काठमाडौं, बैशाख २८ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीति जनताको जीवनसँग जोडिएको बताउनुभएको छ ।
नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको स्वर्गीय नेता पशुपति चौलागाईंको चौथो स्मृति सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ज्ञवालीले जनताको समृद्धिसँग र विकाससँग जोडिएको राजनीति गर्नुपर्ने बताउनुभयो ।
पशुपति चौलागाईंलाई स्मरण गर्दा यो कुरालाई ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘हामीले हाम्रो राजनीतिलाई जनताको दैनन्दिन जीवनसँग जोड्ने वा जनताको जीवनस्तरलाई माथि उठाउनका लागि केन्द्रित गर्नुपर्दछ’, ज्ञवालीले भन्नुभयो ।
राजनीतिमा निरन्तरता, निष्ठा र इमानदारी हुनुपर्ने उहाँले बताउनुभयो । त्यो पक्षमा दृढतापूर्वक उभिँदै आएको एउटा ठूलो पङ्ती पार्टीमा रहेको उहाँको धारणा छ ।
अहिले राजनीतिमा धेरै खालका विकृति, विभिन्न खालका आग्रह र पूर्वाग्रह पनि देखिएका ज्ञवालीले बताउनुभयो । राजनीतमा देखिएका विकृति र विसङ्गतिलाई चिर्न सक्दा मात्र पशुपति चौलागाईँ प्रति सम्मान हुने उहाँको धारणा छ ।
नेकपा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य स्वर्गिय पशुपति चौलागाईं पार्टीको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्ने एउटा असल कम्युनिष्ट नेता भएको उहाँले स्पष्ट पार्नुभयो । अहिले जिम्मेवारी लिन तर पुरा नगर्ने प्रवृत्ति मौलाएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
मञ्चका अध्यक्ष उमेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्यहरू आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
सोही कार्यक्रममा सम्पर्क मञ्चले निकालेको २०८२ सालको भित्ते पात्रो विमोचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्