११ असार २०७६, बुधबार ००:००

चन्द्रशमशेरले बनाएको गद्दी बैठक खुल्ला गरिदै


काठमाडौं, असार ११

वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गरिने भएको छ । गद्दी बैठक खुला भएपछि शुल्क तिरेर अवलोकन गर्न पाइने छ । हाल इन्द्रजात्राका दिनमा मात्र गद्दी बैठक प्रयोगमा आउने गरेको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले प्रयोजनविहीन अवस्थामा राखिरहनुभन्दा इन्द्रजात्राका दिनबाहेक सर्वसाधारणका लागि खुला गर्नु उपयुक्त हुने बताउँदै भन्नुभयो, “आगामी इन्द्रजात्राभन्दा अगाडि अवलोकनका लागि खुला गर्ने योजना बनाएका छौँ । ”

गद्दी बैठक तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा बनेको हो । २०७२ सालको भूकम्पले क्षति पु¥याएको गद्दी बैठकलाई अमेरिकी सहयोगमा सबलीकरण गरिएको थियो । दुईतले भवनमा सबैभन्दा तल्लो तला खाली छ भने माथिल्लो तलामा गद्दी बैठक छ । कुनै समयमा नेपालस्थित विदेशी राजदूतले गद्दी बैठकमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्ने गर्दथे । विभिन्न उत्सवमा त्यहाँ पुगेका राष्ट्र प्रमुखहरूको सत्कारदेखि सुरक्षासम्मको प्रबन्ध गृह मन्त्रालयले गर्दै आएकोले अहिले पनि त्यहाँ गृह मन्त्रालयका दुई जना कर्मचारी खटिएका हुन्छन् । गद्दी बैठकमा खटिएका एक जना धोबी र एक जना बैठके दरबन्दीका कर्मचारी गृह मन्त्रालयअन्तर्गतका कर्मचारी हुन् । हनुमानढोका दरबारका कर्मचारीले प्रयोगमा नरहेको गद्दी बैठक र तल्लो तलाको सरसफाइ प्रत्येक साता गर्दै आएका छन् । गद्दी बैठकको ठीक पूर्वतर्फको भवनमा पहिले तेजारथ र मुलुकी खाना थियो ।

त्यस अड्डाका प्रमुख नकर्मीले गृह मन्त्रालयले पनि प्रयोग गर्दै आएकाले गद्दी बैठक खुला गर्ने सम्बन्धमा रायका लागि गृहमा पत्राचार गरिएको जानकारी दिनुभयो । डेढ मिटरभन्दा फराकिलो गारो भएको गद्दी बैठकको तल्लो तलामा राणा र शाहकालीन इतिहाससँग जोडिएका महत्वपुर्ण सामग्री राख्ने योजना बनाइएको छ । घाम नलाग्ने भएकाले तल्ला तला निकै चिसो छ । गारो निकै मोटो भएकाले सबलीकरण गरिएपछि मजबुत नै रहेको भनाइ अड्डाका कर्मचारीको छ । भूकम्पपछि हनुमानढोका दरबार परिसरभित्र रहेको त्रिभुवन, महेन्द्र र वीरेन्द्र स्मृति सङ्ग्रहालय बन्द छ । त्रिभुवन र महेन्द्र सङ्ग्रहालयका सामग्रीलाई दरबारको पूर्वीतर्फ रहेको खाली जग्गामा प्रिफ्याबको टहरा बनाएर राखिएको छ भने वीरेन्द्र सङ्ग्रहालयका सामग्रीलाई दरबार पछाडि रहेको गोलघरमा राखिएको छ ।

विगतमा त्रिभुवन स्मृति सङ्ग्रहालय रहेको राणाकालीन भवनमा साबिककै सङ्ग्रहालय राख्नेबारेमा टुङ्गो लागेको छैन । “त्यस भवनलाई प्रबलीकरण गरेर मात्र सङ्ग्रहालय सार्न सकिन्छ”, उहाँले थप्नुभयो, “नौतले दरबार र बुर्जा रहेको दरबारको पुनःनिर्माणपछि महेन्द्र र वीरेन्द्रका सङ्ग्रहालयलाई सार्न सकिने छ । ” चीन सरकारको आर्थिक सहयोगमा नौतले दरबार र बुर्जाको पुनःनिर्माण भइरहेको छ । आगामी सन् २०२१ सम्ममा यी भवन निर्माण सम्पन्न भइसक्ने छन् । प्रिफ्याब र गोलघरमा राखिएका सामग्री नबिग्रियून भनेर हरेक दुई हप्तामा सरसफाइ गर्ने गरिएको छ । हाल हनुमानढोका दरबार सङ्ग्रहालय अवलोकन गर्न जानेहरूले नासल चोक वरपरका साथै नयाँ बनाइएको सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । (गोरखापत्र)