जनता टाइम्स

१८ कार्तिक २०७८, बिहीबार १८:३१

तिहारबारे कमरेडको शून्य चेत ?



यो यौन सम्बन्धलाई थिति बसाल्ने विषयसित पनि सम्बन्धित रहेको भन्नुभएको छ । उहाँले बलि राज भनेको जुम्लाको काले गाउँका कल्याण वंशी एक बलशाली वा वलिष्ठ युवालाई चन्दननाथ नाम गरेका पण्डितले राजा घोषणा गरेको विषयसित जोड्नु भएको देखिन्छ । अनि तिनै राजाका समयमा देवी द्यौताका मन्दिरमा भाकल पूरा गर्न चढाएका केटाकेटीहरु देवदास वा देवदासीका रुपमा चिनिए । तिनलाई बलि राजाले अबदेखि तिमीहरुले मागेर जीविका गर्नु भनेको विषयसित तिहारको द्यौसीभैलो प्रचलनामा आएको भनाइ रहेको छ

प्रा.डा. बद्रीविशाल पोखरेल

वैदिक सनातन वा हिन्दू भनिएका दसैँ र तिहारजस्ता पर्वहरुका बारेमा नेपालमा दायाँ र बायाँ अतिवादी भड्काउवादी चिन्तन पाइन्छ । वायाँ भड्काउवाला प्रायः कम्युनिस्टहरु रहेका छन् । तिनले टीका, माला र फूल पनि लाउनु हुँदैन, लगायो भने जातै जान्छ भन्ने ठान्छन । तर माक्र्स र लेनिनको तस्वीरमा भने टीका, माला र फूल अर्पन्छन । कतिपय बाहिरबाहिर कान्तिकारी देखिन्छन तर घरको बुइँगलमा भने घन्टी बजाउँछन वा चर्च धाउँछन, चाडपर्वका सर्व प्राचीन परिपाटी बारे पूरै बेखवर रहन्छन । त्यति मात्र होइन कतिपय प्रगतिशील भनिने स्रष्टाहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेझैँ मित्रको आँखाले मित्रलाई हेर्न पनि आउँदैन । मदन भण्डारी साहित्य कला प्रतिष्ठानले तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा यस लेखकलाई यस्तै अनुभूति भयो ।

शार्दूल नामको वैचारिक सिर्जनाको पत्रिकाको विमोचनसहितको सारपूर्ण कार्यक्रम रुपका दृष्टिले धेरै कमजोर नै थियो । अझ पत्रिकाका बारेमा टिप्पणी गर्ने मन्जन र अधिकारी थरिको टिप्पणी अत्यन्त हचुवा थियो । सापेक्षता, व्यष्टि र समष्टि जस्ता माक्र्सवादी मूल्याङ्कनका मूल आधारलाई चटक्कै बिर्सिएर तिनले टिप्पणीका नाममा मनको बह मात्र पोखे । केही पहिले एकल कविता वाचन गर्ने यस लेखकलाई औताएर मन्जन उपनामी तिनैले पूर्वका माक्र्सभन्दा आफैलाई सरमको भारी भएको थियो तर शार्दूलमा प्रकाशित पङ्तिकारको संस्कृतिसम्बन्धी महत्वपूर्ण लेखको तिनले उछित्तो काडे । त्यतिमात्र होइन, यस लेखकलाई होच्याउने नियतबस काठमाडौँका एक प्राध्यापकको लेखको र लेखकको दुवैले पालैपालो अतिप्रशंसा गरे तर मोफसलको लेखकले मिजासका साथ भेट्ता तिनले सामान्य शिष्टता पनि देखाएनन् । आलोचना र प्रशंसा भन्दा माथि हुने यस लेखकलाई कर्तव्यको मात्र ख्याल हुन्छ ।

ओली र उहाँले नेतृत्व गरेको सरकारका सकार बारबार लेखेको देखेर ती दुवै भित्रभित्रै चिढिएको संकेत पहिले नै पाए पनि त्यहाँ त्यो स्पष्ट जाहेर भयो । अर्थात संस्कार र संस्कृति भनेको सरल हुँदै जटिलतिर जाने गर्छ । सामान्य, सर्सर्ती र सतही रुपमा हेर्दा विभिन्न अवयव भएको मानव आकृति मात्र देखिन्छ । भित्री मान्छे चिन्न र बुझ्न त्यति सजिलो छैन भने तिहारजस्ता पर्वका बारेका गुह्य कुरा बुझ्न त निधार खुम्च्याउनु पर्छ । त्यसैले प्रायः कमरेडहरु र कम्युनिस्टहरु जन्मदेखिमृत्यु सम्मका संस्कार र विभिन्न चाडपर्वका बारेमा अत्यन्त न्यून चेतका देखिएका छन । तिनलाई सांस्कृतिक रुपान्तरणबारे गम्भीर प्रशिक्षणको खाँचो देखिन्छ । तिहार भनेको यमराजले वहिनी यमुनाका घरमा गएर टीका लगाएको विषयमा मात्र सीमित छैन ।

नेपालमा तिहार वा भाइटीकाजस्तै अनेक पर्वहरू प्रचलित छन । सामाचखेवा, जितिया, राखी र चासोकतङनाम आदि पर्वहरु चेलीमाइतीका बीचको आदर र आदर्श सम्बन्ध स्थापित गर्ने युगान्तकारी पर्वहरू हुन । कतिपय चाडपर्वहरुका सर्वप्राचीन सही मान्यता अझै उजागर गर्न सकिएको छैन र यस विषयमा सत्यतथ्य खोज, प्रकाशन तथा प्रशारणको अझै अभाव रहेको छ । अझ तिहारसित मिलजुल्दा नेपालका विभिन्न पर्वहरुको विशद् अध्ययन गरेर प्रकाशन गर्नुपर्छ । प्रायः वैदिक सनातनी वा हिन्दू सम्प्रदायका भनिएका चाडपर्वहरुलाई समयक्रममा बिटुलो बनाइएको देखिन्छ । यी चाडहरुमा सामन्तवादी संस्कृतिको सार पक्ष कलात्मक हस्तक्षेपका साथ प्रवेश गराएको देखिन्छ । यसको प्रत्यक्ष उदाहरण सार्वजनीन, सार्वकालिक र सर्वजन सरोकार तथा उत्साहका चाडहरुलाई सामन्तवादले सङ्कुचित तथा संकीर्ण बनायो । तिनलाई एक जात, जाति, धर्म, र समुदायमा सीमित गरिदियो । त्यसैले सबै नेपाली सबै खुसी हुने र आनन्दित हुने दसैँ र तिहारजस्ता पर्वहरुलाई हिन्दूकरण गरिएको स्पष्ट देखिन्छ । एउटै चाडपर्व पनि बहुधामिक, बहुसांस्कृतिक तथा बहुभूगोलका जनताले बहुप्रकारले मनाएको विशेष स्थिति नेपालमा पाइन्छ ।

सुख, दुःख, हर्ष, शोक आदि मानवीय नैसर्गिक पक्ष हुन । जे जस्ता अनुभूतिहरु मानवले अनुभव गर्छ । त्यस अनुसारका अनुभूति गर्नु मानवजन्य स्वभाव हो । मानव जातिले जीवनलाई सहज, सुखी र सुन्दर बनाउन प्रकृतिसित मात्र होइन कृषि लगायत अनेक खालका उत्पादन संघर्ष गरेको देखिन्छ । यिनै श्रम संघषहरु भौतिक तथा आत्मिक संस्कृति निर्माणका मूल आधार हुन् । त्यसैले शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्न विभिन्न चाडपर्वहरु प्रारम्भ भएको पाइन्छ र नेवार समुदायले मनाउने म्ह ह पूजा अर्थात शरीरको पूजा, उभौली उधौली, हलसारो र हलेरो, भूमे पूजा पर्व वा चाड जात्री पर्र्वहरु शारीरिक तथा मानसिक पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएको स्पष्ट हुन्छ । चाडपर्वहरुमा ऋतु परिवर्तनको प्रभाव पनि परेको देखिन्छ ।

देश, काल, स्थान र धार्मिक सांस्कृतिक भिन्नताले गर्दा एउटै चाडका सार पक्षमा समानता भए पनि रुपहरुमा भिन्नता देखिन्छ । यसरी हेर्दा नामांकरण नै पृथक पाइन्छ । भारतको आसाम प्रान्तमा खेतीपाती गरेर घरमा अन्नबाली भित्¥याएपछि विभिन्न परिकारका खाद्यान्न र पक्वान्न पकाएर खाने भोगाली पर्व मनाइन्छ । तर त्यहाँ परिस्थिति फरक भएपछि रंङ्गाली अर्थात फागु वा होली पर्व मनाइन्छ भने जब घरमा अन्नवाली वा खाद्यान्न अभावग्रस्त अवस्था हुन्छ । त्यसबेला त्यसबेला झिलीमिली बत्ती बालेर मनाइने पर्वलाई कङ्गाली भनिएको आसामका लेखक रामचन्द्र उपाध्यायले बताए थिए । यो पर्व भारतका अधिकांश प्रान्तमा मनाइने दीपावली जस्तै हो ।

त्यसैले नेपालीको तिहार, भाइटीका नै हो । दीपावली मित्र राष्ट्र भारतीय जनताको पर्व हो । यो नेपालको तिहारमा भाइटीका लगाइन्छ । बरु राखी चाहिँ नेपालको तिहारसित सन्निकट रहेको छ । शब्दमा पनि संस्कृति ध्वनित हुन्छ । यस्ता कुरामा अत्यन्त सचेत भइएन भने र जथाभावी शब्द प्रयोग गर्न थालियो भने नेपालको सांस्कृतिक मौलिकतामा आँच आउने निश्चित देखिन्छ । मातृप्रधान समाजमा एउटै आमाका सन्तानहरुका बीच बिहेबारी गर्ने परिपाटीविरुद्ध सुरु गरिएको विषयसित पनि घनिष्ट रुपमा तिहार सम्बन्धित देखिन्छ । अब एउटै आमाका सन्तानहरुका बीच बिहेबारी गर्ने होइन, तिनीहरुका बीच चेलीमाइती जस्तो सम्मानित आदर र आदर्श सम्बन्ध कायम गर्ने युगान्तकारी पर्व हो तिहार ।

तिहार कात्र्तिक कृष्ण त्रयोदशीदेखि कात्र्तिक शुक्ल द्वितिया सम्म पाँच दिन मनाइने चाड हो । तिथिबार र त्यौहार हुँदै तिहार शब्द निर्मित तथा प्रचलित बनेको मानिन्छ । यो पर्व पनि कृषि कर्मको एउटा चरण पूरा गरेपछि पुनर्ताजगी प्राप्त गर्न मनाउन सुरु गरिएको चाड हो । तर यसको मूलमर्म यो संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा अझै ओझेल परेको छ । मातृ प्रधान समाजमा यौन सम्बन्ध स्वच्छन्द थियो । एउटै माताका सन्तानहरुका बीच विवाह हुन्थ्यो तर मानव त नरपशु हो अर्थात् पशुमध्येको श्रेष्ठ पशु हो । यसको ढिलो भए पनि बुद्धि आउँछ सही मान्यता स्थापित तथा समृद्ध गर्छ । आफूले नै अनजानबस सुरु गरेका गलत संस्कृतिलाई संशोधन र परिमार्जन वा परित्याग पनि गर्छ । तर पशुमा भने त्यस खालको विवेक र बुद्धि कहिल्यै पालउँदैन । त्यस मानेमा नरपशु वा मानव श्रेष्ठ हो र छ ।

त्यसैले स्वच्छन्द यौन सम्बन्धको परिपाटीलाई परित्याग गरी थिति बसाल्ने क्रममा तिहारजस्ता पर्वहरु मानव जातिले सुरु गरेको स्पष्ट हुन्छ । सर्व प्राचीन ग्रन्थ ऋग्वेदमा यम यमी नाम गरेका जुम्ल्याहा दाजु बहिनीको संवाद छ । त्यहाँ दाजुसित तरुनी भएकी बहिनी यमीले यौन सम्बन्ध गाँस्ने प्रस्ताव राख्छिन तर दाजुले तिमी यसका कामका लागि अर्कै पुरुष खोज, अब आइन्दा यस्तो काम गर्नु हुँदैन भनेका छन् । त्यसैगरी उद्दालक ऋषिकी आमालाई बाबुकै अगाडि अर्को एक ऋषिले यौन चाहना पूर्ति गर्न तत्कालीन मान्यताअनुसार हात समाएर तान्न खोज्दा उद्दालक ऋषिले प्रतिवाद गर्दै यस्ता रीत र प्रथा गर्न पाइन्न भनेको देखिन्छ । ऋषिपुत्रले हरेक नारीले आफ्नो सतमा बस्नुपर्छ भनेको देखिन्छ । प्रसिद्ध संस्कृतिविद् डा. जगमान गुरुङले १८९६ सालमा मुख्तियार रङ्गलालले पश्चिम नेपालको भ्रमण गर्दा त्यहाँ जैसी बाहुनहरुमा भान्जी अर्थात फुपूकी छोरीसित मामाका छोराहरुले विवाह गर्ने प्रचलनविरुद्ध रुक्का वा आदेश पत्र जारी गरेको उल्लेख गरेका छन ।

यस्ता अवशेषहरु नेपालमा अझै पनि पाइन्छ । कुमाइ बाहुन समाजमा सगोत्री विवाहको प्रचलन रहेको बताइन्छ । दक्षिण भारतमा अझै पनि भान्जी विवाह अर्थात् मामा चेला र फुपूचेली दाम्पत्य सम्बन्ध गाँस्ने प्रचलन रहेकोछ । नेपालका कतिपय जातिहरुमा अहिले पनि मामा चेला फुपूचेला सम्बन्ध गाँस्ने परम्परा रहेको देखिन्छ । त्यसैले तिहार जस्ता पर्वहरु ऐतिहासिक अत्यन्त महत्वपूर्ण चाड हुन । रामरमितो र पुनर्ताजगी प्राप्त गर्नु मात्र तिहार पर्वको विषय देखिन्न । चेली माइतीबीच एक अर्कामा आत्मीय र आदरपूर्ण सम्बन्ध कायम गर्ने पर्व सामाचखेवा र जितिया र चासोक तङनाम पर्व पनि हो । चासोक माने न्वाँगी र तङ्नाम माने उत्सव अर्थात चासोक तङ्नाम चाड तिहारसित मिल्दोजुल्दो रहेको छ । यस चाडमा पालाङ गाउँदै र धान नाच, नाचिन्छ । चेलीबेटीहरु कोसेली बोकेर माइत जान्छन् र नाता नपर्नेहरु मायाँ प्रीतिमा रमाउँछन् र हात समाइ नाच्छन् । यो पर्व प्रत्येक वर्ष मंसीर १९, २० र २१ गते मनाइन्छ ।

अहिले पनि तिहारका अवसरमा यमराज वा धर्मराज बहिनी यमुनाका घरमा गएर टीका लगाएको प्रसंग मात्र उल्लेख गरिन्छ । जब कि जगमान गुरुङले यम भनेको नियम पनि हो । यो यौन सम्बन्धलाई थिति बसाल्ने विषयसित पनि सम्बन्धित रहेको भन्नुभएको छ । उहाँले बलि राज भनेको जुम्लाको काले गाउँका कल्याण वंशी एक बलशाली वा वलिष्ठ युवालाई चन्दननाथ नाम गरेका पण्डितले राजा घोषणा गरेको विषयसित जोड्नु भएको देखिन्छ । अनि तिनै राजाका समयमा देवी द्यौताका मन्दिरमा भाकल पूरा गर्न चढाएका केटाकेटीहरु देवदास वा देवदासीका रुपमा चिनिए । तिनलाई बलि राजाले अबदेखि तिमीहरुले मागेर जीविका गर्नु भनेको विषयसित तिहारको द्यौसीभैलो प्रचलनामा आएको भनाइ रहेको छ । हुन पनि यस्तो प्रचलन त्यहीँ भारतको कुनै पनि प्रान्तमा नहनुले पौराणिक कालको बली राजा नभएर नेपालको बलि राजाको प्रसंग औचित्ययुक्त देखिन्छ । यसै विषयमा बलिहाङ राजाको विषय पनि प्रमुख रुपमा चर्चामा रहेको पाइन्छ । एउटै तिहार पनि नेपालमा विभिन्न रुप र स्वरुपमा प्रचलित भएको देखिन्छ । यस्ता विषयमा गम्भीर खोज जरुरी हुन्छ । संस्कृतिविद्का नाममा कतिपयले गणेशको सुँडको मात्र बखान गरेर अब हुँदैन ।

तिहारमा गरिने काग, कुकुर, गाई, गोरु र गोवर्धन पर्वतको पुजाले कृषि र पशु व्यवसायसित सम्बन्धित मर्म, महत्त्व र उपादेयतालाई उजागर गरेको छ । मानव जातिले आफ्ना हक, हित, सुरक्षा र सम्बर्धन गर्ने सजीव वा निर्जीव प्रकृति, वस्तु र पदार्थलाई सम्मान गरेको देखिन्छ । अझ गाईको सर्वाधिक उपादेयतालाई प्रत्यक्ष महसुस गरेर पूजा गरेको हो भने कृषिकर्ममा गोरुको सर्वाधिक महत्वलाई गम्भीर रुपमा महसुस गरेर पूजा गरेको स्पष्ट हुन्छ । त्यसैगरी चरिचरन क्षेत्र, पानीको मुहानजन्य पहाड पर्वत र नदीको पनि महत्व बुझेर पूजा गरेको स्पष्ट हुन्छ ।

चाडपर्व अन्तर्गत रहेका सर्व प्राचीन यथार्थ पक्ष र परम्परा बिर्सिएर यस सम्बन्धी मौलिकता स्थापित हुँदैन । चाडपर्वहरुमा समयक्रममा भित्रिएका अतिवादी धार्मिक र सांस्कृतिक सार पक्षहरु अवलम्बन गरेर पनि हुँदैन । तिनका प्रारम्भिक सुन्दर पक्षहरुको जगेर्ना गर्दै समय क्रममा तिनमा भित्रिएका नकार पक्षलाई हटाउँदै समय सापेक्ष रुपान्तरण गर्दै जानुपर्छ । संस्कृतिमा अन्तर्निहित सामन्तवादी संस्कृति सारजन्य कुप्रभावलाई अक्षरशः अनुसरण गरेर गणतन्त्र स्थपित र सुदृढ हुन सक्तैन । यति मात्र होइन प्रगतिशील तथा लोकतान्त्रिक समुन्नत संस्कृति निर्माण गरेर समृद्ध र समुन्नत संस्कृति निर्माण गर्ने हो भने यस क्षेत्रमा सरकारको ध्यान र मन जानु अपरिहार्य हुन्छ ।