जनता टाइम्स

३ बैशाख २०७९, शनिबार ०८:२०

अर्थमन्त्री र शाहको शंकास्पद ‘कनेक्सन’ : “२०७७ मै ८० हजार डलर नेपाल भित्र्याएका थिए”


काठमाडौँ, बैशाख ३। अर्थमन्त्री जनार्दन शर्माद्वारा संरक्षण गर्न खोजिएका अछामको दर्ना ८ का पृथ्वीबहादुर शाहको गैरकानुनी धन्दाको रहस्य एकपछि अर्को गर्दै खुल्दै गएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शाहको गैरकानुनी धन्दामा अवरोध बनेपछि अर्थमन्त्री शर्माले गभर्नरलाई नै निलम्बित गराउनुभएको थियो । यस प्रकरणसँगै अर्थमन्त्री शर्मा विवादमा तानिनुभएको छ । संदिग्ध शाहको विभिन्न गैरकानुनी धन्दाको कनेक्सन खुल्दै जान थालेको छ । शाहले अमेरिकाबाट ४० करोड रुपैयाँबराबरको शंकास्पद रकम भित्र्याउन चलखेल गर्दै आइरहेका थिए ।

कालोधनलाई सेतो बनाउने प्रपञ्च’दयगत अनुसन्धान गर्ने अमेरिकी सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)ले शाहको सो रकम र त्यसको लगानीको स्रोत’दयगत शंका गर्दै नेपाल राष्ट बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । अमेरिकाको सो पत्रअनुसार राष्ट्र बैंकले शाहको रकम रोक्का गर्दै त्यसको विस्तृत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको सो पत्राचारसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थाले पनि अर्थमन्त्री शर्माले विभिन्न पक्षलाई प्रयोग गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानलाई पनि सुस्त बनाउन खोजेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसरी कहिले भारु र कहिले डलर कारोबारले विवादमा आउने उनी अरु कसैको पैसा ओसारपसार गर्छन् भन्ने बुझिएकाले थप अनुसन्धान भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतको भनाइ छ । अवैध अर्थोपार्जन गर्ने उद्देश्यले संगठित गिरोह बनाई नेपालमा प्रतिबन्धित भारु ल्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ जेठ २०७४ मा १५ जनालाई पक्राउ गरेको थियो । ‘प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना आएको थियो । गौरीघाटस्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ फेला परेको हो,’ सीआईबीले उठाएको मुचुल्कामा भनिएको छ, ‘त्यस्तै अर्को दिन ३ जेठमा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा ३ वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो ।’ यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद भएका थिए ।प्रहरी स्रोतका अनुसार ३ गाडीसहित २ करोड १६ लाख ६१ हजार भारु सीआईबीले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । त्यतिबेला पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाह पनि थिए ।

तर त्यो भारु काण्डदेखि यो डलर काण्डका बीचमा उनी अरु पनि शंकास्पद कारोबारमा मुछिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘बीचमा पनि उनीमाथि छानबिन भएको थियो किनकि त्यो बेला पनि ५० करोडभन्दा धेरै रकम उनको खातामा आएको थियो, यो रकमबारे प्रहरीको सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका थिए । तर उनले शक्ति प्रयोग गराएर रकम उम्क्याए ।’सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘पटक–पटक शंकास्पद रकम आउँदा पनि रकम छुटाउन सक्ने गरी उनको पछाडि को छ ? यसको मतलब उनी प्रयोग मात्र भएका हुन्, रकम अरू कसैको हो भन्ने पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।’कारोबारी शाहको पृष्ठभूमिले नै अर्थमन्त्री जनार्दन शर्माको दाबीलाई खण्डित गरेको छ । शुक्रबार एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री शर्माको भनाइ थियो, ‘राज्य, सरकार, मन्त्री भएपछि मलाई मर्का पर्‍यो, मलाई अन्याय भयो भन्दै मानिस आउँछन् । अन्याय पर्‍यो भने बोली दिने काम हाम्रो होइन ?’ शर्माले भने जस्तै शाह सोझासिधा व्यवसायी होइनन्, बरु नोटको अवैध कारोबार गर्ने गिरोहका सदस्य हुन् भन्ने प्रहरीकै फाइलले देखाएको छ । पछिल्लो पटक अमेरिकाबाट ४० करोड रुपैयाँ बराबरको रकम भित्र्याउन खोजेको भन्ने आरोप लागेका शाहले विभिन्न कम्पनीहरु खोली शंकास्पद रकम नेपाल भित्र्याउन खोजेको भेटिएको छ ।

कम्तिमा पनि आधा दर्जन कम्पनी खोलेका उनले एउटै विवरण र व्यहोरा राखेर आफ्नो कम्पनीमा अमेरिकाबाट रकम भित्र्याउने प्रयास गरेका कागजातहरु फेला परेको छ । शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । त्यसक्रममा केही रकम अमेरिकाबाट नेपाल भित्रिइसकेको पनि थियो । वित्तीय शुद्धिकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । त्यसका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दवाव दिएको विवरण खुलासा भएको थियो । त्यसलगत्तै सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन समिती गठन गरेर उनलाई निलम्बन गरेको थियो । विवादास्पद कारोवारमा संलग्न शाहले पत्रकार सम्मेलन गरेर आफूले जायज रुपमा रकम ल्याउन खोजेको दावी गरेका थिए ।

हाँ कहाँबाट लगानी ?

पृथ्वीबहादुर शाह र अरु केही व्यक्तिहरुले वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि., वल्र्ड फस्ट होलिडे प्रा.लि., वल्र्ड वाईड रेमिट प्रा.लि., वल्र्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि. टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि. स्थापना गरी अमेरिकाका विभिन्न ठाउँबाट रकम भित्र्याएको विवरणबाट देखिन्छ ।
प्राप्त विवरण अनुसार, फरकफरक नामबाट शाहले खोलेका कम्पनीले अमेरिकामा ‘मिसन होलिडे एलसीसी’ नामक कम्पनीसँग सम्झौता गरेको दाबी गरेका छन् । तर अमेरिकाबाट रकम पठाउनेमा उक्त कम्पनी नभई विभिन्न व्यक्तिहरुको नाम छ ।

प्राप्त कागजात अनुसार, शाहको कम्पनी वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा।लि।ले ७ पुस २०७७ मा मिसन होलिडे एलसीसी नामक अमेरिकी कम्पनीसँग सम्झौता भएको देखाई ३५ हजार ९०० अमेरिकी डलर नेपाल भित्र्याएको थियो । तर, रकम उक्त कम्पनीले नभई क्याथरिन ग्रिन भन्ने व्यक्तिबाट आएको देखिन्छ ।

तिनै व्यक्तिले भोलिपल्ट अर्थात ८ पुसमा थप २९ हजार ८०० अमेरिकी डलर नेपाल पठाएका थिए । ९ पुसमा वल्र्ड वाईड रेमिट प्रालीलाई अमेरिकाको भर्जिनियाबाट रोवर्ट लाइट नामक व्यक्तिले थप ८० हजार अमेरिकी डलर पठाएको विवरणबाट देखिन्छ ।

नेपालमा कोरोना संक्रमण चरम अवस्थामा पुगेको र त्यसपछि मुलुकको आर्थिक स्थिति कमजोर भएका बेला अमेरिकाबाट पर्यटकहरुको शुल्क संकलन गरेको भनी रकम नेपालमा पठाउने प्रयास भएको देखिन्छ । त्यतिबेला नेपालमा पर्यटकहरु भित्रिएको पत्यारिलो विवरण पेश नभएको राष्ट्र बैंक स्रोत बताउँछ ।
यो कारोवारमा वल्र्ड फस्ट होलिडे प्रालि पनि जोडिन्छ । उक्त कम्पनीका सञ्चालक विजयविक्रम शाहले ६ पुस २०७७ मै ८० हजार अमेरिकी डलर नेपाल भित्र्याएका थिए । अमेरिकाको न्यू्योर्कबाट जुडी अनान सकरिनले त्यो पैसा नेपाल पठाएका थिए ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार, बिनोद सुन्दास सञ्चालक रहेको टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि. नामक कम्पनीले ६ जेठ २०७८ मा अमेरिकाबाट ३ लाख ५० हजार अमेरिकी डलर भित्र्यायो । त्यसैगरी अर्का व्यक्ति लक्ष्मण रेग्मीको नाममासमेत रकम भित्रिएको देखिन्छ । पृथ्वीबहादुर शाह सञ्चालक रहेको वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट कम्पनीमा काम गर्ने कर्मचारीका रुपमा आफूलाई चिनाएका रेग्मीले १७ चैत २०७७ मा ४ लाख डलर भित्र्याएका थिए । उनको कम्पनीले मिसन होलिडे एलसीसी नामक अमेरिकी कम्पनीसँग सम्झौता गरेको दाबी गरे पनि जोन स्करिया नामक व्यक्तिले उक्त रकम पठाएका थिए ।

किन ल्याइयो रकम ?

विवादमा तानिएका ३४ वर्षीय शाहले गरेको दाबी अनुसार, उनले अमेरिकाका विभिन्न कम्पनीहरुसँग नेपालमा पर्यटक भित्र्याउनेवारे सम्झौता गरेका थिए । सम्झौता अनुसार अमेरिकामा रहेको कम्पनीले त्यहाँका नागरिकलाई नेपाल भ्रमणमा आउन उत्प्रेरित गर्नुपर्थ्यो ।

नेपाल भ्रमणमा आउने निश्चित गरेमा अमेरिकी नागरिकहरुले यातायातदेखि नेपाल बसाईका क्रममा हुने खर्च, स्वास्थ्य उपचार बीमालगायतको रकमसमेत उतै भुक्तानी गर्ने शाहको दाबी छ । उनले त्यहाँको कम्पनीबाट उक्त रकम आफू र यहाँको कम्पनीको नाममा नेपाल भित्रिने गरेको दाबी गरेका छन् । त्यही क्रममा राष्ट्र बैंकलगायतका निकायले नेपाल भित्रिइसकेको आफ्नो कम्पनीको रकम रोक्का गरेको उनको भनाइ छ ।

आधा दर्जन कम्पनीमध्ये एउटाको सञ्चालकमा विजयविक्रम शाह छन् भने अर्कोमा लक्ष्मण रेग्मीलाई कर्मचारी भनी चिनाइएको छ । कम्पनीको नाममा आएको रकमसमेत व्यक्तिको खातामा जम्मा भएको भेटिएको छ । कारोवारको विवरण थाह पाएपछि नेपाल राष्ट्र बैंकले व्यक्तिको खातासमेत रोक्का गरेको छ । विभिन्न फाइल र विवरणहरुले पृथ्वीबहादुर शाहसँग जोडिएका कम्पनीमा अरु दुई फरक व्यक्तिलाई सञ्चालक भनी देखाइएको छ । तर, सबै कम्पनी शाह सेरोफेरोका व्यक्तिको रहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
शाह जोडिएका यी कम्पनीहरुको कारोवार र कर चुक्ताको विवरणले समेत अमेरिकाबाट लेनदेनका क्रममा रकम भित्रिएको दाबी पुष्टि हुन नसक्ने स्रोतले बतायो । राष्ट्र बैंक स्रोतले भन्यो, ‘अमेरिकाबाट भित्रिएको र अलि ठूलो आकारको भएकै आधारमा मात्रै लामो समयदेखि बैंक खाता रोक्का गरिएको होइन ।’

पृथ्वीबहादुर शाहले अदालतमा गरेको दाबी अनुसार, उनका कम्पनीसँग अमेरिकाका विभिन्न कम्पनीले सम्झौता गरेका छन् । तर, नेपालका उनका सबैजसो कम्पनीसँग अमेरिकाको मिसन होलिडे एलसीसी बाहेकका कम्पनीसँग मात्रै सम्झौता भएको उनले राष्ट्र बैंकमा पेश गरेको विवरणबाट खुल्छ ।

उनको दाबी अनुसार सम्झौतापत्रमा चारवटा विषय समावेश छन् । शाहको दाबीमा अमेरिकाका ती कम्पनीहरुले संकलित रकम नेपालमा उनको कम्पनीलाई बुझाएका हुन् । शाहले नेपाल भित्र्याएको कुल रकम १३ लाख ७५ हजार ३५० अमेरिकी डलर हुन आउछ । प्रति डलर १२० रुपैयाँका दरले हिसाव गर्दा यो रकम करिब १६ करोड ५० लाख रुपैयाँ हुन्छ । उनले यसबाहेक अरु रकम समेत भित्र्याउने प्रयास गरेको राष्ट्रबैंक स्रोत बताउँछ

प्रधानमन्त्री कार्यालयका अनुसार शर्मा अर्थमन्त्री भएपछि संदिग्ध प्रवृत्तिका शाहले शंकास्पद ४० करोड रुपैयाँ नेपाल भित्र्याउन अर्थ मन्त्रालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धाउने क्रम बढाउनुभएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत छ । त्यसैले अर्थमन्त्री शर्माले यस प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रयोग गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि अनावश्यक हस्तक्षेप बढाउन खोजेको स्रोतको दाबी छ । यद्यपि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने कसैको दबाब आए पनि त्यसलाई अस्वीकार गरी शंकास्पद रकम’दयगतको अनुसन्धानलाई सशक्त पारिने जनाएको छ ।