जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १२:३४

राम्रो काम गर्दा पनि यसकारण खाइरहेछ ओली सरकारले निरन्तर गाली


विरोधी त विरोधी भइहाले, सहानुभूति राख्नेले पनि सरकारलाई मज्जैले खेदे । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरूपमा स्पष्टीकरण दिनुपर्यो । जनतासामु स्पष्टीकरण दिनु सरकारको कमजोरी होइन, जनताको सम्मान हो । यो काम गरेर नेकपाको सरकारले राम्रो गरेको छ । यसबाट जनताको सरकार बनाएको छ

प्रदीप नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले गरेका पछिल्ला कामहरूमध्ये राम्रा कामका लागि पनि गाली खानुपर्यो । गालीपछि प्रतिरक्षा गरेर के हुन्छ र ? यसपालि विरोधीहरूबाट मात्र होइन, सहृदयी मित्र र स्वयं पार्टीका साथीहरूबाट पनि सरकारले गाली खानुपरेको छ । विरोधी त विरोधी भइहाले, सहानुभूति राख्नेले पनि सरकारलाई मज्जैले खेदे । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरूपमा स्पष्टीकरण दिनुपर्यो । जनतासामु स्पष्टीकरण दिनु सरकारको कमजोरी होइन, जनताको सम्मान हो । यो काम गरेर नेकपाको सरकारले राम्रो गरेको छ । यसबाट जनताको सरकार बनाएको छ ।

तर बेलैमा गुठीका बारेमा काठमाडौंका सरोकारवाला प्रबुद्ध नागरिकसँग परामर्श गरेको भए सत्यमोहन जोशीले ‘मेलम्ची ल्याउन हतार गर्नुपर्ने बेलामा केको बखेडा झिकेको होला’ भनेर टिप्पणी गर्नुपर्ने थिएन । तर केही बिग्रिएको छैन । नेकपा सरकारले भारतीय विषादीयुक्त तरकारी र फलफूल खुवायो भन्ने ओठे विरोधीलाई खुच्चिङ भएको छ यतिबेला । तिनीहरूकोे भनाइमा, यो सरकार आउनुभन्दा पहिलेका सरकारले विषादीरहित तरकारी र सागसब्जी नै खुवाउँथे । यस्तो विषादी केपी ओलीकै पालामा मात्र पठाइएको भन्ने आशय थियो । त्यो गलत थियो । किनभने नेपालका नाकामा विषादी जाँच्ने प्रविधि नै थिएन । अहिलेको सरकारले स्पष्टीकरण दिँदा अब ठूला आयात निर्यातका नाकामा त्यो प्रविधि स्थापना गरिनेछ भनेपछि कुरै सकियो । यत्ति कुरो अर्थात् विषादीयुक्त कण्टेनर रोक्नु अघि यो प्रविधि जडान गरिदिएको भए वितण्डावादी मुखहरूबाट जथाभावी गाली निस्कने थिएन ।

सरकारका राम्रा कामहरूको सामान्य जानकारीसमेत जनतामा पुर्याउन यतिबेला सरकारलाई हम्मेहम्मे परेको छ । किन ? किनभने कर्मचारीतन्त्रले सरकारलाई साथ दिइरहेको छैन । कारण, कर्मचारीतन्त्रको मानसिकता संघीयताको अनुकूल छैन । सानो हुन उनीहरूको मनले मानेको छैन । यो सरकार कस्तो संकटको भुमरीमा छ भन्ने कुरो सरकारमा बसेकाहरूलाई थाहा होला भन्ने मलाई अहिले पनि लागिरहेको छैन । नेपालमा कम्युनिस्ट पार्टीको, त्यो पनि दुईतिहाइको सरकार ! कुनै जमानाको अमेरिकाको क्युबा जस्तै भएको छ भारतका लागि आजको हाम्रो नेपाल । लाजै नमानी भारतले हाम्रातिरबाट जडीबुटी, अदुवा या जस्तोसुकै सागसब्जी पनि अड्काउन पाउने, उसलाई विश्व व्यापार संगठनको नियम कानुन पनि नलाग्ने, अनि उनीहरूको खेतीबाट विषादी जाँच गर्न पनि नेपालले नपाउने सबैभन्दा पछिल्लो परिघटना एउटा उदाहरण हो । यस्तो पनि गर्न मिल्छ एउटा छिमेकीले ? संसारमा यो जस्तो बेथिति कतै होला भन्ने लाग्दैन मलाई ।

आफ्ना लागि अन्तराष्ट्रिय मूल्य मान्यता केही नलाग्ने तर हामीले नमाने पनि तिमी साना राष्ट्रले चाहिँ हाम्रा नियम–कानुन पनि मान्नुपर्छ भन्ने सोचलाई यो दुनियाँमा कसैले पनि राम्रो मान्न सक्दैन । भारत अहिले त्यही सोचले हामीलाई शोषण गर्ने काम गरिरहेको छ । हामी भारतसँग युद्ध गर्न सक्दैनौँ । हामी शान्तिप्रिय नेपालीलाई अहिले युद्ध चाहिएको पनि छैन । तर भारतले खुलारूपमा हामी अन्तराष्ट्रिय सन्धि सम्झौता मान्दैनौं भन्यो भने हामी भारतसितको खिचखिच पनि बन्द गरिदिनेछौं । तर भारत यो काम पनि गर्न सक्दैन । आफ्ना सबैभन्दा गरिब दुई प्रान्तका मान्छेलाई नेपालतिर पठाउने बाध्यता छ भारतसित । भारतका उत्तर प्रदेश र बिहार हाम्रा प्रदेशभन्दा धनी भएका भए त्यहाँका बासिन्दाहरू नेपाल पसेर नक्कली नेपाली नागरिक हुने थिएनन । मान्छेले धनी ठाउँ खोज्छ । धनीहरू गरिब प्रदेशतिर बसाइँ सर्दैनन् । नेपाल–भारतबीचको सम्बन्धमा यही भइरहेको छ ।

यता ठग्न मात्र होइन, अवसर पनि पाइन्छ भनेर बिहारबाट पञ्चायतकालमा नेपाल पसेका, अहिले पनि उताको राशनकार्ड बोकेर नेपालको मन्त्री हुन पाइन्छ, अघाउञ्जेल खान पाइन्छ भनेर यता पस्नेहरूको लर्को देखेर भोकमरीको पीडामा रन्थनिएकाहरू पनि आउने भइहाले । दिल्लीका कुनै पनि ठूला नेतालाई नेपाल र नेपालीप्रति विश्वास छैन । धेरैले सार्वजनिकरूपमै भनेका छन– नेपालीहरू यता एउटा कुरा गर्छन, नेपाल फर्किएर अर्कै कुरा गर्छन् । किन मरिहत्ते गरेर धाउँछन नेपालका नेता र मन्त्रीहरू दिल्ली ? यत्तिको गाली खाँदा पनि किन तिनलाई दिल्ली प्यारो लागेको होला ! बुझ्न गाह्रो छ ।

नेपालका नेता, मन्त्री र ठूला कर्मचारीहरू ! कम्तीमा पनि तपाईं आफ्नो आत्मसम्मान जोगाउनुस । जनताको गाली खानुस, विदेशीको होइन । म नेपाली हुँ, मलाई कुनै पनि ठूला राष्ट्रका राजदूत, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिले गाली गर्ने अधिकार पाएका छैनन भन्ने गरिमालाई कायम मात्र राख्न मात्र सक्नुभयो भने नेपाल त्यसै माथि उठ्छ । यति काम गर्न नसकिने पनि होइन । दिल्लीले अन्तिम पटक मसहितको टोलीलाई भारत भ्रमणको निम्तो दिएको थियो । त्यतिबेला हामीले ऊबेला पनि भारतीय जनता पार्टीका बलिया नेता मानिएका र पछिल्लो मन्त्रीमण्डलका शक्तिशाली नेता एकजना मन्त्रीलाई भेट्ने मौका पाएका थियौँ ।

प्रतिनिधिमण्डलमा रघुजी पन्त पनि हुनुहुन्थ्यो । उहाँले सोध्नुभयो, ‘भारतका किताब र पत्रपत्रिकाहरू बेरोकटोक नेपालमा जान पाउँछन् । तर नेपालको कुनै पनि पुस्तक पत्रिकालाई भारतीय सीमामा प्रतिबन्ध लगाइन्छ, यस्तो किन भयो ? मन्त्रीले आश्चर्य मान्दै भने, ‘तपाईंहरूलाई भ्रम भयो होला । भारत एउटा लोकतान्त्रिक मुलुक हो । त्यस्तो प्रतिबन्धको हामी कल्पना पनि गर्न सक्दैनौँ ।’ संयोग अनौठो भयो । त्यहीँ छपरातिरका एक जना सांसद पनि बसिरहेका रहेछन । हामीभन्दा पहिले तिनैले भने, ‘समस्या त छ मन्त्रीज्यू, म धेरैपटक रक्सौल गएको छु । त्यहाँ नेपालका पुस्तक पत्रिका यता ल्याउन बन्देज छ भन्ने मैले पनि सुनेको थिएँ । ’

‘योे कुरो मलाई थाहा थिएन । अहिले हाम्रो सरकार आएको छ । कृपया अर्को वर्ष आउनु होला । रक्सौल र गोरखपुर के भयो ? दिल्लीका पुस्तक पसलमा पनि तपाईंले नेपाली पुस्तक र पत्रपत्रिका किनेर पढ्न पाउनुहुनेछ ।’मन्त्रीले हामीलाई वचन दिनुभएको शायद दश वर्ष बित्यो होला । नरेन्द्र मोदीको अघिल्लो मन्त्रिपरिषदमा पनि उहाँ शक्तिशाली मन्त्री हुनुहुन्थ्यो । यसपालि शायद उहाँले अवकाश लिनुभयो होला । उहाँलाई पनि प्वाक्क बोल्ने र फुर्सदमा पछुताउने हाम्रा नेताहरूको बिमारी सरेको छ । हतारमा बोल्ने फुर्सदमा पछुताउने यी दुवै देशका नेताहरूको बिमारी पनि हुन सक्छ । साझा बिमारी !

संघीय संसदमा दुई तिहाइ र तीन चौथाइको कुनै अर्थ हुँदैन । संघीयतामा सत्ताको अर्थ हुन्छ स्थानीय सरकार । त्यसैले जुन पार्टीको स्थानीय सरकार बलियो हुन्छ, संघीय सरकारमा त्यसको एक तिहाइ भए पनि केही अर्थ हुँदैन । यो दुई तिहाइको आतंक जड मानसिकताको उपज हो । तलकाले जति राम्रो गरे पनि उनीहरू तलका हुन, हामी माथिका मालिक हौँ भन्ने सामन्ती मानसिकताले अहिले पनि संघीय सांसदहरू ग्रस्त छन् । उनीहरू यो मनोग्रन्थीबाट मुक्त हुन नसकुञ्जेल नेपाल सही हिसाबको संघीयतामा जान सक्दैन । आफ्नो देशमा मोटर कारखाना छैन । भर्खर पेट्रोलियम पदार्थको अन्वेषण आरम्भ भएको छ, त्यस्तो देशमा करोडौँका विलासी गाडी भित्र्याउनु भनेको सरासर भ्रष्टाचार हो ।

नेपालका ठूला मान्छेहरू भारतको नक्कल त गर्छन् तर तिनीहरू पाकिस्तानका मन्त्रीहरूबाट किन सिक्दैनन् ? सिक्ने भनेको विलासबाट मात्र होइन, इमानबाट पनि हो । नेपालमै माधव नेपालबाट किन सिक्दैनन् अरूहरू ? माधव नेपाललाई सरकारी सुविधाको गाडी चाहिएन भने अरू भूतपूर्वहरूलाई सरकारी सुविधाको गाडी किन चाहियो ? एउटा पुरानो सम्झना– पञ्चायतकालमा एकल राष्ट्रिय पञ्चायतलाई प्रजातन्त्रको दोसल्ला ओढाउन उनीहरू अमेरिकामा पनि निर्दलीय संसद छ भनेर नेब्रास्काको गीत गाउँथे । मानौँ उनीहरूले पनि अमेरिकाकै प्रजातान्त्रिक प्रणालीलाई पछ्याएका हुन् ।

सन् २००० मा म पनि नेब्रास्का पुगेँ । चासो त्यही एकल संसद्को थियो । मेरो प्रश्नको उत्तर दिँदै त्यहाँका सांसदले भने– त्यो कुरा एक अमेरिकाको आर्थिक मन्दीसँग जोडिएको छ । त्यतिबेला हाम्रो राज्यमा चरम गरिबी बढ्यो । त्यसैले हाम्रा पूर्वजहरूले भने, हामी अरू राज्यजस्तो धनी छैनौँ । पैसा हुनेले दुवै सदन राखुन् । आर्थिक रूपमा टाट पल्टिनुभन्दा जनतालाई राहत दिनु राम्रो, कम्तीमा राज्यकोषबाट पैसा खाने एकतिहाइ सांसदलाई हटाउँदा हामीप्रति जनताको विश्वास बढ्छ । कस्तो लाग्यो तपाईंहरूलाई ? मेरो विचारमा प्रतिनिधिसभामा समानुपातिक र राष्ट्रिय सभाको कुनै काम छैन ।