जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १६:३०

इञ्चार्ज–सहइञ्चार्ज छान्दा गएन नेकपा नेताको ध्यान : बिद्यार्थी नेतामाथि भयो कत्लेआम


काठमाडौं, साउन ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोक्दा बिद्यार्थी पृष्ठभुमीका नेतामाथि डण्डा बर्साएको छ । अर्थात जिल्ला इञ्चार्ज तोक्दा अनेरास्वबियू र अनेरास्वबियू क्रान्तिकारी पृष्ठभूमीका चर्चित नेताहरु जिम्मेवारीबिहीन वा अपमानित हुनुपरेको छ ।

तात्कालिन एमाले र माओवादी दुवैतर्फ बिद्यार्थी राजनीतिबाट उदाएर चम्किला तारा बनेका नेकपाका केन्द्रीय सदस्यहरुलाई भुगोलमा छिर्नै नदिने नीतिअनुसार यस्तो भएको आरोप बिद्यार्थीबाट आउन थालेको छ । नेकपाले आइतवार तय गरेको जिल्ला इञ्चार्जमा अनेरास्वबियूका पूर्वअध्यक्षहरु राजेन्द्र राईले मात्रै इञ्चार्जको जिम्मेवारी पाउनु भएको छ । राईलाई आफ्नो गृहजिल्ला भन्दा फरक संखुवासभा पठाइएको छ । अर्का अध्यक्ष अरुण नेपालले सिन्धुपाल्चोकको सहइञ्चार्जको जिम्मेवारी पाएपनि अस्वीकार गर्नुभएको छ ।

अनेरास्वबियूको अध्यक्षहरु हिक्मत कार्की, ठाकुर गैरे, रामकुमारी झाँक्री, माधव ढुंगेल, नविना लामाले कुनै जिम्मेवारी पाउनु भएको छैन । काठमाडौंमा ९ जनासम्म सहइञ्चार्ज राख्दासमेत काठमाडौंमै कार्यरत झाँक्रीलाई जिम्मेवारी नदिइएको हो । झाँक्रीले काठमाडौंमा काम गर्न चाहेको जानकारी सवै शीर्ष नेतालाई दिनुभएको थियो । अनेरास्वबियूमा अध्यक्ष नभए पनि आफ्नो जिल्लामा प्रभावकारी भुमिका खेल्दै आएका बिनोद ढकालले पनि जिम्मेवारी पाउनुभएको छैन । मोरङ जिल्ला अध्यक्षको जिम्मेवारी पाए पनि ढकालले सो जिम्मेवारी आफ्ना उत्तराधिकारीलाइ हस्तान्तरण गरिसक्नुभएको छ ।

मोरङको जिल्ला अध्यक्ष रहेर काम गरिसक्नुभएका ढकाललाई सोही जिल्लाको इञ्चार्ज हुनबाट रोकिएको हो ।तात्कालिन एमाले बिभाजनपछि अनेरास्वबियूको अखिलको महासचिव बनाइएका नेता जगन्नाथ खतिवडा पनि पार्टी एकतापछि भुगोलको जिम्मा नपाउनेको सुचीमा पर्नुभएको छ । मोरङमा बिनोद ढकाललाई बार लगाइएको सिकार खतिवडा पनि बन्नुपरेको छ । यी बिद्यार्थी नेताहरु जुनसुकै जिम्मेवारी पनि कुसलतापुर्वक पूरा गर्ने क्षमता राख्नेको सूचीमा पर्छन । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालको किचन क्याविनेटसम्म हैसियत राख्छन । तर चारै नेतालाई भुगोलको जिम्मेवारीबाट रोकिएको छ ।

अखिलबाट नेता भएका बिशाल भट्टराई र यज्ञराज सुनुवारले भने इञ्चार्जको जिम्मेवारी पाउनु भएको छ । अर्का अध्यक्ष खीमलाल भट्टराईलाई सहइञ्चार्जमा थन्क्याइएको छ । अखिलकी चर्चित अध्यक्ष नविना लामा त अहिलेसम्म पार्टीको कुनै कमिटीमा नै पर्नुभएको छैन । संघीय संसदको सांसदको भुमिकामा रहनुभएकी लामाले पार्टी कमिटीमा काम गर्ने इच्छा थुप्रै पटक राखे पनि अहिलेसम्म कुनै कमिटीमा नपर्नुभएको हो ।

पार्टी एकतापछि जिम्मेवारी नपाउनेमा अखिलका अर्का अध्यक्ष किशोर मल्ल पनि हुनुहुन्छ । मल्ललाई अहिलेसम्म पार्टीको कुनै जिम्मेवारी दिइएको छैन । यस्तै अखिलबाट उदाएका नेता घणश्याम भुसाल र योगेश भट्टराई पनि अहिलेसम्म जिम्मेवारीबिहीन हुनुहुन्छ । पूर्वमाओवादीतर्फका बिद्यार्थी नेताको हालत पनि उही छ । अखिल क्रान्तिकारीका अध्यक्ष बनेका लेखनाथ न्यौपाने र हिमाल शर्मालाई पनि उचित जिम्मेवारी दिइएको छैन ।

‘सचिवालयले किन यति धेरै प्रहार बिद्यार्थी नेतामाथि नै गर्यो कुनै जानकारी भएन, तर जे गर्यो, ठीक गरेन, हाम्रा बिद्यार्थी राजनीतिबाट उदाएका नेताहरुलाई भुगोलमा जिम्मा नदिएर आम बिद्यार्थीलाई राजनीतिप्रति बितृष्ण पैदा गर्ने काम भयो,’ जनताटाइम्ससँग अखिलका एक पूर्वअध्यक्षले भने । उनका अनुसार सचिवालयको निर्णयले सवैभन्दा बढी मर्माहत बिद्यार्थी नेताहरु भएका छन ।