जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार २१:०९

अमेरिकाबाट निष्कासित ३७ नेपाली काठमाडौं आइपुगे


काठमाडौं, २५ जेठ । अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् ।

अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं फर्काइदिएको हो । नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ ।अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरूलाई पनि डिपोर्ट गर्दै आएको छ ।

ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको सङ्ख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्क छ ।डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरू धेरै रहेको स्रोतले जनायो ।

अमेरिकाबाट नेपालीहरू डिपोर्ट हुने शृङ्खला विगतका वर्षहरूमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्क छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिए मात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।