जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १७:२५

बाढीको बितण्डा : मोरङमा मात्रै २ हजार परिवार बिस्थापित, यसरी उद्दार गर्दैछ प्रशासन


बिराटनगर, असार २७

लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा १९ सय २० घर परिवार विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने शुकुम्बासी घर परिवार रहेका छन् । केही दिनदेखि लगातार आएको अबिरल बर्षापछिको बाढीले ती परिवार बिस्थापित भएका हुन । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ ।

केसीका अनुसार बाढीका कारण सबैभन्दा बढी विराटनगर महानगरपालिका वडा नम्बर १, ८, ६ र १६ प्रभावित बनेको छ । साथै जहदा गाउँपालिका ८, कटहरी गाउँपालिका ४ र धनपालथान गाउँपालिकाको ४ तथा ५ नम्बर वडाका घरहरु डुबानमा परेका छन् । विस्थापितहरुलाई नेपाल रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको छ । स्थानीय प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको जानकारी दिएको छ ।

बर्षासँगै डुवानमा परेर घरभित्र पानी पसेपछि स्थानीयबासी त्रसित बनेका छन् । घरमा पानी पसेपछि खान बस्न समस्या भएको कटहरी ४ की सरोदेवी शर्माले बताउनु भयो । ‘घरभित्र सबै पानी पसेको छ, खाना पकाउने र बस्न सक्ने अवस्था छैन, दिनभरी त सबैतिर पानी पानी रमिता हेर्दै बित्छ तर राती के गर्ने ?’ शर्माले भन्नुभयो । कटहरी गाउँपालिका ४ स्थित भगवती टोल, फुलटोल मदुरा र गन्नु टोल बढी प्रभावित भएको छ । फुलटोल मदुरामा मात्रै १ सय २ घर बाढीले गर्दा विस्थापित बनेको छ ।

यस्तै कटहरी ४ नम्बर वडामा मात्रै २ सय बढी घर बाढीले प्रभावित बनेको वडाध्यक्ष मन्टु सेखले जानकारी दिनुभयो । घरभित्र पानी पसेका कारण खाना पकाउन समस्या देखिएपछि चिउरा, भुजा र चाउचाउ राहत वितरण गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा आएको बाढीले हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन् ।

अन्दाजी २५ वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकल सहित बगाएको थियो । उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । प्रमुख जिल्ला अधिकारी केसीले मोरङका बक्राहा, लोहन्द्रा, सिंघीया र केसलीया खोलामा पानीको बहाब बढेकाले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको जानकारी दिनुभयो । केसीका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहहरुलाई सचेत गराएको छ ।

हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन भएको र सबैले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहात र क्षतिपूर्तीको प्रवन्ध गर्नसक्ने अवस्था सृजना गरेको उहाँको भनाई छ । सबैसँग सरदर करोडको हाराहारीमा विपद् व्यवस्थापन कोष रहेको छ । जिल्लाको विपद् व्यवस्थापनको कामलाई सात क्लष्टरमा विभाजन गरेर सबै क्लष्टरलाई तयारी अवस्थामा राखिएको केसीले जानकारी दिनुभयो । समन्वय तथा सूचना खोज उद्धार क्लष्टरको नेतृत्व जिल्ला प्रशासन कार्यालयले गर्ने छ ।

अस्थायी आवास र गैह्र खाद्य क्लष्टरको नेतृत्व भवन डिभिजन कार्यालयले गर्छ भने आपतकालीन शिक्षामा जिल्ला शिक्षा समन्वय इकाइले नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । यस्तै स्वास्थ्य तथा पोषणको काम जिल्ला जनस्वास्थ्य कार्यालयले, खाद्य सुरक्षा र जीविकोपार्जनको क्लष्टरको काम रेडक्रस र गैरसरकारी संस्थाहरुले गर्नेछन् । बन्दोबस्तीको सामान उपलव्ध गराउने काम रेडक्रसलाई दिइएको केसीले बताउनु भयो । यस्तै लोहन्द्रा खोला र जुडि खोलाका कारण तरकारीको पकेट क्षेत्र कटहरी गाउँपालिकामा लगाइएको तरकारी खेतिसमेत डुबानमा परेको छ । बाढीका कारण प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत कटहरीमा लगाइएको एक सय १० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी खेति डुबानमा परेको हो ।

एक सय ४० जना किसानहरुको सहभागिता रहेको तरकारी ब्लकमा घिरौला, कांक्रा, भिन्डी, बोढी, भन्टा, लौका, करेला लगायतका तरकारी डुबानमा परेको स्थानीयबासीको भनाई छ । सो खेतीमा लगभग तिन फिट पानी जमेको छ । यस्तै जहदा गाउँपालिका ४ का नन्दकिसोर मरण्डीको १० कठ्ठामा लगाइएको भन्टा, ६ कठ्ठा कांक्रा, ६ कठ्ठा बोढी र ४ कठ्ठामा लगाइएको घिरौला डुबानमा परेको छ । बर्षा बढदै गएपछि बिराटनगर बजारसमेत डुवानमा परेको छ ।