जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार १८:०९

अब नेपालमै सेक्स चेन्ज अपरेसन : त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा गरियो लिङ्ग परिवर्तन शल्यक्रिया


काठमाडौं, जेठ २५ । नेपालमा पहिलोपटक ट्रान्सजेण्डर समुदायका एक व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा नेपालमै पहिलोपटक उक्त शल्यक्रिया गरेको हो ।

‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विदेशी प्लाष्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजकत्वमा सो शल्यक्रिया सम्पन्न भएको हो ।

अप्रेशनहरुमा सो विभागका सम्पूर्ण प्लाष्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी डा. समीत शर्मा, डा. विकेश राजभण्डारी डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा हुनुहुन्थ्यो।

त्यस्तै डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको सहभागिता थियो तथा एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टीमले सहयोग गर्नुभएको थियो।

अबदेखि यस अस्पतालमा ‘जेन्डर एफर्मिङ क्लिनिक’ को स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्दै जाने डा. जयनमान श्रेष्ठले जानकारी दिनुभयो ।