सम्झना कार्की, सिन्धुपाल्चोक । दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेको छ । यो व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरीरहेका छैनन् जिल्लाका युवाहरूको आइडल पनि बन्नुभएको छ ।
कुमार सापकोटा, माधवराज सापकोटा, टोपनाथ सापकोटाले सुरू गरेको भैंसी पालनबाट आकर्षित भएर साँगाचोकगढीका अरु युवा पनि अहिले भैंसीपालन गर्न थालेका छन् । सापकोटा बन्धुहरुले करिब ५५ लाखमा सुरू गरेको भैंसीपालनबाट अहिले माहिना मै साढे ४ लाखसम्म आम्दानी गरिरहेका छन् ।
सिन्धु–कुभिण्डे कृषि फर्म खडा गरेर उनीहरूले ११ वटा भैंसीबाट व्यवसाय सुरु गरेको बताउनु भयो । अहिले २१ वटा भैंसी र १७ वटा पाडापाडी रहेको फर्म सञ्चालक कुमार सापकोटाले जानकारी दिनुभयो । ‘अहिले व्यवसायिक रूपमा भैंसीपालन सुरू गरेपछि उत्पादित दूधको माग बढिरहेको छ तर भैंसीलाई दिने घाँस, दानाको महङ्गी बढेअनुसार दूधको भाउ नहुँदा दुःख लाग्छ, मल धेरै हुने भएकाले भैंसी पालनसँगै थोरै मात्रामा तरकारी पनि लगाएका छौँं,’ सापकोटाले भन्नुभयो । दूध प्रतिलिटर सय रुपैयाँमा बिक्री गर्ने गरेको उहाँले बताउनु भयो ।
पार्टनरसीपकै साथीहरूको जग्गामा भैंसी फर्म छ भने फर्मको नाममा भएको करिब ३६ रोपनी जग्गामा भैंसीका लागि आवश्यक पर्ने घाँस लगाएको छ । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसमअनुसारको तरकारी खेती गरेको उहाँको भनाइ छ । सो मलमुत्र घाँस र तरकारीमा हाल्ने गरेका छन् ।
उत्पादित दूध जिल्ला सदरमुकाम चौतारा बजारमा लगेर बिक्री गर्ने गरेको उहाँहरूको भनाइ छ । करिब एक लाख ५० हजार हाराहारीमा खरिद गरेको भैंसीले दैनिक १४ लिटरसम्म दूध दिने गरेको छ ।
६ जनालाई रोजगारी
फर्ममा ६ जनाले रोजगारी समेत पाएका छन् । उनीहरूले भैंसीलाई आवश्यक हेरचाह गर्नुका साथै दूध दुहुनेलगायतका काम गर्दै आएका छन् । दैनिक १२० देखि १२५ लिटर दूध उत्पादन गरिरहेका उनीहरूले हरेक दिन बिहानै चौतारा बजार पुर्याएर बेच्ने गरेका छन् । अर्का सन्चालक मधवराजले यस व्यवसायबाट आत्मसन्तुष्टि मिलेको बताउनु भयो । परिवारसँग बसेर काम गर्दा सहज र खुसी मिल्ने उहाँको भनाइ छ ।
कुमार सापकोटा र माधवराज सापकोटा वैदेशिक रोजगारीबाट फर्किनु भएको हो । टोपनाथ भने गाउँमै परम्परागत सैलीमा कृषि गर्दै आउनु भएको थियो । तीन युवाले सञ्चालन गरेको फर्म यो क्षेत्रकै उदाहरणीय बनेको छ। खाडी मुलुकमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने उहाँहरूको अनुभव छ।
प्रतिक्रिया दिनुहोस्