रसुवा, २४ असोज । रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डको गहिराइ नाप्न सुरु भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रियाबारे जानकारी लिन गोसाइँकुण्डको गहिराइ नाप्न सुरु भएको हो । पर्यटन मन्त्रालयअन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्डलगायतका कुण्डको गहिराइ नाप्न सुरु गरेको हो ।
यसका लागि अनुसन्धानकर्ता वासुदेव न्यौपानेको नेतृत्वमा आभाष अर्याल, नवीन गुरुङ र विधान भण्डारी बिहीबार सदरमुकाम धुन्चेबाट गोसाइँकुण्ड गएका छन् । एक साताभित्रमा गोसाइँकुण्ड तथा वरिपरिका कुण्डहरूको गहिराइ नापिने अनुसन्धानकर्ता वासुदेव न्यौपानेले बताउनुभयो ।
गोसाइँकुण्ड वरिपरि रहेका कुण्डहरूमा पानी कति छ भनेर जान्नु महत्त्वपूर्ण भएकाले त्यहाँको अवस्थाबारे अनुसन्धान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । तालको सबैतिरको गहिराइ नापिनेसमेत उहाँले जानकारी दिनुभयो । तालको गहिराइका साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि नाप्ने भएको छ ।
अनुसन्धानपश्चात अनुसन्धानको प्रतिवदेन तयार पारिने उहाँले बताउनुभयो । यसमा थप अनुसन्धान गर्नका लागि अन्य अनुसन्धानकर्तालाई सहयोग पुग्ने विश्वास लिइएको छ । पर्यटकीय क्रियाकलाप संचालन गर्न, थप अध्ययन, अनुसन्धान गर्न सहज हुने उहाँले बताउनुभयो । पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एण्ड एजुकेसन टुरिजमको अवधारणालाई समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।
गोसाइँकुण्ड वरपर १६ वटा कुण्ड पनि रहेका छन् । गोसाइँकुण्डमा जेठ शुक्ल दशमीका दिन दशहरा र साउन शुक्ल पूर्णिमाको दिन ऋषि तर्पणी अर्थात् जनैपूर्णिमामा गरी वर्षको दुई पटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ ।
पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाँबाबा भगवान् शिव शंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आफूले चिताएका सबै मनोकांक्षाहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौँ हजार भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्छन् ।













प्रतिक्रिया दिनुहोस्