जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार १७:३२

नेपाली चलचित्र बजार – हल कि डिजिटल ?


काठमाडौं, असोज २३ । चलचित्रकर्मीहरुले नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेट फर्म दुवै भएको बताएका छन् । कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि डिजिटल भन्ने विषयमा असोज २२ गते हिजो अनलाइन मार्फत भएको बहसमा चलचित्रकर्मी तथा प्रदर्शकहरुले उक्त कुरा बताएका हुन् । अब बजार भनेकै डिजिटल प्रणाली भएकोले भन्दै अफ्नो नयाँ चलचित्र ‘एक‘ विभिन्न डिजिटल प्लेटमार्फत रिलिज गरेका निर्देशक मनोज पण्डितले यस प्रविधिको प्रयोगमा भने अन्यौल रहेको बताउनुभयो ।

चलचित्र प्रदर्शन गर्न सहज भएपनि डिजिटल प्रविधि सम्बन्धि जागरुकता कम रहेको र यसलाई क्रमश प्रविधिमैत्री बनाउनपर्ने उहाँले सुनाउनुभयो । त्यस्तै डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिजिटल प्रविधि विकासको प्रारम्भिक चरणमा रहेकोले अहिले पनि हल चलचित्रको पहिलो बजार र डिजिटल दोश्रो बजार भएको बताउनुभयो । उहाँले ठूलो लगानी हुने भएको हुँदा आफूले योजनाबद्ध तरिकाबाट कार्य गर्दै आएको र डिजिटल प्रविधिबाट नेपाली चलचित्रको बजार विस्तार हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा हल संचालक तथा निर्माता नरेन्द्र मर्हजनले हल र डिजिटल प्लेटफर्म दुवैलाई संगसंगै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । बजार जति बिस्तार भयो त्यतिनै निर्माता सुरक्षित हुने बताउँदै अब चलचित्रसंगै हल र डिजिटल प्लेटर्फलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै यही असोज २६ गतेबाट आफ्नो चलचित्र ‘डाँडाको वरपिपल‘ हलमा रिलिज गर्न लाग्नुभएको निर्देशक सोभित बस्नेतले हल संचालनमा आएकोले दर्शक आए/नआए पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफूले फिल्म प्रदर्शन गर्न तयार भएको सुनाउनुभयो । उहाँले भन्नुभयो,‘कसै न कसैले त जोखिम मोल्नु नै थियो, म तयार भएँ । हलपछि मात्र म डिजिटल प्रविधिमा जाने हो र डिजिटलले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको छ ।’

हलको बिषयमा अहिलेसम्म बहस नभएको र यस बिषयमा बहस गराएर नेपाल चलचित्र तथा संस्कृति प्रतिष्ठान राम्रो शुरुवात गरेको बताउँदै निर्देशक पण्डितले हलमा लक्जरी सिट, पर्दा भएपनि अब हल मनोबिज्ञान रुपमा पुरानो भएको बताउनुभयो । त्यस्तै उहाँले अवको चलचित्र प्रदर्शन स्वतन्त्र हुनुपर्छ भन्दै उक्त स्वतन्त्रता डिजिटल प्रविधिमा मात्र सम्भव भएको तर्क गर्नुभयो । वैकल्पिक प्लेटर्फमको अवधारण डिजिटल प्रविधिमा नै जोड दिइनुपर्ने पण्डितको भनाई छ ।

उहाँले निर्माता र फिल्मको स्तर अनुसार हल कि डिजिटल चयन हुनुपर्ने बताउनुभयो । बहस कार्यक्रममा डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सर्वर मार्फत चलचित्रलाई बिषेश रुपमा डिजिटल प्रचार–प्रसार गर्ने बिभिन्न प्रविधि ल्याएको बताउनुभयो । निर्देशक पण्डितले डिजिटल प्रविधिमा चलचित्र प्रर्दशन गर्दा पारदर्शिताको प्रश्न उठाउँदा आचार्यले डिस होम पारदर्शी भएको र सरकारलाई अहिलेसम्म आठ अर्व कर तिरेको दाबी गर्नुभयो । उहाँले अब कन्टेन्टलाई पनि दीर्घकालीन रुपमा सोचेर चलचित्र निमार्ण गर्नुपर्ने बताउनुभयो ।

विश्वव्यापीरुमा रहेका नेपाली दर्शकहरुले डिजिटल प्रविधिबाट नेपाली चलचित्र हेर्न थालेको अवस्थामा यसको बजार धेरै बिस्तार हुनेमा उहाँ विश्वस्त देखिनुभयो । उक्त सम्भावना देखेर नै आफूहरुले यस क्षेत्रमा कार्य गरिरहेको त्यसको परिणाम चाँडै आउने विश्वास गर्नुभयो । कार्यक्रममा चलचित्र निर्देशक बस्नेतले पहिलो प्राथमिकतामा हल र दास्रो डिजिटल प्लेटर्फमको पक्षमा आफू रहेको बताउँदै हलबाट पैसा उठ्ने तर डिजिटल प्लेटर्फमबाट मात्र लगानी उठाउन कठिन हुने बताउनुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्धारा आयोजित बहस कार्यक्रममा नेपाली चलचित्रलाई अव डिजिटल प्रबिधिबाट अगाडी बढाइनुपर्नेमा जोड दिइएको छ ।