बन्ध छन । आर्थिक प्रतिष्पर्धा गरिरहेका देशहरुका आविश्कारका होडवाजी, भ्याक्सिन तथा औषधिको व्यापारका प्रतिष्पर्धा र आधिकारिक निकायहरुलाई गरिने नियन्त्रण तथा परिचालनका अस्वस्थ प्रतिष्पर्धाहरु पनि महामारीले उदांगिने गर्छन । कोरोना भाइरसको संक्रमणकै मुद्धाले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा परिणाममै असर गरेको विश्लेषण पनि सेलाएको छैन । विश्व महामारीको रुपमा फैलिएका दादुरा, प्लेग, ठेउला, चिकन गुनिया, मलेरिया, टीबी, सार्स, मर्स, इबोला, डेंगुहुँदै कोरोनाभाइरससम्म आइपुग्दा शक्ति राष्ट्रहरुका बीचका प्रतिष्पर्धा पनि देखिएकै छन् ।

महामारीले सारा विश्व आक्रान्त छ । विश्व स्वास्थ्य संगठनको सिफारिसमा भ्याक्सिन वा औषधिको विश्वव्यापी बजार विस्तार छ । त्यस्तो व्यापारमा शक्ति राष्ट्रका सीमित कम्पनीले कब्जा जमाउने होड गर्छन । डब्लुएचओकै तथ्याङ्क हेर्ने हो भने विश्वभर औषधि आपूर्ति गर्न सिफारिस प्राप्त गर्ने १० देशले ७५ प्रतिशत कारोबार होल्ड गरिरहेका छन । कोरोना संक्रमणको अघिल्लो चरणमा अत्यावश्यक देखिएका मेडिकल मास्क, भेन्टिलेटर र रबर ग्लोब्सहरू निर्यात गर्ने देशको संख्या आधा दर्जन पनि पुगेको थिएन । कोरोनासंग जुध्न हामी आफूसंग भएका परम्परागत र प्राचीन ज्ञान, विधि र सिकाइहरुलाई अझ अब्बल ढंगले प्रयोग गर्नुपर्ने आवश्यकता छ । अक्सिजनको लेवल बढाउने, फोक्सो तथा श्वासनली बलियो बनाउने आयुर्वेदिक औषधि तथा योगाभ्यास गराउने र अक्सिजनको सन्तुलित सम्प्रेषण र संकट व्यवस्थापन एवं सकारात्मक सोचाइका लागि ध्यानको श्रृंखलालाई टुट्न नदिने ।

भयंकर संकटमा पनि अविचलित रहेर संघर्ष गर्नुपर्छ भन्ने मनोवैज्ञानिक उर्जाले पनि आधा रोगलाई परास्त गर्छ । महामारी वा संकटलाई आफ्नो राजनीतिक रोटी सेक्ने अस्त्र बनाउनुपर्छ भन्ने दुषित मानसिकताबाट मुक्त भएर विश्वव्यापी सहकार्यमा जुटौं । भौतिक रुपमा अलग रहेरै एजेण्डामा जुट्नुपर्ने अवस्था भएकाले लकडाउन, सट डाउन वा निषेधाज्ञाको पालनाले पनि हामीलाई जोगाउन सक्छ । मानवीय क्रियाकलापको असन्तुलित अवस्थाले वायुमण्डल, पृथ्वी र ब्रम्हाण्डमै अफ्ठेरो परिरहेको अवस्थामा कोरोनाले जसरी आक्रमण गरिरहेको छ यसबाट जोगिँदा हाम्रा क्रियाकलापको नियन्त्रणले पृथ्वी र ब्रम्हाण्ड नै जोगिनेसम्मको सकारात्मक प्रभावको अपेक्षामा उर्जा निर्माण गरौं ।

विश्वव्यापी संकटको रुपमा रहेको कोरोना भाइरसको संक्रमण चेन ब्रेक हुँदा पनि नयाँ संस्करणहरु आउन सक्ने, नयाँ नामांकरण भएरै पनि आउन सक्ने समस्यातर्फ सोच्नका लागि यो उपयुक्त समय हो भन्ने बुझन् जरुरी छ । हरेक संकट नयाँ सम्भावना बोकेर आएको हुन्छ । श्वासप्रश्वास प्रणालीमाथि मुख्य प्रहार हुने गरी २०१९ को डिसेम्बरमा देखिएर २०२० को जनवरीबाट निमोनियाको असर र फोक्सोको आक्रमणबाट मृत्यु गराउने कोरोनाको श्रृंखलालाई टुटाउने संकल्पमा ध्यान दिऔं । त्यसका लागि वातावरण जोगाउने दीर्घकालीन दृष्टिलाई समेत बोकौं । अल्पकालीन समाधानका उपायहरुसंगै दीर्घकालीन सेफल्याण्डिङको रोजाइ पनि संकटको बेला देख्ने सपना हो ।