जनता टाइम्स

२० असार २०७६, शुक्रबार १२:१०

फस्टाउँदै कस्मेटिक ब्यवसाय : प्रत्येक घरबाट हुन्छ ५ देखि ७ हजारसम्मको सौन्दर्य सामग्री खपत


लक्ष्मी पौडेल (रन्जित)

सौन्दर्यप्रतिको चेतसँगै नेपाली नागरिकमा सौन्दर्य सामग्री प्रयोगमा बढ्दो रुचि देखिन थालेको छ । केही दशकअघिसम्म सौन्दर्यका क्रिम लगाउँदा छाला बिग्रने, स्याम्पुले नुहाउँदा कपाल झर्नेजस्ता धारणा व्याप्त थियो । तर, अहिले त्यो धारणा बिस्तारै हराउन थालेको छ । बजारमा गुणस्तरयुक्त सौन्दर्यका सामग्रीको उपलब्धतासँगै यसको उपभोग पनि बढ्दो छ ।

अहिले सरसर्ती हेर्दा मुलुकका ठूला हुन् वा साना सहर सबैतिर कस्मेटिक पसल देख्न सकिन्छ । आँकडाअनुसार करिब १२ हजार कस्मेटिक व्यवसायी यसमा संलग्न छन् । यसका अतिरिक्त किराना पसल, डिपार्टमेन्ट स्टोर, सैलुन, ब्युटिपार्लर, फेन्सीस्टोर, मेडिकलबाट पनि सौन्दर्यका सामग्री बिक्री हुने गर्छ । हाम्रो अध्ययनमा प्रत्येक घरबाट ५ देखि ७ हजार रुपैयासम्मको सौन्दर्य सामग्रीको खपत हुने गर्छ ।

गाउँमा भन्दा सहरमा यसको खपत अझ बढ्दो छ । गाउँका भन्दा सहरका नागरिक चार गुणा बढीले सौन्दर्य सामग्री खपत गर्ने गर्छन् । यो सामग्री प्रयोगमा अब उमेरको छेकबारसमेत हुन छाड्यो । बालबालिकादेखि वृद्धसम्मले प्रयोग गर्छन् भने नारी–पुरुष सबैले सौन्दर्यको सामग्री प्रयोग गरेकै हुन्छन् ।

यति हुँदाहुँदै पनि हामीले सौन्दर्यको सामग्री बेच्नेदेखि उपभोक्तासम्मले के बुझ्नु जरुरी छ भने सकभर गुणस्तरीय सामान मात्र बेचौँ, किनौँ । उपभोक्ताको स्वास्थ्य र छालामा प्रत्यक्ष असर गर्ने सामान विक्रेताले पनि बेच्ने काम नगरौँ । उपभोक्ताले पनि सकभर गुणस्तरीय नै सामान रोज्ने गरौँ । बजारमा सिसा, मर्करी, क्रोभिएम, टिटामियमको प्रयोग भएका कमसल उत्पादन पनि नभेटिने होइन । त्यतातर्फ पनि सचेत रहनु जरुरी छ । र, मैले भनिरहनुपर्दैन । केही वर्षयता, गुणस्तरीयतामा कुनै सम्झौता नगर्ने उपभोक्ता पनि पाएको छु ।

निश्चय नै हाम्रो देशमा कस्मेटिकका सामान उत्पादन गर्ने कम्पनी न्यून छ । त्यसैले आयातमा निर्भर हुनुपरेको छ । नेपालमा चीन, भारत, कोरिया, थाइल्यान्ड, अमेरिका, फ्रान्स, जर्मन, दुबई, जापानबाट सौन्दर्यका सामग्री आयात हुने गर्छ । विशेष गरेर चीन र भारतबाट धेरै मात्रामा सौन्दर्यका सामग्री भेटिने गर्छ । यी मुलुकबाट नेपालीको औसत आम्दानीलाई लक्षित गरेर सामग्री आयात गरिने भएकाले केही कमसल वस्तु पनि आयात भइरहेका छन् । त्यतातर्फ भने सबैले सोच्नुपर्छ ।

हाम्रो संस्था आफ्नो हितका लागि मात्र पनि स्थापना भएका होइन, हामी उपभोक्ताको हितलाई हेरेर काम गर्दै आएका छौँ । उपभोगका सम्बन्धमा वेलावेलामा अन्तक्र्रिया कार्यक्रम गर्दै आएका छौँ । व्यावसायिक समस्या, राज्यका नीति, करसम्बन्धी नियम र व्यवसाय दर्ताका विषयमा परामर्श दिँदै आएका छौँ ।

यो व्यवसाय स्थापना गर्न धेरै पुँजीको आवश्यकता पर्दैन । आफ्नो जेथाअनुसार जति लगानीमा पनि यो व्यवसाय सुरु गर्न सकिन्छ । तर, विडम्बना हाम्रो मुलुकमा सौन्दर्य प्रसाधनका उद्योग छैनन् । जतिले व्यवसाय गर्न चाहे पनि आयातमै निर्भर रहनुपरेको छ । यसले भने अर्थतन्त्रमा केही असर परेको छ । सरकारले साथ दिएमा नेपाल हर्बल उत्पादनका लागि धेरै नै उर्वर भूमि हो । नेपाललाई विश्वमै जडीबुटीको देश भनेर चिनाउन सकिने थुप्रै आधार छन् । लगानी भित्र्याउन कुनै समस्या पर्दैन । तर, सरकारी चासो त्यति पाइएको छैन । हामीले बारम्बार सरकारलाई घचघच्याइरहेका छौँ ।

तर, सरकारले सौन्दर्य सामग्री उत्पादन गर्ने उद्योगतर्फ सरकारी नीति ल्याउनु जरुरी छ । यस विषयमा अध्ययन अगाडि बढाउन सम्बन्धित विज्ञ र सौन्दर्य सामग्री व्यवसायी र लगानीकर्ताबीच समन्वय गरी अगाडि बढ्न सकेमा कस्मेटिक उद्योगलाई उर्वर बनाउन सकिन्छ । त्यसो हुन सके गुणस्तरीय कस्मेटिक सामग्री उपभोक्ताले अझ गुणस्तरीय सामग्री पाउनेमा कुनै दुविधा रहनेछैन ।

(पौडेल नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष हुन )