जनता टाइम्स

८ असार २०७६, आईतवार १३:२४

रुपन्देहीको मझगाव मालपोतमा दुई महीनादेखि रजिस्ट्रेशन ठप्प


रुपन्देही, असार ८

रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महीनादेखि रजिस्ट्रेशनको काम हुन सकेको छैन । घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ ।

१७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा एक जना नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहालसहित आठ जना कर्मचारी रहेका छन् । घिमिरे र दाहालबाहेक अन्य छ जना करारका कार्यालय सहयोगी हुन् । नासु घिमिरेले निमित्तको जिम्मेवारी पनि पाउनुभएको छैन ।

यसअघिका कार्यालय प्रमुखका रुपमा आउनुभएको राजराजेश्वर त्रिवेदी तीन दिन हाजिर भएर गएपछि सम्पर्कमा आउनुभएको छैन । नासु घिमिरे र खरिदार दाहालले छ जना कार्यालय सहयोगीका भरमा कार्यालय खोल्ने, ठाडो रोक्का गर्ने, स्रेस्ता उतार, फुकुवाको काम मात्रै गरिरहनुभएको छ । मझगाव कार्यालयमा स्थायी दरबन्दी भएका कम्प्युटर अपरेटर लक्ष्मी भट्टराई पनि मझगाव नगई भैरहवास्थित मालपोतमा काम गरिरहनुभएको छ ।

कर्मचारी नहुँदा काम नै गर्न नसकिएको नासु घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागमा बारम्बार लिखित र मौखिकरुपमा कर्मचारी पठाइदिनुस्भन्दा पनि सुनुवाइ भएन । मान्छेहरु आउँछन् । किन यो काम हुँदैन । गर्नै पर्छ भन्छन्, दबाब दिन्छन् । तर मलाई निमित्तकोसमेत जिम्मेवारी छैन तथापि हामीले जसोतसो गरिरहेका छौँ तर रजिस्ट्रेशनको काम तीन जना नभई गर्न मिल्दैन त्यसैले गरेका छैनौँ ।”

विषादी जाँच गर्न नपाएपछि भन्सारमै रोकिए फलफूल र तरकारी

यसअघि विनाजाँच नेपाल भित्रिँदै आएको फलफूल र तरकारीको विषादी जाँचमा भन्सारमा कडाइ हुनथालेपछि अहिले रोकिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी अवशेष परीक्षण गरी दिएको प्रमाणपत्रको आधारमा मात्रै भन्सार पास दिने भनी गरेको परिपत्रअनुसार कानून लागू गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताउनुभयो ।

यता विषादी जाँच गर्ने प्रयोगशाला तथा उपकरण नहुँदा समस्या सिर्जना भएको छ । रुपन्देही जिल्लामै बुटवलस्थित फलफूल तथा तरकारी बजारमा उक्त उपकरण भएको भए तापनि सो ठाउँमा काम गर्ने कर्मचारीको कृषि निर्देशानालयमा सरुवा भएपछि उक्त उपकरण पनि प्रयोगविहीन भएको छ । विषादी अवशेष परीक्षण तत्काल सम्भव नभएको बेलहियामा रहेको प्लान्ट क्वारेन्टाइनले बताएको छ ।

क्वारेन्टाइन प्रमुख विष्णुप्रसाद काफ्ले भन्नुभयो, “पहिलो हामीलाई जाँचको निर्देशन नै छैन, दोस्रो उपकरण र दक्ष जनशक्ति छैन । जाँच नहुँदा भारतको कानपुर, बनारस,, फरिन्दा, अहमदावाद, हैदरवाद, बरेलीलगायतको क्षेत्रबाट तरकारी तथा फलफूल लिएर आएका गाडी भन्सारमै रोकिएका छन् । ” भैरहवा भन्सारबाट मात्रै दैनिक आलु, प्याज, तरकारीको ३५ भन्दा बढी गाडी र फलफूलको ३० भन्दा बढी ट्रकहरु भित्रिँदै आएका छन् ।