३१ असार २०७६, मंगलबार ००:००

सम्पत्तिको स्रोत खोज्न थालेपछि मिटर ब्याजी भागाभाग


बसन्त अर्याल

एक व्यक्तिले अर्कोको नाममा चेक जारी गरेपछि भुक्तानी हुनुपर्दछ । चेक जारी गर्ने तर भुक्तानी नपाउने हो भने बैकिङ पद्धतिप्रति नै सर्वसाधारणको विश्वास घट्छ। बैंकिङ भनेकै विश्वासमा आधारित व्यवसाय हो । बैंकमा जम्मा गरिएको रकम माग गरिएको बेलामा भुक्तानी नपाउने हो भने बैंकले आफ्नो साख गुमाउछन् । त्यस्तै बैंकमा खाता खोली चेकमार्फत् भुक्तानी गरिएको वा कारोवार गरिएकोमा चेक लिएर जाँदा खातामा ब्यालेन्स नभएको अवस्था वा रकम रहेपनि खातावालाले जारी गरेको चेक आफैंले वैध कारण बिना रोकेमा अविश्वास पैदा हुन्छ। यसरी एकपल्ट धोका खाएको व्यक्ति चेकमार्फत् भुक्तानी लिन वा कारोवार गर्न हच्किन्छ। प्रकारान्तरमा नगद कारोबार गर्नुपर्ने र बैकिङ प्रकृतिको कारोबारमा विकल्प खोज्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

वर्तमान युगको सुरक्षित र भरपर्दो यो प्रणालीमाथि धेरैको विश्वास उठ्दै जान थालेको छ । काठमाडौं प्रहरी परिसर टेकुमा अहिले बैकिङ कसुर सम्बन्धी उजुरीको चाङ छन् । भदौदेखि अहिलेसम्म प्रहरी परिसरमा टेकुमा मात्रै करिब ३ हजार उजुरी परेका छन् । साढे ३ करोडसम्मका चेक बाउन्स भएको उजुरी परिसरमा परेका छन् ।

प्रहरीका अनुसार चेक बाउन्समा जाहेरी दिने अधिकांश मिटर ब्याजी रहेका छन् । व्यवसाय गर्ने भनेर ठूलो रकम ब्याजमा लिने धेरै छन् । ब्याज दिनेवालाले धितोको रूपमा चेक राख्छन् । जब पैसा पाउँदैनन् अनि चेकबाउन्सका मुद्दा हाल्छन् । चेकबाउन्सको मुद्दा झेलिरहेका एकजनाले सुनाए, ‘ब्याजमा जति पनि पैसा दिने साथी थियो । मैले चेक काटेर दिएपछि जति पनि ऋण दिने । पहिला त ब्याज तिरे तर पछि तिर्न सकेन । उसले चेक बाउन्स गरायो म फसें।’

टेकु प्रहरी परिसरका डिएसपी विष्णु प्रसाद सोतीले चेक बाउन्समा जाहेरी गर्न आउनेसँग सम्पत्तिको स्रोत खोज्न थालेको बताएका छन् । जसले गर्दा मिटर ब्याजीहरू चेक बाउन्सका मुद्दा हाल्न आउने घटेको बताउँछन् । मिटर ब्याजमा लगाउने र रातरात धनि हुन्छु भन्ने अहिले केही हच्किएको उनको भनाई छ । मिटर ब्याजीलाई अरू कारबाही गर्ने आधार पर्याप्त नहुँदा सम्पत्तिको स्रोत खोज्न थालेको प्रहरीले जनाएको छ।

पहिला लेनदेन गर्दा विश्वासको लागि जग्गा धितोको रूपमा वा जमानीको रूपमा राख्ने चलन थियो । तर, अहिले एक अर्काको विश्वास जित्नको लागि चेक जमानी राख्ने चलन आएको छ । मानिसले चेक काट्दा ३ महिना ५ महिना पछिको चेक अहिले नै काट्ने गरेका छन् । राष्ट्र बैंकको क्यासलेल लेनदेनमा प्रोत्साहित गरिरहेको बेलामा चेक बाउन्सको मुद्दा टाउको दुखाइएको विषय बनेको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले चेक बाउन्स नगर्न बारम्बार सचेत गराएको  बताउनुभयाे । यसको लागि राष्ट्रबैंकले विभिन्न समयमा निर्देशन जारी गरेको छ ।  उहाँले भन्नुभयाे , ‘अहिले अपराध बढ्नुको अर्थ कानुन उल्लङ्घन गर्ने मान्छे बढे भन्ने हो । कानुन उल्लङ्घन गर्ने मान्छेलाई कारबाही गर्नुपर्छ । यसको लागि कारबाही गर्ने निकायले बढी ध्यान दिनुपर्छ ।
राष्ट्र बैंकले बैकिङ कसुर गर्नेलाई तीन महिना जेल र जरिवानाको व्यवस्था गरेको भन्दै प्रवक्ता निरौलाले अब जनता सचेत हुनुपर्ने बताउनुभयाे । ‘कानुनी संरचना छ, लागु गर्ने निकायको जिम्मेवारी बढी छ । अहिले नेपाल प्रहरीले गरिरहेको छ,’ उनले भने, ‘हामीलाई डर के हो भने वित्तीय उपकरण प्रति उपभोक्ताको विश्वास घट्छ कि। हामी अर्थतन्त्रलाई क्यासलेस बनाउन खोज्दैछौं । यस्तो वातावरण बनाउने भनेको चेक जस्तै वित्तिय उपकरण प्रयोग गरेर हो ।’

चेक बाउन्सका मुद्दा घटाउन व्यक्ति आफू स्वयम् सचेत हुनुपर्ने  बताउनुभयाे । ‘आफूसँग पैसा छैन भने चेक काट्नु भएन । मान्छेलाई ठग्ने काम गर्नु भएन । आफूलाई मुद्दा नलागोस् भन्नको लागि त मान्छे आफैं सचेत हुनुप¥यो । आफू अनुसाशित हुनु नै मुद्दा घटाउने सबैभन्दा उत्तम विकल्प हो ।’

डिएसपी सोतीका अनुसार हरेक लेनदेनको कुरा चेक बाउन्समै आएर जोडिएको छ । उहाँले प्रहरीले कारबाही गर्छ भन्ने विश्वासले अहिले जाहेरी धेरै पर्ने गरेको  बताउनुभयाे । तर जस्तोसुकै लेनदेन पनि चेक बाउन्सको मुद्दाको रूपमा आउँदा प्रहरीलाई छानविन गर्न अप्ठ्यारो परेको उहाँको भनाइ छ  । ‘चेक बाउन्सका मुद्दा बढ्नु पुलिसलाई मात्र गाह्रो होइन, समाजमा विश्वासको खडेरी परेको संकेत पनि हो’, उहाँले  भन्नुभयाे ‘मुद्दा बढ्नु भनेको समाजमा खतराको सूचक हो, यसले विकृति ल्याएको छ।’ उहाँले लेनदेनका प्राय विषयमा आफन्त वा चिनजानको बीचमा हुने र कसैलाई रिस उठ्यो भने हुर्मत लिनको लागि चेक बाउन्सको जाहेरी दिने बढेको  बताउनुभयाे ।

चेक दिने मान्छेसँग पैसा छैन भन्ने थाहा हुँदाहुँदै पनि चेक ल्याउने धेरै छन् । यदि विश्वास छैन भने चेक माग्ने चलन बढ्दै गएको छ । दुस्मनीको बदला लिन वा फसाउन पनि चेक बाउन्सका मुद्दा आउने गरेका छन् । अधिवक्ता पुष्पराम पौडयालले चेक बाउन्सको मुद्दा बढ्नुका तीनवटा कारण रहेको जानकारी दिनुभयाे । ‘एउटा लेनदेनको पनि हुनसक्छ, अर्को चेक अनादर भनेर हुन सक्छ र बैंकिङ कसुर भनेर हुनसक्छ । यी तिनटै कारणले अहिले मुद्दा बढेको देखिन्छ,’  उहाँले भन्नुभयाे, ‘मान्छेले सजिलै चेक दिने, केही विश्वासको आधरमा हुन्छन् भने केहि जवरजस्ति पनि हुने गरेका छन्।’

बाँकी कारोबार वा लेनदेनको लागि सहज तरिकाले पैसा उठाउनको लागि चेक माग्ने गरेका छन् । यदि समयमै पैसा दिएनन् भने प्रहरीमा जाहेरी हालेपछि बैंकिङ कसुरको मुद्दा हुने भएकाले यसको आधारमा छिटो पैसा असुल हुने हुँदा चेक बाउन्सका मुद्दा बढेको पौड्यालले  बताउनुभयाे ।  उहाँका अनुसार अहिलेको देवानी ऐनले अन्य तरिकाबाट पनि पैसा उठाउन सक्ने उल्लेख गरेको छ । तर मानिसले तल्काल पैसा उठोस् भन्नको लागि प्रहरीमा जाहेरी दिन गरेका छन् ।

आफ्नो निजी कारोबार मिलाउन खातामा पैसा नभएपनि चेक दिएर ठगी गर्नेहरू विरुद्ध पिडितहरूले बैकिङ कसुर सम्बन्धी उजुरी दिने गरेका छन् । चेक बाउन्सको चाङका कारण अहिले प्रहरीलाई अन्य अपराधिक घटनाका मुद्दा हेर्ने फुर्सद समेत नपाएको प्रहरीको गुनासो छ ।

अधिकांशले आफ्नो आर्थिक कारोवार मिलाउन खातामा पैसा नभएको चेक दिएर आश्वश्त पार्ने गरेको र धैरै पटक त्यस्तैगरी झुक्याएपछि प्रहरी समक्ष उजुरी दिन आएको धेरैको गुनासो छ । बैकिङ कसुर सम्बन्धी ऐनमा पैसा नभएको चेक दिएर ठगी गरेमा विगो बराबरको वा त्यसको दोब्बर जरिवाना तथा धरौटी दिनुपर्ने र धरौटी बुझाउन नसके कैद सजाय हुने व्यवस्था छ ।

क्सरी हुन्छ चेक बाउन्स ?

खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । पटक–पटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुने कानुनी व्यवस्था छ । चेक बाउन्स भएको खातावालालाई ३ महिना जेल सजाय र जरिवाना हुने व्यवस्था पनि छ ।

लगातार तेस्रो पटकसम्म पर्याप्त मौज्दात नभएको अवस्था आए चेक बाउन्सको उजुरी गर्न सकिन्छ । बैंकलाई नै चेक बाउन्स गरिदिन अनुरोध गर्दा सम्बन्धित बै.कले नै चेक बाउन्स भएको पुर्जी उपलब्ध गराएपछि चेक पहिलो पटक बाउन्स हुन्छ । पहिलो बाउन्स भएको एक सातासम्म पनि पैसा हातमा नपरे फेरि बैंकलाई दोस्रोपटक चेक बाउन्स गरिदिन अनुरोध गर्नु पर्दछ । लगातार दोस्रो पटक चेक बाउन्स भएपछि बैंकलाई उक्त खातावाललाई कालो सूचीमा राखिदिनको लागि निवेदन दिन सकिन्छ । सोही निवेदनसँगै खातावाला व्यक्ति वा संस्था कालो सूचीमा पर्दछ । पैसा असुलका लागि सम्पूर्ण प्रमाण लिएर प्रहरीमा उजुरी दिन सकिन्छ ।

तर कहिलेकाँही बैंकले व्यापारिक फाइदा हेरेर चेक बाउन्सको उजुरी अस्विकार गर्न सक्छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिन्छ । कुनै संस्था वा कम्पनीको नामको चेक बाउन्स भयो र कालो सूचीको लागि निबेदन दिनु अघि नै संस्था कालो सूचीमा पर्ने डरले पैसा भुक्तानी चाँडो हुनसक्छ । आफ्नो पैसा असुल गर्नको लागि भने प्रहरीमा सप्रमाण उजुरी गरेपछि पक्राउ गरि पैसा असुल गर्न सकिन्छ ।

चेक बाउन्सका मुद्दा बढी आउन थालेपछि नेपाल राष्ट्र बैङ्कले समयसमयमा यस सम्बन्धमा निर्देशन जारी गर्दै आएको छ । फर्म, कम्पनी, संस्था तथा कार्यालयको नाममा जारी भएका चेकहरू अनिवार्य रूपमा एकाउन्टपेयी हुनुपर्ने व्यवस्था पनि गरेको छ ।

यसरी बढे मुद्दा

पहिला चेक बाउन्स सम्बन्धी कसुुर देवानी मुद्दा थियो । त्यो बेला केही पहुँचवाला व्यक्तिले मात्र प्रहरीलाई प्रभावमा पारेर चेक बाउन्समा मुद्दा चलाउँथे । प्रहरीले कुनै मुद्दा हेर्ने, कुनै नहेर्ने गरेपछि विवाद सर्वोच्चमा पुग्यो र चेक बाउन्स व्यक्तिवादी मुद्दा हुने ठहर ग¥यो । त्यसपछि प्रहरीले चेक बाउन्स हेर्न छाडेको थियो । दुई वर्षअघि संसद्ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ संशोधनमा कसैले जानीजानी आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कसैलाई चेक दिएमा त्यो बैंकिङ कसुर हुने उल्लेख गरियो । चेक बाउन्सका घटनाले बैंकहरूको विश्वाशनियता घट्ने भन्दै बैंकरहरूकै दबाबमा ऐन संशोधन भएपछि मुद्दा बढ्न थालेका हुन् ।

चर्चित पात्र चेक बाउन्समा प्रकाउ

चर्चित मोडल तथा समाजसेवी खुश्बु ओली चेक बाउन्स मुद्दामा दोषी ठहर भएकी छन् । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावाँ र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको छ । ओलीले काटेको ३६ लाख रूपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।

त्यस्तै अर्को चर्चित अनुहार ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल बैंकिङ कसुरको आरोपमा पक्राउ परे । नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो चेक बाउन्स भएपछि पीडितले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ ग¥यो । यसैबीच नेपालले न्यौपानेले हिसाव गोलमाल गरेर आफूलाई फसाउन खोजेको दाबी गरे । ‘मैले नरेश कुमार न्यौपाने नामक घरधनीलाई घरभाडा बापत रू ६ लाखको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा छ लाख नगद रकम बुझी आज चेक ल्याउन बिर्सिएँ , भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’