संगिता आचार्य/चितवन। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । सोमवार साँझ सो पुल भाँचिएको हो ।
पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) यादव ढकालका अनुसार पुल भासिएको छ । एसपी ढकालका अनुसार मर्मत नगरी पुलबाट गाडी चलाउन सक्ने अवस्था छैन ।
उहाँले डाईभर्सनको प्रयास भइरहेको तथा सडक विभागलाई आफूहरुले खबर गरेकाले त्यहाँबाट प्राविधिक नआउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था नभएको जानकारी दिनुभयो ।
पुलमा म.प्र.०३-००१ क ३१६३ नंको (१८ चक्के टेलर) किलिङ्गर कच्चा पदार्थ बोकेर होङ्सी सिमेन्ट कम्पनीबाट बिरगञ्जतर्फ जाँदैगरेको टेलर पुलमा गुड्दै गर्दा पुल भासिएपछि यातायात अवरुद्ध भएको हो ।
पुल भाँचिएको ठाउँमा तत्काल डाईभर्सन गर्ने ठाउँ नभएको र नयाँ पुल पनि नबनेकाले लामो समय यातायात अवरुद्ध हुनसक्ने देखिएको छ । प्रहरीले ओभरलोड ट्रक पुलको बिचमा अड्किएको जनाएको छ ।
पुल भासिएपछि यात्रुहरू अलपत्र परेका छन भने सवारी साधनलाई आवागमनमा थप समस्या भएको छ। पुल कमजोर बन्दै गएपछि जोखिम कम गर्न डाईभर्सनमार्फत यातायातलाई एकतर्फी बनाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।
प्रहरीले यात्रु र चालकलाई सजग रहन आग्रह गरेको छ। पुल पूर्ण रूपमा बन्द भएपछि अन्य कुनै वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल पनि भाँचिएको थियो । पुल भाँचिएपछि बनाइएको डाईभर्सन पनि दुई पटकसम्म खोलाले बगाउँदा यातायात आवागमनमा समस्या भएको थियो ।
यसअघि नवलपुरको गैँडाकोटको जय श्रीपूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यी पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्