-प्रदीप कटवाल –
संसार परिवर्तनशील छ । मानव सभ्यताको विकास क्रम निरन्तर नयाँ सोच, संघर्ष र प्रयोगको गतिमा अघि बढिरहेको छ।
समाज विकासको यो लहरमा सबैभन्दा गहिरो र प्रभावशाली धारमध्ये एक हो–कम्युनिस्ट आन्दोलन। यसको बौद्धिक जग बसाल्ने मुख्य व्यक्ति कार्ल मार्क्स हुनुहुन्थ्यो । उहाँको सिद्धान्तले पुँजीवादी समाजमा रहेको वर्गीय शोषणको वैज्ञानिक विश्लेषण गर्दै एक नयाँ व्यवस्थाको परिकल्पना ग¥यो । जहाँ उत्पादनका साधनहरूमाथि सर्वसाधारणको स्वामित्व हुनेछ र समाज न्यायपूर्ण हुनेछ।
मार्क्सदेखि लेनिनसम्म : विचारदेखि क्रान्तिसम्म
कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा प्रकाशित ‘कम्युनिष्ट म्यानिफेस्टो’मार्फत श्रमिक वर्गको ऐक्यबद्धता र क्रान्तिको आव्हान गर्नुभयो । यो दस्ताबेजले पुँजीवादको अन्त्य र समाजवादको स्थापना नै मानव समाजको ऐतिहासिक आवश्यकता हो भन्ने तर्क प्रस्तुत गर्यो। मार्क्सले भनिन्थ्यो, ‘सबै देशका श्रमिकहरू एक हौँ ।’जसले विश्वव्यापी श्रमिक चेतनाको आधार बनायो।
यद्यपि मार्क्सको जीवनकालमै ठूला क्रान्ति सफल भएनन्। १८७१ को पेरिस कम्युनको प्रयास ७३ दिनमै रोकियो। तर मार्क्सको विचार मरेन। उहाँको मृत्युपछि एङ्गेल्सले यस दर्शनलाई अगाडि बढाउँदै श्रमिक आन्दोलनलाई अझ संगठित बनाउनुभयो ।
त्यसपछिको मोड सन् १९१७ को बोल्सेभिक क्रान्ति हो। रुसी क्रान्तिमा लेनिनको नेतृत्व निर्णायक रह्यो। मार्क्सवादको व्यावहारिक प्रयोगका रूपमा सोभियत सङ्घ स्थापना भयो, जहाँ श्रमिक वर्गको नाममा सत्ता निर्माण गरियो। लेनिनको मृत्युपछि जोसेफ स्टालिनले सत्ता सम्हालेर कठोर नीति लागू गर्नुभयो। तीव्र औद्योगिकीकरण, सामूहिक खेती र सैन्य सुदृढीकरणमार्फत सोभियत सङ्घले विश्वको दोस्रो शक्तिशाली राष्ट्रको रूपमा आफ्नो हैसियत बनायो।
तर कठोरताका कारण लाखौँ मानिसलाई श्रम शिविरमा राखियो, असहमतिलाई हिंसात्मक दमन गरियो, जसले ‘शोषणविहीन समाज’को आदर्शमाथि प्रश्न उठ्न थाल्यो।
दोस्रो विश्वयुद्धपछि कम्युनिस्ट लहर
दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था दुई ध्रुवमा विभाजित भयो । एकतर्फ अमेरिका नेतृत्वको पुँजीवादी गुट, अर्कोतर्फ सोभियत सङ्घ नेतृत्वको समाजवादी समूह । पूर्वी युरोपमा कम्युनिस्ट सरकारहरू बने। चीन, उत्तर कोरिया, भियतनाम, क्युबा, लाओस जस्ता मुलुकमा समाजवादी आन्दोलन सशस्त्र संघर्षमार्फत सफल भए।
चीनमा माओको नेतृत्वमा सन् १९४९ मा जनवादी गणतन्त्रको स्थापना भयो। माओले ‘नयाँ लोकतन्त्र’, ‘महान् सांस्कृतिक क्रान्ति’ र ‘महान् अगाडि बढाउने अभियान’ जस्ता कार्यक्रममार्फत समाज परिवर्तनको प्रयास गर्नुभयो । यद्यपि यिनै कार्यक्रमहरू अत्यधिक कट्टरतावादी बनेर लाखौँको मृत्युको कारक बने।
तर चीनले सन् १९७८ पछि देङ स्याओपिङको नेतृत्वमा ‘बजारमुखी समाजवाद’ अङ्गाल्यो, जसले समाजवादी विचारधारालाई भौतिक समृद्धिसँग जोड्यो। देङको भनाइ थियो–‘बिरालो सेतो कि कालो हो भन्ने महत्त्वपूर्ण छैन, मुसा मार्न सक्नुपर्छ।’ आज चीनको आर्थिक चमत्कार यही व्यवहारिक समाजवादको उपज हो।
समाजवादको विघटन र पुनरावलोकन
सन् १९९१ मा सोभियत सङ्घ विघटन भयो। बोरिस येल्सिनको नेतृत्वमा रुस पुँजीवादी व्यवस्थातर्फ गयो।
यो विघटन केवल सोभियत भूगोलको मात्र नभई, विचार र आत्मबलको सङ्कट पनि थियो। केहीले यसलाई समाजवादको अन्त्य भने, तर चिनियाँ शैलीको समाजवादले संसारलाई देखायो कि सैद्धान्तिक कठोरताको सट्टा व्यावहारिक लचकता समाजवादको दीर्घकालीन अस्तित्वको आधार हो।
आज पनि क्युबा, भियतनाम, उत्तर कोरिया र चीन समाजवादी शासन प्रणालीमा छन्। यद्यपि ती मुलुकहरूमा पनि विचारको बहस, आलोचनाको स्थान र मानव अधिकारप्रति संवेदनशीलता छँदै छ ।
नेपाली कम्युनिस्ट आन्दोलन : संघर्ष र सत्ता
नेपालमा कम्युनिस्ट आन्दोलनको सुरुवात सन् १९४९ मा पुष्पलाल श्रेष्ठले गर्नुभयो । तत्कालीन राणा शासन, वर्गीय विभेद र सामन्ती उत्पीडनको विरोधमा सुरु भएको आन्दोलन दशकौँसम्म भूमिगत सङ्घर्षमा केन्द्रित रह्यो। विसं २०४६ सालको जनआन्दोलनपछि संसदीय राजनीतिमा प्रवेश गर्याे।
२०५२ मा सुरु भएको माओवादी सशस्त्र द्वन्द्वले नेपाली समाजलाई गहिरो रूपले प्रभावित गर्यो। वर्गीय मुक्ति, समावेशिता, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता जस्ता मुद्दा बोकेर माओवादी जनस्तरसम्म पुगे। यद्यपि त्यो सङ्घर्षले धेरै मानवीय क्षति पुर्यायो।
२०६३ पछि शान्ति प्रक्रिया सुरु भयो। माओवादी मुख्य धारको राजनीतिमा आए। नेकपा (एमाले) र माओवादी केन्द्र बिचको एकता मार्फत सन् २०१८ मा कम्युनिष्टको करिब दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भयो। त्यो ऐतिहासिक अवसर थियो—विचारको शासन लागू गर्ने।
तर शक्ति संघर्ष, व्यक्तिवाद, वैचारिक अस्पष्टता र भ्रष्टाचारले त्यो एकता टिक्न सकेन। परिणामस्वरूप पार्टी विभाजन भयो।
समकालीन सन्दर्भ : ओली नेतृत्व र कम्युनिस्ट अभ्यास
वर्तमानमा नेकपा एमाले देशको सबैभन्दा ठुलो कम्युनिस्ट शक्ति हो। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रियता, विकास र आत्मनिर्भरताको मुद्दा जोडिएको छ। ओलीले भौगोलिक सुरक्षादेखि कोभिड महामारी नियन्त्रण, पूर्वाधार विस्तार र जनमुखी योजनाहरूमा सक्रियता देखाउनुभएको छ।
तर पार्टीभित्रै नीति र नेतृत्वको बहस, क्याडर स्तरमा विचारको कमजोर अभ्यास र सांगठनिक अनुशासनको खडेरीले नेपाली कम्युनिस्ट आन्दोलन चुनौतीको घेरामा रहेको छ। नारा र कार्यान्वयनबीचको अन्तर कम्युनिष्टहरूको साखलाई कमजोर बनाइरहेको छ।
चुनौती र सम्भावना
कम्युनिष्ट आन्दोलनलाई आजका युगमा जीवन्त राख्न तीन कुरामा विशेष ध्यान आवश्यक छ। सैद्धान्तिक स्पष्टता, व्यवहारिक लचिलोपन र नेतृत्वको इमानदारिता, यी कुरामा ध्यान दिनै पर्छ ।
नेपालमा जनताको स्थायी भरोसा जित्न समावेशिता, पारदर्शिता, सुशासन र आत्मालोचनाको संस्कार विकास गर्नुपर्छ। केवल चुनाव जित्ने राजनीतिक योजना होइन, समाज रूपान्तरणको दिगो परियोजनाको आवश्यकता छ।
निष्कर्ष
कम्युनिष्ट आन्दोलन केवल शासन प्रणाली होइन । यो विचार, जीवनदर्शन र मानव मुक्ति यात्राको मार्ग हो।
इतिहासले देखाएको छ–जहाँ नेतृत्व दिग्दर्शन, संगठित र आत्मालोचनाशील भयो, आन्दोलनले सफलता पायो। जहाँ व्यक्ति प्रवृत्ति, भ्रष्टाचार र कठोर सैद्धान्तिक अहङ्कार हाबी भयो, आन्दोलनको पतन भयो।
आजको युगमा मार्क्स, लेनिन, माओ, देङ स्याओपिङ, सिजिनपिङ, पुष्पलालदेखि प्रचण्ड र ओलीसम्मको योगदानको आलोचनात्मक मूल्याङ्कन आवश्यक छ। इतिहासबाट सिक्दै वर्तमान सुधार्दै लैजान सकियो भने कम्युनिस्ट आन्दोलन अझै पनि एक वैकल्पिक राजनीतिक दर्शनको रूपमा प्रभावशाली बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस्