काठमाडौं, असार १३
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको तेस्रो खेलमा आज राति नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन्। डेनमार्क वेल्सलाई ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।
नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । तर, बलियो चेक रिपब्लिकविरुद्ध नेदरल्यान्ड्स सहज भएर खेल्नेछ । चेक रिपब्लिकले समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो ।
बलियो डच टिमविरुद्ध चेक रिपब्लिकलाई समेत सहज हुने छैन । तर, डच टोलीलाई पराजित गर्न चेक रिपब्लिकले योजना बनाएको छ । नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच सन् २०१५ पछि पहिलो पटक खेल्न लागेका हुन् । २०१५ को अक्टोबरमा भएको युरो छनोटमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई ३–२ ले हराएको थियो । यस्तै पछिल्लो ११ खेलमा चेक रिपब्लिकले ५ खेल जितेको छ ।
प्लेयर्स टु वाच
मेम्फिस डिपे :
नकआउट चरणमा नेदरल्यान्ड्सको मुख्य खेलाडी मेम्फिस डिपे हुनेछन् । किनकी २७ वर्षीय स्ट्राइकरले समूह चरणमा प्रभावशाली प्रदर्शन गरेका थिए । स्पेनिस क्लब बार्सिलोनामा हालै अनुबन्धित डिपेले समूह चरणको ३ खेलमा २ गोल गरिसकेका छन् । त्यसैले उनले चेक रिपब्लिकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने डच टिमले आशा लिएको छ ।
गोल गर्न र गोलका लागि असिस्ट गर्न माहिर डिपेले चेक टिमको डिफेन्स लाइनलाई व्यस्त बनाउने अनुमान गरिएको छ । डिपेले नेदरल्यान्ड्सका लागि ६७ खेलमा २८ गोल गरिसकेका छन् । उनले नेदरल्यान्ड्सको उमेर समूहबाट समेत खेलेका थिए । क्लब फुटबलमा डिपेसँग इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड, फ्रेन्च क्लब लियोन र पीएसभीबाट खेलेको अनुभव रहेको छ ।
प्याट्रिक शिक :
चेक रिपब्लिकका युवा अट्याकर हुन् प्याट्रिक शिक । जर्मन बुण्डेस लिगा क्लब बायर लिभरकुसेनबाट व्यवसायिक फुटबल खेलिरहेका उनी नकआउट चरणमा टिमको मुख्य हतियारको रुपमा रहेका छन् । समूह चरणको ३ खेलमा उनले ३ गोल गरेका समेत थिए । शारीरिक तथा प्राविधिक रुपमा बलिया प्याट्रिक लेफ्ट फुटेटु खेलाडी हुन् ।
उनी सेन्टर फरवार्ड र राईट विंगरबाट समेत खेल्न सक्छन् । २५ वर्षीय प्याट्रिकसँग चेक रिपब्लिकको यू(१६, १७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव समेत छ । राष्ट्रिय टोलीमा उनले २९ खेल खेल्दा १४ गोल गरेका छन् । प्याट्रिकसँग आरबी लाइपजिग, रोमा र साम्पाडोरियाबाट व्यवसायिक खेल खेलको अनुभव समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्