जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार २१:३८

समृद्धिको एजेण्डा नेकपा एमालेको एजेण्डा : पार्वत गुरुङ


दोलखा, २५ जेठ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले समृद्ध नेपाल निर्माणको लागि जनप्रतिनिधि र पार्टी मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले दोलखाले आयोजना गरेको जनप्रतिनिधि र पार्टी बिचको अन्तर्संवाद कार्यक्रमलाई चरिकोटमा सम्बोधन गर्दै गुरुङले समृद्ध नेपाल सुखी नेपाली बनाउनु पर्ने र बन्ने विश्वास व्यक्त गर्दै त्यो एमालेको प्रतिबद्धता भएको बताउनुभयो । एमालेले विगतदेखि उठाएका एजेन्डाहरू अहिले पनि पुरा गरेर अघि बढी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यी सबै काम समृद्ध नेपाली सुखी नेपालीको महान् उद्देश्य बोकेर गरिएको गुरुङले बताउनुभयो । ‘समृद्धिको एजेण्डा नेकपा एमालेले बोक्ने एजेण्डा हो’, उहाँले भन्नुभयो ।

अहिले विभिन्न पार्टीका नेताहरूले मैले बजेट ल्याए भनेर सामाजिक सञ्जालमा लेखिरहेका बताउँदै गुरुङले सो भ्रममा नपर्न आग्रह गर्नुभयो । विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएकोले जस अपजसको जिम्मेवारी एमालेले बोकेर हिँडेको उहाँले बताउनुभयो ।

दोलखामा धेरै गौरवका योजना परेका बताउँदै उहाँले त्यो एमालेले गरेको उहाँले बताउनुभयो । एमालले यस्ता योजना ल्यायाैँ भनेर कतै फेसबुकमा लेखेर नहिँडेको उहाँले बताउनुभयो । ‘अहिले जस लिनलाई मैले बजेट ल्याएँ भनेर फेसबुकमा लेख्नेहरूलाई देख्दा मलाई हास उठ्छ’, उहाँले भन्नुभयो ।

उहाँले अब दोलखाको अभियान सबै सडक कालोपत्रे गर्ने अभियान भएको उहाँले बताउनुभयो । यसका लागि स्थानीय तहले पनि योजना बनाउनु पर्नेमा गुरुङले जोड दिनुभयो ।

दोलखालाई अब अर्ग्यानिक दोलखा बनाउने योजना अघि सार्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘अब घर फर्को, प्रकृति तर्फ फर्कौँ, अब यो अभियान चलाऊँ’, उहाँले भन्नुभयो ।

अब किसानलाई बजारको अभाव हुन नदिने गरी योजना बनाउनु पर्ने गुरुङले बताउनुभयो । यसले किसानलाई समृद्ध बनाउने उहाँको धारणा छ ।